नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त तुलाधर १५ लाख धरौटीमा रिहा

आइतबार, ३१ असार, २०८०
डिजिटल संस्करण

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्त केशव तुलाधर १५ लाख रुपैयाँ धरौटीमा छुटेका छन् । जिल्ला अदालत काठमाडौंले आइतबार उनलाई धरौटीमा छाड्ने आदेश दिएको हो । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई बुधबार पक्राउ गरेको थियो । जिल्ला न्यायाधीश माधवप्रसाद घिमिरेको इजलाशले थुनछेक बहसपछि उनीसँग १५ लाख धरौटी माग्ने आदेश दिएको हो । 

तुलाधर न्युरोडको देगा बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत हुन् । सो मुद्दाका प्रमुख अभियुक्तमध्ये एक सन्देश शर्मालाई उनले आर्थिक कारोबारमा सघाएका थिए । 

शर्माले विभिन्न व्यक्तिमार्फत महर्जनको सहकारीमार्फत लेनदेन गरेका थिए । अनुसन्धान सुरु भएलगत्तै फरार भएका उनलाई प्रहरीले स्वयम्भूबाट पक्राउ गरेको हो । 

अदालतमा बयानको क्रममा तुलाधरले आर्थिक लेनदेन भएका वेला आफू कोभिड लागेर बिरामी रहेको र त्यति वेला आफ्ना कर्मचारी हरिभक्त महर्जनले आर्थिक कारोबार गरेको बताएका थिए । सोही आधारमा उनको धरौटी खुलेको हो । उनका कर्मचारी हरिभक्त भने यही मुद्दामा पुर्पक्षका लागि कारागारमा छन् । 

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै संगठित रुपमा भएको ठगी प्रकराण्मा गत १० जेठमा जिल्ला सरकारी वकिल कार्यालयले ३० जना प्रतिवादीविरुद्ध मुद्दा दायर गरेको थियो । जसमध्ये १६ जना थुनामा छन् भने दुई जना धरौटीमा छुटेका थिए । 

मुद्दा दायर गरेकामध्ये ११ जना अझै फरार छन् । यस प्रकरणमा प्रहरीले थप संकित व्यक्तिमाथि दोस्रो चरणमा अनुसन्धान गरिरहेको छ ।

सुझावित समाचार