काठमाडौंस्थित सामाखुसी खोलाले बगाएर बेपत्ता बनाएको १३ वर्षीय साजन मगर सोमबार साँझसम्म फेला परेका छैनन् । पर्खालबाट चिप्लिएर उनी आइतबार खोलामा खसेका थिए ।
रानीबारी बस्दै आएका उनी विद्यालयबाट छुट्टी भएपछि फुटसल खेल्न घरबाट निस्किएका थिए । खोला–किनारस्थित पर्खालमाथि चढेर हिँड्दै गरेका उनी अचानक चिप्लिएर खोलामा खसेका थिए । बर्खाको भेलले उर्लिएको सामाखुसी खोलामा उनी हेर्दाहेर्दै बेपत्ता भएका थिए । खोजीमा आइतबार साँझबाटै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिए पनि सोमबार साँझसम्म फेला पर्न सकेका छैनन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी अनिल अधिकारीले साजन चिप्लिएर खोलामा परेको र एकाएक बेपत्ता भएको बताए । सोमबार बिहानैदेखि खोजीमा सुरक्षाकर्मी जुटे पनि साँझसम्म फेला पर्न नसकेको डिएसपी अधिकारीको भनाइ छ ।
उनले भने, ‘साजन चिप्लिएर खोलामा खसेको जस्तो देखिन्छ । उनको खोजीमा सशस्त्र प्रहरीसहितको टोली आइतबार साँझबाटै खटिएको छ । सोमबार दिउँसो चोभारदेखि खोला बग्ने सबै ठाउँ खोजी भयो । तर, फेला पार्न सकिएको छैन । खोजी कार्यालय जारी नै रहनेछ ।’
साजन पानीपोखरीस्थित भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा अध्ययनरत छन् । विद्यालय छुट्टी भएपछि उनी आइतबार करिब ४ः०० फुटसल खेल्न घरबाट निस्किएका थिए ।