खासगरी बर्खामा देखिने डेंगु जनवरीयता ६ महिनामा ६९ जिल्लामा फैलिएको छ । यस अवधिमा चार हजार दुई सय ८९ जनामा डेंगु संक्रमण भएको छ । जसमा सातको मृत्यु भएको छ, उनीहरू सबै धरानका हुन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार यसपालि बर्खायामको सुरुवातीमै डेंगु संक्रमण बढेको हो । गत वर्ष काठमाडौं उपत्यकामा प्रकोपको रूप लिएको संक्रमण हाल सबैभन्दा धेरै कोसी प्रदेशमा फैलिएको छ । जनवरीयता कोसी प्रदेशमा दुई हजार सात सय ५४, बागमतीमा ६ सय ६७, गण्डकीमा तीन सय ४४, सुदूरपश्चिममा तीन सय १६, लुम्बिनीमा एक सय ६६, मधेसमा २२ र कर्णाली प्रदेशमा २० जनामा संक्रमण देखिएको महाशाखाको तथ्यांक छ ।
सुनसरीमा सबैभन्दा धेरै संक्रमण देखिएको छ । दुई हजार पाँच सय ४२ जनामा संक्रमण भएकोमा सातको ज्यान गएको छ । सुनसरीपछि धादिङमा संक्रमण तीव्र देखिएको छ । महाशाखाको तथ्यांकअनुसार धादिङमा जनवरीयता चार सय एकजनामा संक्रमण देखिएको हो । त्यस्तै, कास्कीमा दुई सय पाँच, दार्चुलामा एक सय ९०, काठमाडौंमा ८०, संखुवासभामा ६४, म्याग्दीमा ५४, कञ्चनपुरमा ५२, रूपन्देहीमा ४५ र मोरङमा ३८ जनामा संक्रमण देखिएको छ । यी १० जिल्लामा संक्रमण उच्च छ ।
हालसम्मकै सबैभन्दा उच्च संक्रमण देखिएको गत वर्षको तुलनामा यो वर्ष संक्रमण झन् फैलिन सक्ने भन्दै लामखुट्टे खोज र नष्ट गर अभियान जोखिमयुक्त स्थानमा सुरु गरिएको इडिसिडीले जनाएको छ । गत वर्ष अतिप्रभावित भएकाबाहेक जिल्लामा पनि यो वर्ष संक्रमण देखिन थालेकाले रोकथाम र नियन्त्रण थालिएको महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहालले बताए ।
‘संक्रमण बढ्न सक्ने अनुमान गरिएकाले गत पुसमै डेंगु संक्रमण रोकथाम र नियन्त्रणको विस्तृत कार्ययोजना बनाएर काम गरिरहेका छौँ । जसमा स्वास्थ्य संस्था, संघ, प्रदेश र स्थानीय सरकार तथा आममानिसको भूमिकाबारे प्रस्ट पारेका छौँ । कार्यविधि कार्यान्वयनका लागि प्रभावित क्षेत्रमा समन्वय गरी लामखुट्टे खोज र नष्ट गरलगायतका अभियान सुरु गरेका छौँ,’ उनले भने । हाल अतिप्रभावित रहेका सुनसरी, धादिङ, काठमाडौंलगायतका स्थानीयसँग समन्वय गरी लामखुट्टे नियन्त्रणमा काम गरिरहेको डा. दाहालले बताए ।
यसबाहेक, संक्रमणदरसँगै मृत्युदर बढ्न सक्ने जोखिम रहेको भन्दै स्वास्थ्य संस्थाहरूलाई उपचार सेवा बढाउनसमेत छलफल गरिएको महाशाखाले जनाएको हो । हाल फैलिइरहेको डेंगुको सेरोटाइपसमेत पत्ता लगाएर उपचारमा सहजता ल्याउन अहिलेदेखि नै तयारी गरिरहेको बताइएको छ । सन् २०२२ मा ५४ हजार सात सय ८४ जनामा डेंगुको संक्रमण देखिएको थियो भने ८८ जनाको मृत्यु भएको थियो ।
मृतक सातैजना धरानका, सुनसरीमा तीन सातामै झन्डै दुई हजार बिरामी थपिए
सबैभन्दा बढी डेंगु संक्रमण फैलिएको सुनसरीको धरानमा सातजनाको ज्यान गएको छ । यस वर्ष पहिलो मृत्यु २३ जेठमा धरान उपमहानगरपालिका– १७ की ३० वर्षीया महिलाको भएको हो । त्यसपछि १५ असारमा धरान– ११ की ४० वर्षीया महिला, २ साउनमा धरान–११ का ७९ वर्षीय वृद्ध र सोही दिन धरान–१८ का ८४ वर्षीय वृद्धको मृत्यु भएको हो ।
त्यस्तै, ३ साउनमा धरान– ५ की ५३ वर्षीया महिला, ७ साउनमा धरान– १० का ५६ वर्षीय पुरुष र सोही दिन धरान– २ का ७७ वर्षीय पुरुषको मृत्यु भयो । बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सहप्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार ज्यान गुमाउनेमध्ये ६ जना दीर्घरोगी थिए ।
सुनसरीमा जनवरीयता दुई हजार ५४२ जनामा संक्रमण भएकामा जुनयता संक्रमित तीव्र बढेका हुन् । सुनसरीमा जुनमा ६६७ जनामा डेंगुको संक्रमण देखिएको थियो भने यो महिनाको तीन सातामै एक हजार ८६२ जनामा संक्रमण पुष्टि भएको हो ।
सुनसरीमा जनवरीदेखि नै संक्रमण देखिएको छ । महाशाखाको तथ्यांकअनुसार जनवरीमा ६, फेब्रुअरीमा दुई, मार्चमा तीन तथा अप्रिल र मेमा एक–एकजनामा मात्र डेंगु संक्रमण देखिएको थियो । बिपी प्रतिष्ठानले लक्षण देखिएकाको परीक्षण गर्न २९ असारदेखि छुट्टै क्लिनिक र डेंगु संक्रमितको उपचार गर्न ७ साउनदेखि ३० बेडको छुट्टै डेंगु वार्ड सञ्चालनमा ल्याएको छ ।
जनवरीयता कुन जिल्लमा कति संक्रमित ?
- सुनसरी : २५४२
- धादिङ : ४०१
- कास्की : २०५
- दार्चुला : १९०
- काठमाडौं : ८०
- संखुवासभा : ६४
- म्याग्दी : ५४
- कञ्चनपुर : ५२
- रुपन्देही : ४५
- मोरङ : ३८
- चितवन : ३८
- झापा : ३६
- भक्तपुर : ३५
- पाल्पा : ३५
- अछाम : ३१
- ललितपुर : २९
- तेह्रथुम : २८
- लमजुङ : २५
- रामेछाप : २४
- नुवाकोट : २३
- बाँके : २२
- कैलाली : २२
- दाङ : १९
- अर्घाखाँची : १७
- नवलपरासी पूर्व : १६
- धनकुटा : १४
- भोजपुर : १२
- काभ्रेपलाञ्चोक : १२
- तनहुँ : १२
- मुस्ताङ : ११
- बर्दिया : ११
- सिन्धुली : १०
- पर्वत : ८
- कपिलवस्तु : ८
- मकवानपुर : ७
- डोल्पा : ६
- रुकुम पश्चिम : ६
- बझाङ : ६
- सिराहा : ५
- गोरखा : ५
- गुल्मी : ५
- बैतडी : ५
- ताप्लेजुङ : ४
- खोटाङ : ४
- इलाम : ४
- सर्लाही : ४
- बारा : ४
- पर्सा : ४
- बागलुङ : ४
- सुर्खेत : ४
- बाजुरा : ४
- डोटी : ४
- पाँचथर : ३
- उदयपुर : ३
- दोलखा : ३
- रसुवा : ३
- स्याङ्जा : ३
- ओखलढुंगा : २
- सप्तरी : २
- महोत्तरी : २
- सिन्धुपाल्चोक : २
- रुकुम पूर्व : २
- नवलपरासी पश्चिम : २
- दैलेख : २
- डडेल्धुरा : २
- रौतहट : १
- मनाङ : १
- जाजरकोट : १
- सल्यान : १