शीर्ष नेतासँग अमेरिकी सहायक विदेशमन्त्रीको भेट

शनिबार, ३० असार, २०८०
डिजिटल संस्करण

दक्षिण तथा मध्यएसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले एमसिसी अनुदानको परियोजना एक महिनापछि कार्यान्वयन हुने चरणमा पुगेको र यसका लागि सहयोग गरेकोमा नेपालका शीर्ष नेताहरूलाई धन्यवाद दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र परराष्ट्रमन्त्री एनपी साउदसँग शुक्रबार बेग्लाबेग्लै शिष्टाचार भेटमा लुले सहयोगका लागि शीर्ष नेतालाई धन्यवाद दिन काठमाडौं आएको बताए । उनले एमसिसीका वरिष्ठ अधिकारीले चाँडै नेपाल भ्रमण गर्न लागेको पनि जानकारी दिएका छन् । 

एकदिने औपचारिक भ्रमणका लागि लु शुक्रबार ढाकाबाट आएका थिए । अमेरिकी उपविदेशमन्त्री उजरा जिया नेतृत्वको टोलीले भारत र बंगलादेशको भ्रमण गरेको थियो । नेपालमा भने लु मात्रै आएका हुन् । एमसिसी संसद्बाट पारित हुनुअघि पनि उनी नेपाल आएका थिए । पछि शीर्ष नेताहरूसँग उनले टेलिफोन कुराकानीसमेत गरेका थिए ।

काठमाडौं आएलगत्तै उनले प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा, देउवासँग उनको निवासमा, ओलीसँग एमाले मुख्यालयमा र परराष्ट्रमन्त्री साउदसँग सिंहदरबारमा शिष्टाचार भेट गरेका थिए । ‘एमसिसी अनुदानअन्तर्गतको परियोजना अर्को महिनादेखि कार्यान्वयनमा जाँदै छ । यहाँसम्म आइपुग्दा तपाईंहरूको सहयोग रह्यो । यसका लागि धन्यवाद दिन आएको हुँ भन्ने कुरा उहाँले राख्नुभयो,’ एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराईले नयाँ पत्रिकासँग भने ।

नेपाललाई निरन्तर सहयोग गरेकोमा अमेरिकालाई शीर्ष नेताले धन्यवाद दिएका थिए । शीर्ष नेताहरूले अमेरिकी अनुदानको एमसिसी परियोजनाको कार्यान्वयनमा आफ्नो दलका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उनीहरूले नेपालको विकासमा एमसिसी अनुदानबाट निर्माण हुने विद्युतीय प्रसारण लाइन र सडक विस्तारले सहयोग पुर्याउने पनि जनाएका छन् । एमसिसी परियोजना कार्यान्वयनमा कतैबाट अवरोध नहुने उनको विश्वास थियो ।

अमेरिकी सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी जीवनसंगिनी सीता दाहालको निधनप्रति दुःख व्यक्त गर्दै समवेदना पुस्तिकामा श्रद्धाञ्जली दिएका छन् । प्रधानमन्त्रीसँगको शिष्टाचार भेटका क्रममा बालुवाटार पुगेका लुले प्रधानमन्त्री प्रचण्डप्रति सहानुभूति व्यक्त गरेका हुन् । उनले स्वर्गीय दाहालको तस्बिरमा पुष्पार्पणसहित मौनधारण पनि गरेका थिए । 
 

सुझावित समाचार