बर्सेनि डुबान पर्ने बुढानीलकण्ठ नगरपालिकाको कपन क्षेत्रलाई डुबानमुक्त बनाउन नगरपालिकाले ६४ करोड बजेट विनियोजन गरेको छ । डुबान क्षेत्रमा बक्स कल्भर्ट निर्माण, ढल व्यवस्थापन, ढुंगा तथा माटो बिछ्याउनेलगायत कार्यका लागि नगरपालिकाले २८ र ३६ करोडका दुईवटा टेन्डर प्रक्रिया अघि बढाउन लागेको हो ।
नगरपालिकाका मेयर मिठाराम अधिकारीले चालू आर्थिक वर्षभित्र नगरपालिकाको डुबान क्षेत्र रोकथाम गरिसक्ने दाबी गरे । ‘निर्वाचित भएको १८ महिनाभित्रै कपन क्षेत्र डुबानमुक्त बनाउने भनेको थिएँ, सोहीअनुसार काम भइरहेको छ,’ उनले भने, ‘बाढी रोक्न सडक र ढल व्यवस्थित गराउन लागेका छौँ ।’
मिठाराम अधिकारी मेयर, बुढानीलकण्ठ नगरपालिका
डुबान क्षेत्रमा बक्स कल्भर्ट निर्माण, ढल व्यवस्थापन, ढुंगा तथा माटो बिछ्याउनेलगायत कामका लागि २८ र ३६ करोडका दुईवटा अयोजनाका लागि प्रक्रिया अघि बढेको छ । चालू आर्थिक वर्षभित्रै डुबानको समस्या समाधान हुनेछ । निर्वाचित भएको १८ महिनाभित्रै कपन क्षेत्र डुबानमुक्त बनाउँछु भनेको थिएँ । सोहीअनुसार काम भइरहेको छ । बाढी रोक्न सडक र ढल व्यवस्थित गराउन लागेका छौँ ।
कपन डुबान पर्नुको मुख्य कारण यहाँको खहरे खोलालाई ह्युमपाइपभित्र पसाउनु हो । हिउँदमा खहरे खोला ह्युमपाइपमा अटे पनि बर्खामा भने सामान्य पानी पर्दा नै व्यक्तिको घरआँगनमै पानी पुग्ने गरेको छ । खहरेले काठमाडौं महानगरपालिकाका वडा नम्बर ६ र ७ एवं बुढानीलकण्ठ नगरपालिकाका वडा नम्बर १० र १२ का बस्ती डुबानमा पर्दै आएका छन् । खहरे खोलाको मुहान शिवपुरी राष्ट्रिय निकुञ्ज भएकाले निकुञ्जदेखिकै पानी आउँछ । खहरेको स्थानीय नाम स्यालमती र चखुंचा पनि हो ।
स्थानीयवासीका अनुसार ०५६ सालतिर खहरे खोला मासेर ४८ इन्चको ह्युमपाइप बिछ्याइएको छ । त्यसमाथि कालोपत्रे सडक बनाइएको छ । खोलामाथि पक्का सडक बनेपछि जग्गाको मूल्य अकासिएको थियो । यसैबीच केही टाठाबाठाको मिलेमतोमा खोलाको जग्गासमेत बिक्री गरे ।
यस्तो छ कपन डुब्नुको कारण
नगरपालिकाका मेयर अधिकारी पनि कपन डुबानको मुख्य कारण अकासे पानी निकास नहुनुलाई नै मान्छन् । ‘हिजो बर्खामा अकासे पानी बगेर खेतमा जान्थ्यो, जमिनले सोस्थ्यो,’ उनले भने, ‘तर, अहिले अकासे पानी सीधै ढलमा मिसिन्छ, जमिन रिचार्ज हुने ठाउँ पनि छैन, कपन डुबानको प्रमुख कारण नै कृषियोग्य जमिन (धानखेत)मा घडेरी बनाई धान उत्पादन हुने ठाउँमा घर बनेकोे परिणाम हो ।’
उनका अनुसार उहिले बर्सामा फाँटभरिबाट बग्ने पानी अहिले बाक्लो बस्ती र खुला क्षेत्र अभावले सडक–बाटोमै बग्ने गरेको छ । पानीको निकास नै सडक बनेको छ । यस क्षेत्र डुबानमा पर्नुको अर्को कारण खहरे खोला व्यवस्थापन नहुनु पनि हो । तर, नगरपालिकाले खहरेखोला खुला राखेर मात्रै यस क्षेत्रको बाढी समाधान नहुने बताउँदै आएको छ । नगरपालिकाले खोला खुला राख्नुभन्दा बक्स कल्भर्टबाट बढी फोर्सले पानी बग्ने बताउँदै आएको छ । यस क्षेत्रमा कंक्रिटका संरचना ठडिनुअघि खोल्सीका रूपमा मात्र खहरे रहेको थियो भने अन्य पानी बग्ने स–साना कुला पनि थिए ।
पछि बस्ती बढ्दै गएपछि खोलावरपरका बासिन्दालाई दुर्गन्ध फैलिएको भन्दै काठमाडौं महानगरपालिका–६ को खहरे उपभोक्ता समितिले कपन र सरस्वतीनगरको संयुक्त ढल तथा बाटो व्यवस्थापन उपसमिति गठन गरी ओखलढुंगेचोकदेखि मिलनचोकसम्म ढल व्यवस्थापन गरे । कपनका क्षेत्रका जनप्रतिनिधिसहितको सहयोगमा उक्त ढल व्यवस्थापन गरे पनि डुबान समस्या बढ्न थालेपछि नगरपालिकाले डुबान रोक्न थप योजना अघि सारेको हो । मेयर अधिकारीका अनुसार खहरे खोला क्षेत्रमा १२ वर्षअघि ढल बनेको थियो । तर, बस्ती वृद्धि र बाहिरी ढल ल्याएर खोलामै मिसाउने प्रवृत्तिका कारण पानी ‘ओभर फ्लो’ हुन थालेको हो । बुढानीलकण्ठ नगरपालिकाले कपनतर्फ खोला मिचिएको भनाइलाई समेत असत्य दाबी गरेको छ ।
नगरपालिकाका अनुसार चखुंचा खहरे ०२१ सालको नापी नक्सामा खहरेका रूपमा कपनतर्फको साबिक कपन ३(ङ) समेतको सर्भे नक्सामै रहेको कपनको खहरे हो । पछि हालसाबिक हुँदा साबिकको काठमाडौं महानगरपालिका–६ तर्फबाट खहरे सरेको छ । त्यसको पुष्टि काठमाडौं महानगरतर्फको नक्सा सिट नम्बर १०२१०२८०१ र १०२१०२७–१० समेतकोे नक्सामा हाल भएको बाटोलाई साबिक खहरे नाममा नाप नक्सा भएको स्थानीयको भनाइ छ । कपनतर्फ पछि ०६४ सालमा दोस्रो नापी जाँच गर्दा अधिकांशको जग्गा हाल साबिकमा घटेको छ भने खहरेलाई ढल बनाएपछि बाटोका रूपमा नापनक्सा भएको पाइएको छ ।
काठमाडौं महानगरपालिका–६ तर्फ जग्गा छाडेर कपनतर्फ खहरे सरेको छ । काठमाडौं महानगरपालिका–६ का वडाध्यक्ष भुवन लामाले खोला साँघुरो हुँदा डुबानमा परेको बताउँदै आएका छन् । उनका अनुसार खहरे खोलामा हिउँदमा ढल बग्छ भने बर्खामा अकासे पानी । खोला, बस्ती र सडकको तह एउटै भएकाले बस्तीमा बाढी पस्ने गरेको हो ।
डुबान क्षेत्रमा बक्स कल्भर्ट निर्माण, ढल व्यवस्थापन, ढुंगा तथा माटो बिछ्याउनेलगायत कामका लागि २८ र ३६ करोडका दुईवटा अयोजनाका लागि प्रक्रिया अघि बढेको छ । चालू आर्थिक वर्षभित्रै डुबानको समस्या समाधान हुनेछ । निर्वाचित भएको १८ महिनाभित्रै कपन क्षेत्र डुबानमुक्त बनाउँछु भनेको थिएँ । सोहीअनुसार काम भइरहेको छ । बाढी रोक्न सडक र ढल व्यवस्थित गराउन लागेका छौँ ।