‘सरकारले भ्रष्टाचार काण्डका दोषीलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्छ’

सोमबार, ८ साउन, २०८०
डिजिटल संस्करण

सत्तासाझेदार नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले सरकारले भ्रष्टाचार काण्डका दोषीहरूलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्ने बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित ‘समाजवादी यात्राको चुनौती : भ्रष्टाचार र दण्डहीनता’ विषयक गोष्ठीमा बोल्दै उनले नक्कली भुटानी शरणार्थी र सुन तस्करी प्रकरणमा संलग्न भ्रष्टहरूलाई कडा कारबाही गर्न सरकारलाई सचेत गराएका हुन्।

अब जन्मिने, जन्मिन सक्ने, जन्मिने लाइनमा रहेका भ्रष्टहरूको अहिले नै भ्रुण तुहिने गरी सरकारले भ्रष्टहरूमाथि कारबाही गर्नुपर्ने महासचिव भुसालको भनाइ थियो।

मुलुकबाट भ्रष्टाचार पूर्ण रूपमा नियन्त्रण गर्न भने हरेक पार्टीभित्रैबाट भ्रष्टाचारविरोधी अभियान सुरु गर्नुपर्ने बताउँदै उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठजस्ता एक व्यक्तिले मात्रै भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने भएकाले पार्टीभित्रैबाट त्यसविरुद्ध अभियान छेड्नुपर्ने धारणा राखे।

महासचिव भुसालले समाजवादको यात्रालाई ठीक ढंगले अघि बढाउन पनि हरेकले आफ्नो पार्टी स्वयंलाई भ्रष्टाचारविरोधी बनाउन सक्नुपर्ने जिकिर गरे।

महासचिव भुसालले पपुलिज्मका लागि भ्रष्टाचार नियन्त्रण गर्ने कुरालाई अघि बढाउन नहुने बताए। त्यस मामिलामा पुँजीवादले जित्ने भएकाले कम्युनिस्टहरूले त्यो बाटो लिन नहुने उनको तर्क थियो।

सुझावित समाचार