नेपालमा डेंगु देखापरेको १९ वर्षपछि सरकारले स्पष्ट वार्षिक कार्ययोजना बनाई लागू गरेको छ । सरकारले अहिलेसम्म डेंगु नियन्त्रण कार्यक्रम गर्दै आएपनि स्पष्ट वार्षिक कार्ययोजना बनाई लागू गरेको यो पहिलोपटक हो । यसअघि सरकारले डेंगु रोकथामका लागि वार्षिक कार्यक्रम गर्दै आएको थियो । यसपटक डेंगु नियन्त्रणका लागि स्पष्ट वार्षिक कार्ययोजना बनाई ७७ वटै जिल्लामा कार्यान्वयनका लागि पठाइसकेको छ ।
सरकारले बनाएको कार्ययोजनामा भेक्टर नियन्त्रण, लामखुट्टेको वृत्तिविकास रोक्ने उपाय, उपचार पद्धति, स्थानीय तह, रेडक्रसलगायतका स्वास्थ्यसँग सम्बन्धित संस्थाहरूको भूमिकाबारे स्पष्ट पारिएको छ । बुधबार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख रुद्र मरासिनीले बढी जोखिम भएका ९२ वटा स्थानीय तहमा एक्सन प्लानसहित विशेष सर्कुलर जारी गरेको बताए ।
‘डेंगुको जोखिम बढ्न सक्छ भनेर केही कार्ययोजना बनाएका छौँ । यो वर्षको कार्ययोजना बनिसकेको छ । कार्ययोजनामा भेक्टर नियन्त्रण, लामखुट्टेको वृत्तिविकास कसरी रोक्ने ? उपचारमा के–के गर्ने ? स्थानीय तहको भूमिका के हो ? रेडक्रसको भूमिका के हो ? भन्ने विषय समेटेका छौँ,’ मरासिनीले भने, कार्ययोजना ७७ वटै जिल्लामा पठाइसकेका छौँ । बढी जोखिम भएका ९२ वटा पालिकामा एक्सन प्लानसहित विशेष सर्कुलर गरिसकेका छौँ । बढी जोखिम भएका ठाउँहरू काठमाडौं, ललितपुर, भक्तपुर, चितवन र मकवानपुरका सरोकारवालाहरूसँग बसेर कार्यक्रम गरिसकेका छौँ । उच्चस्तरीय डेंगु नियन्त्रण कमिटीमा पनि छलफल गरेर निर्णयहरू गरेका हौँ ।’
डा. मरासिनीले नेपालमा सन् २००४ देखि हालसम्म १९ वर्षको अवधिमा ८३ हजार ६ सय ८१ जनामा डेंगु संक्रमण देखिएको बताए । उनले पछिल्लो तथ्यांकअनुसार असार ३० सम्म दुई हजार नौ सय ३० जनामा डेंगु संक्रमण देखिएको उल्लेख गरे । उनले भने, ‘सन् २००४ देखि २०२३ सम्म १९ वर्षको अवधिमा ८३ हजार ६ सय ८१ जनामा डेंगु संक्रमण देखिएको छ । पछिल्लो तथ्यांकअनुसार असार ३० सम्म दुई हजार नौ सय ३० जनामा डेंगु संक्रमण देखिएको छ ।’
मरासिनीले डेंगुको रोकथामका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय भइरहेको पनि बताए । सरकारको प्राथमिकता लामखुट्टे बस्ने ठाउँहरूको नष्ट गर्नु, घर–आँगन, कार्यालयवरिपरि पानी जमेको ठाउँको नष्ट गर्नु रहेको बताए । लामखुट्टेको वृत्तिविकास खासगरी सफा र सङ्लो पानी जम्मा भएको ठाउँमा हुने बताए । अहिले पनि देशभरका धेरै ठाउँबाट केसहरू बढ्दै गएको उनको भनाइ छ ।