फिफा इन्टरनेशनल महिला फुबटल शृंखला २०२३ को उपाधि नेपालले जितेको छ । खेल टाइब्रेकरमा पुग्ने निश्चित भएपछि मैदान प्रवेश गराइएकी गोलकिपर *अञ्जना रानामगर चम्किएपछि नेपालले फाइनलमा बंगलादेशलाई टाइब्रेकरमा ४–२ ले पराजित गरेको हो ।
फिफा इन्टरनेशनल महिला फुबटल शृंखला पहिलोपटक आयोजना गरिएको हो । यसअघि पहिलो खेलमा नेपाल र बंगलादेशले एक-एक गोलको बराबरी खेलेका थिए ।
नेपालको जितमा सावित्रा भण्डारी, हीराकुमारी, दीपा शाही र अनिता केसीले गोल गरे । बंगलादेशको तर्फबाट संसुन नहार र मोनिका चक्माले मात्र बललाई जाली चुमाउन सके ।
नेपालको तर्फबाट तेस्रो पेटाल्टी प्रहार गर्न अञ्जना आएकी थिइन् । तर, उनले गोल गर्न भने सकिनन् । उनको प्रहार पोष्टमा लागेर फर्किएको थियो ।
तर, बंगलादेशका तीन दुई पेनाल्टी प्रहारलाई नेपाली गोलरक्षक अञ्जनाले रोकेकी थिइन् । उनले सुलियाजिन पालिय र मारिया मान्डर पातिखेको बल समातिन् । त्यसअघि निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले गोल गर्न सकेनन् ।
खेलको सुरुवातमा एन्जिला तुम्बापो सुब्बाले गोलपोष्ट सम्हालेकी थिइन् । खेल टाइब्रेकरमा जाने भएपछि पूरै ९० मिनेट पोष्ट सम्हालेकी एन्जिलालाई परिवर्तन गर्दै प्रशिक्षक अनन्तराज थापाले अञ्जनालाई मैदान प्रवेश गराएका थिए । नेपाली महिला फुटबलमा अञ्जनलाई पेटाल्टी प्रहार रोक्ने कौशल भएकी गोलरक्षक मानिन्छ ।
(*यसअघि गाेलकिपर अञ्जना हुनुपर्नेमा भूलवश एन्जिला तुम्बापाे सुब्बा हुन गएकाेमा सच्याइएकाे छ । सं.)