शिक्षक पढाउँदै बागमती नगरपालिका

शनिबार, ३० असार, २०८०
डिजिटल संस्करण

विद्यार्थीको शैक्षिक अवस्था सुधार्न पहिला शिक्षकशिक्षिकामा सिकाइ सीप सुधार्नुपर्छ भन्ने मान्यता बागमती नगरपालिकाले अवलम्बन गरेको छ। सोहीअनुरूप बागमती नगरपालिका शिक्षा शाखाले नगरमा रहेको शिक्षकशिक्षिकाहरूको सिकाइ सीपसँगै क्षमता विकासको पहल सुरु गरेको हो। नगरपालिकाले नगरभित्रका सम्पूर्ण सामुदायिक विद्यालयका शिक्षकशिक्षिकाहरूलाई एक ठाउँमा जम्मा पारेर पढाउन सुरु गरेको छ।

कार्यक्रमअन्तर्गत नगरका दुई सय बढी शिक्षकशिक्षिकाहरूलाई पहिलो चरणमा राम्रो लेखनको लागि ‘हेन्डराइटिङ’ अभ्यास गराएको हो। बालबालिकाको लेखाइ सुधार्न पहिला शिक्षकशिक्षिकाहरूलाई लेखन सीप तालिम प्रदान गरिएको नगर शिक्षा शाखाले जनाएको छ। क्रमैसँग शिक्षकशिक्षिकाको अध्यापन सीप विकासमा समेत नगरले विभिन्न चरणमा तालिम गराउने भएको छ। 

यसरी ‘हेन्डराइटिङ’ लेखन तालिममा सहभागी शिक्षक शिक्षिकाहरूले आ–आफ्नो विद्यालयमा प्रशिक्षकको रूपमा काम गर्ने नगर शिक्षा शाखा प्रमुख मीनप्रसाद उपाध्यायले जानकारी दिए। नगरपालिकाले शैक्षिक सुधारको लागि प्रशिक्षक परिचालन गरेर शिक्षकशिक्षिकाहरूलाई तालिम प्रदान गरिरहेको छ। नगरमा रहेका २५ वटा सामुदायिक विद्यालयमा भएको शैक्षिक सुधारले बालबालिका र अभिभावक आकर्षित हुँदै आएका छन्। 

नगरले मन्टेस्वरी शिक्षण पद्धतिअनुसार नगरका सामुदायिक विद्यालयहरूमा पठनपाठन गराइरहेको छ। बालबालिकामैत्री पठनपाठनको अवधारणअनुसार अध्ययन गराउँदै आएको बागमती–११, स्थित कर्मैयामा रहेको श्री ५ महेन्द्र जनता माध्यामिक विद्यालयका प्रधानाध्यापक नवकिरण श्रेष्ठले जानकारी दिए। एसइईमा यसपटक नगरपालिकाका सामुदायिक विद्यालयहरूका छात्रछात्राहरूले विगतको भन्दा राम्रो नतिजा निकालेका छन्। 

यस नगरपालिकाले विद्यालयको भौतिक विकासमा समेत नगरले विशेष ध्यान दिइरहेको जनाएको छ। विद्यालयको वार्षिक पात्रो नै तयार गरेर नियमित परीक्षादेखि बालबालिकाका लागि अतिरिक्त क्रियाकलापमा समेत सहभागी गराउँदै आएको हो। यसले बालबालिकाहरूको सर्वांगीण विकासमा टेवा पुगेको शिक्षा शाखा संयोजक राजकुमार विश्वकर्माको भनाइ छ। राष्ट्रिय शिक्षा अभियानका अभियन्ता अभिषेक घिमिरे प्रशिक्षकको रूपमा गत वर्षदेखि खटिरहेकाे नगरपालिका शिक्षा शाखाले जनाएका हो।

सुझावित समाचार