‘दुई देशसँगको खुला सिमाना राष्ट्रिय सुरक्षाको मुख्य चुनौती’

सोमबार, १ साउन, २०८०
डिजिटल संस्करण

सरकारले खुला सिमाना हुनु देशको राष्ट्रिय सुरक्षामा चुनौतीको रूपमा रहेको बताएको छ। 

गृह मन्त्रालयले राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले माग गरेबमोजिमको लिखित विवरण पठाउँदै नेपालको छिमेकी दुई देशसँग खुला सिमाना हुनु राष्ट्रिय सुरक्षामा चुनौती भएको बताएको हो।

सोमबार बसेको समितिको बैठकमा समिति सचिव सीता काफ्ले वाग्लेले गृह मन्त्रालयले पठाएको विवरण पढेर सुनाएकी थिइन्।

सो विवरणमा खुला सिमानाका कारण मानव बेचबिखन, हातहतियार ओसारपसार लागुऔषध ओसारपसार र सीमापारिबाट आपराधिक व्यक्ति, समूह प्रवेश गरी लुटपाट एवं अन्य आपराधिक घटना घटाउने चुनौती रहेको उल्लेख गरिएको छ।

त्यस्तै, सीमापारि अपराध गरेर सीमावारि आई लुक्ने प्रवृत्ति रहेको र भन्सार नभएका विन्दुहरूबाट चोरी, निकासी, तस्करी हुने गरेको पनि उल्लेख गरिएको छ।

खुला सिमानाको फाइदा उठाउँदै अवैध रूपमा शरणार्थीहरूको प्रवेश र तेस्रो देशका नागरिकहरूको अवैध घुसपैठ हुने गरेको पनि विवरणमा उल्लेख छ। 

सरकारले सीमा सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको परिचालन गरेको जनाएको छ। नियमित रूपमा सीमावर्ती समकक्षीहरूसँग बैठक गरी अन्तरसीमा अपराध नियन्त्रणलगायतका विषयमा समन्वय गरिएको उल्लेख छ।

त्यस्तै, सीमास्तम्भहरूको नियमित रूपमा अनुगमन गरी भत्किएका, बिग्रिएका सीमास्तम्भहरूको मर्मतसम्भार गरिएको सरकारको विवरणमा बताइएको छ। 

सशस्त्र प्रहरी बल नेपालबाट १४ हजार दुई सय १२ जनशक्ति सीमा सुरक्षार्थ परिचालन गरिएको र हालसम्म भारततर्फ दुई सय ४२ र चीनतर्फ आठ गरी जम्मा दुई सय ५० स्थानमा विओपी स्थापना भई सञ्चालनमा रहेको स्पष्ट पारिएको छ।

सुझावित समाचार