कठिन बन्दै उपत्यकामा सुकुमबासी व्यवस्थापन

आइतबार, ३१ असार, २०८०
डिजिटल संस्करण

उपत्यकामा झन्डै चार लाख सुकुमबासी, सिनामंगलदेखि तिनकुनेसम्म मात्रै पाँच सय घरटहरा

काठमाडौं महानगरपालिकाले सुकुमबासीको लगत संकलन नगर्दा व्यवस्थापनमा थप कठिन हुने देखिएको छ । काठमाडौंमा सबैभन्दा बढी सुकुमबासी समस्या छ । राष्ट्रिय भूमि आयोगले स्थानीय तहलाई नै संलग्न गराएर लगत संकलन गर्न थाले पनि काठमाडौं र ललितपुर महानगरले भने लगत संकलनमा चासो देखाएका छैनन् । ललितपुरले लगत संकलनका लागि आयोगसँग सम्झौतासमेत गरेको छैन भने काठमाडौंले सम्झौता गरे पनि लगत संकलन नगर्ने अडान लिएको छ ।

उपत्यकाभित्र नदी तथा करिडोर क्षेत्रमा सुकुमबासी वासस्थान ठूलो छ । यसअघि काठमाडौं महानगर सुकुमबासी बस्ती हटाउन पुग्दा झडपको स्थितिसमेत निम्तिएको थियो । सुकुमबासी व्यवस्थापन केन्द्र सरकार र स्थानीय सरकारको समन्वयमा हुनुपर्ने भए पनि काठमाडौं महानगरले सुकुमबासी व्यवस्थापन भूमि आयोगले नै गर्नुपर्ने बताउँदै आएको छ । उसले पटक–पटक सुकुमबासीको नाममा लगत संकलन गरेर नक्कली सुकुमबासी खडा गरेको आरोप आयोगमाथि लगाउँदै आएको छ । बागमती नदी–किनारमा बसोवास गर्ने झन्डै तीन सय सुकुमबासी परिवारका लागि सरकारले इचंगुनारायणमा भवनसमेत निर्माण गरिसकेको छ । तर, सो भवन हाल प्रयोगविहीन अवस्थामा छ । 

उपत्यकामा झन्डै चार लाख सुकुमबासी 
आयोगका अनुसार देशभरि करिब १५ देखि १६ लाखसम्म सुकुमबासी छन् । यसमध्ये करिब चार हजार सुकुमबासी काठमाडौं महानगरभित्र छन् भने चार लाखभन्दा बढी उपत्यकाभित्रका विभिन्न ठाउँमा बसोवास गर्दै आइरहेका छन् । उपत्यकाका खोला–किनार, करिडोर सडक क्षेत्र र सार्वजनिक स्थानमा सुकुमबासीले आश्रय लिइरहेका छन् । उनीहरूका कारण उपत्यकाका खोला तथा करिडोर विस्तारको कामसमेत प्रभावित बनिरहेको छ । हाल बागमती करिडोरमा रहेका सुकुमबासी यकिन गर्न अध्ययन भइरहेको छ । सर्वप्रथम नदी र करिडोर सडकको सीमा यकिन गरेर मात्रै सुकुमबासीलाई आश्रय दिइने आयोगको तयारी छ । तर, यस क्षेत्रमा लगत संकलन नै सुरु भएको छैन । काठमाडौं महानगरले आफूले लगत संकलन नगर्ने बताउँदै आएपछि आयोगको सुकुमबासी व्यवस्थापन योजना अन्योल बनेको हो । 

महालेखा परीक्षक कार्यालयको पछिल्लो प्रतिवेदनअनुसार अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले ०८०/८१ सम्म नदी व्यवस्थापन र हरियालीको काम सम्पन्न गरिसक्नुपर्ने हो । तर, हालसम्मको कार्यप्रगतिलाई हेर्दा लक्ष्य भेट्टाउन नसकिने अवस्था छ । यस क्षेत्रको मुख्य समस्या सुकुमबासी व्यवस्थापन नै बनेको छ । महालेखाले सिनामंगलदेखि तिनकुनेसम्म पाँच सयवटा घरटहरा सुकुमबासीको नाममा निर्माण भएको उल्लेख गरेको छ । समितिले हालसम्म सुकुमबासी व्यवस्थापन, करिडोर निर्माण र नदी तटबन्ध निर्माण गर्न सकेको छैन । 

आठ लाख परिवारलाई निस्सा वितरण

राष्ट्रिय भूमि आयोगका अनुसार हालसम्म तीन हजार एक सय २४ जनालाई लालपुर्जा वितरण, देशभरका ६ सय ९७ स्थानीय तहसँग सम्झौता, नौ लाख १० हजार तीन सय ७० को तथ्यांक प्रविष्टीकरण भइसकेको छ । यसमध्ये ७२ हजार दुई सय ७३ भूमिहीन दलित, एक लाख ४२ हजार नौ सय ८२ भूमिहीन सुकुमबासी, ६ लाख ९४ हजार ६ सय ६ अव्यवस्थित बसोवासी छन् । 

आयोगका प्रवक्ता नहेन्द्र खड्काले ६ सय सातबाहेकका अन्य स्थानीय तहमा सम्झौता नभएको जानकारी दिए । उनका अनुसार लगत संकलनसम्बन्धी ३५ दिने ६८२ वटा सूचना जारी भइसकेका छन् । हालसम्म १३ लाख ५० हजार भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीले निवेदन फाराम भरेका छन् । यसबाहेक आठ लाख परिवारलाई निस्सा वितरण गरिएको छ । हालसम्म एक लाख ४४ हजार ६ सय ५७ किता जमिन नापजाँच भइसकेको छ । त्यसको नक्सा, फिल्डबुक र लालपुर्जा तयारीको चरणमा रहेको प्रवक्ता खड्काको भनाइ छ । उनका अनुसार पुराना सुकुमबासी आयोग र जग्गा दर्ता समितिको अधुरो कामको ६० हजार चार सय निवेदन आयोगमा परेको छ । तिनको छानबिन र निर्णय हुने चरणमा छ । ‘हालसम्म अव्यवस्थित बसोवासीलाई जग्गा वितरण गर्दा ३४ करोड ५३ लाख ४० हजार एक सय सात रुपैयाँ राजस्व संकलन भएको छ । 

आगामी वर्ष राम्ररी काम गर्न पाए दसौँ अर्व राजस्व उठ्न सक्छ,’ खड्काले भने, ‘यो सबै काम सम्पन्न भइसक्दा खर्बौँ रुपैयाँ राजस्व संकलन हुने र अहिलेको देशको अर्थ संकटलाई टार्न सक्ने अवस्था हुन्छ ।’ उनका अनुसार भरतपुरमा दुई चरण लालपुर्जा भइसकेको छ भने एक महिनाभित्र करिब एक हजार लालपुर्जा वितरणको तयारी छ । 

सुकुमबासीको १४ पटक लगत संकलन, तर काम हुँदैन 
सुकुमबासी समाधानका लागि बनेका भूमि आयोग तथा यससँग सम्बन्धित सरकारी संस्थाहरूले १४ पटक लगत संकलन गरिसकेका छन् । ती आयोगलाई महानगरले सघाउँदै आएको थियो । तर, पुरानो तथ्यांक हुँदाहुँदै नयाँ सुकुमबासी थप्ने गरी लगत संकलन भएकाले त्यसमा महानगर सहमत छैन । आयोगले गरेको लगत संकलनमा उपत्यकामा सुकुमबासी भनेर ठहर गर्न सकिने संख्या देखिएको छैन । तर, भूमिसम्बन्धी समस्या समाधान आयोग ०७७ ले गरेको लगत संकलनअनुसार उपत्यकामा ६ हजार सुकुमबासी थिए  । त्यो संख्यामा पनि सत्यता नभएको महानगरको धारणा छ  । 

लगत संकलनपछि यसरी दिइन्छ लालपुर्जा
सुकुमबासी हो–होइन भन्ने यकिन गर्न लगत संकलन र त्यसको छानबिन महत्वपूर्ण हुन्छ । तर धेरै सुकुमबासीको बसोवास रहेको क्षेत्रमा लगत संकलन नहुँदा सुकुमबासी व्यवस्थापन समस्या हुने देखिएको छ । आयोगका अनुसार नदी र करिडोर क्षेत्रबाहेकका स्थानमा बसोवास गरेकालाई तीनपुस्ते र नाता हेरेर लालपुर्जा वितरण गरिन्छ । नाता र लालपुर्जा भए–नभएको प्रमाणित तथा यकिन स्थानीय तहले गर्नेछ । तीन पुस्ताभित्र कसैको सम्पत्ति विवरण रहेको पाइएमा उनीहरूलाई लालपुर्जा दिइनेछैन । त्यस्तै, सुकुमबासी प्रमाणित वडाले गर्नेछ । वडा र सम्बन्धित नगरपालिकाले उजुरबाजुरका आधारमा सुकुमबासी भए–नभएको पुष्टि गर्नेछ । वडाले दिएको व्यहोराकै आधारमा भूमिहीन तथा सुकुमबासीलाई चार आनासम्म जग्गा दिइनेछ । तर, नदी क्षेत्र, सडक र महत्वपूर्ण सरकारी ठाउँमा घरटहरा निर्माण गरेर बसेकालाई लालपुर्जा दिइनेछैन । भूमिसम्बन्धी समस्या समाधान आयोग, २०७७ ले उपलब्ध गराएको तथ्यांकअनुसार नेपालभर ४७ लाख १३ हजार सुकुमबासी छन् । यीमध्ये हालसम्म कतिले जग्गा दर्ता पुर्जा पाए भन्ने तथ्यांक आयोगसँग छैन  ।  

आयोगमा बस्नेहरूका आ–आफ्नै स्वार्थ
यसअघि ०७७ मा सुकुमबासी समस्या समाधानका लागि तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरेको थियो  । आयोगको अध्यक्ष एवं एमालेका देवीप्रसाद ज्ञवालीको कार्यकालमा सुकुमबासी समस्या समाधानका लागि तथ्यांक संकलन नै भएन । करिब डेढवर्षे कार्यकालसम्म पनि आयोगको प्रभावकारिता नदेखिएपछि ०७८ मा खारेज भयो । त्यसपछि कांग्रेस–माओवादीसहितको गठबन्धन सरकारले २५ भदौ ०७८ मा केशव निरौलालाई आयोगको अध्यक्ष बनायो  । आयोगले एक वर्ष तीन महिनासम्म पनि लगत संकलन सकेको छैन । काठमाडौं महानगरपालिका र बागमती विकास समितिसँग टकराव परेपछि मात्रै आयोगले ३५ दिने सूचना जारी गरेर एक महिनाअघि लगत संकलन थालेको थियो । लगत संकलनका लागि अझै तीन महिना लाग्ने आयोगको भनाइ छ । त्यसपछि प्रमाणीकरण र छानबिन गरिनेछ । यसका लागि स्थानीय तह, नापी कार्यालय र आयोगले संयुक्त रूपमा काम गर्नुपर्छ । तर, सुकुमबासीको बढी समस्या रहेको काठमाडौं महानगरले त्यसलाई बेवास्ता गरेको छ  । 

सुझावित समाचार