चिनियाँ नेता काठमाडौंमा विगतका सहमति कार्यान्वयनमा जोड

राष्ट्रपति र कार्यवाहक प्रधानमन्त्रीसँग भेटवार्ता, प्रधानमन्त्रीसँग भर्चुअल संवाद

सोमबार, ८ साउन, २०८०
डिजिटल संस्करण

आइतबार काठमाडौं आइपुगेका चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा चोङछिङ नगरपालिकाका पार्टी सचिव युयान च्या जुनले राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भेटवार्ता गरेका छन् ।

उनले इटालीको रोममा रहेका प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भर्चुअल संवाद गरेका छन् । उनले आफू चार वर्षअघि चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणमा भएका सहमति कार्यान्वयन गर्ने प्रमुख उद्देश्य लिएर बताएका छन् । राष्ट्रपति पौडेलसँग आइतबार राष्ट्रपति भवन शीतलनिवासमा उनले शिष्टाचार भेटवार्ता गरेका थिए ।

भेटमा दुईपक्षीय हित तथा पारस्परिक सम्बन्ध मजबुत बनाउने विषयमा छलफल भएको राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार डा. सुरेश चालिसेले बताए ।

राष्ट्रपति पौडेलले ऐतिहासिक कालदेखि नै नेपाल र चीन असल छिमेकी रहेको र यस प्रकारका उच्च तहको भ्रमणले दुई देशबीचको सम्बन्ध अझ सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए । कार्यवाहक प्रधानमन्त्री खड्काले नेपाल र चीनबीच सदियौँदेखि रहिआएको सौहार्दपूर्ण एवं घनिष्ठ सम्बन्ध नेपाल सरकार र नेपाली जनताले महसुस गरेको स्मरण गरे ।

माओवादी नेता दिल्लीमा 
माओवादी उपाध्यक्ष पम्फा भुसालले नेतृत्व गरेको पाँच सदस्यीय प्रतिनिधिमण्डल आइतबार साँझ भारतको नयाँदिल्ली पुगेको छ । भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा गएको टोलीलाई पार्टीको विदेश विभाग इन्चार्ज डा. विजय चौथाइवालेले दिल्ली विमानस्थलमा स्वागत गरेका थिए ।

प्रतिनिधिमण्डलमा चक्रपाणि खनाल, रामेश्वर राय यादव, सत्या पहाडी र सुरेशकुमार राई छन् । माओवादी नेताहरूले भाजपा अध्यक्ष नड्डासँग भाजपा मुख्यालयमा भेटवार्ता गर्ने कार्यक्रम छ । यसबाहेक उत्तराखण्डको भ्रमण गर्ने र मुख्यमन्त्री पुष्करसिंह धामीलगायत नेतासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको चौथाइवालेले बताए ।  

सुझावित समाचार