भारतीय खुला बजारमा थप ३०० मेगावाट विद्युत् बिक्री गर्ने अर्काे सम्झौता

बिहिबार, २८ असार, २०८०
डिजिटल संस्करण

नेपालले भारतको बिहार राज्यसँग जोडिएका १३२ केभीका चार अन्तरदेशीय प्रसारण लाइन प्रयोग गरेर भारतीय इनर्जी एक्सचेन्ज मार्केटमा थप ३०० मेगावाट विद्युत् बिक्री गर्ने भएको छ । नेपालले रामनगर–गण्डक, रक्सौल–परवानीपुर, कटैया–कुसाह र कटैया–कुसाह–२ गरेर चार अन्तरदेशीय प्रसारण लाइनबाट बिजुली भारतीय इनर्जी एक्सचेन्ज मार्केटमा बिक्री गर्ने भएको हो । 

अहिले नेपाल विद्युत् प्राधिकरणले भारतीय इनर्जी एक्सचेन्ज मार्केटमा बोलकबोलमार्फत ४५२ मेगावाट विद्युत् बिक्री गर्दै आएको छ । त्यसका लागि ४०० केभीको ढल्केवर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन प्रयोग भइरहेको छ । यसअघि उक्त प्रसारण लाइन इनर्जी बैंकिङअन्तर्गत भारतको बिहार राज्यसँग गरिने विद्युत् आदान–प्रदानमा हुँदै आएको थियो । अब भने भारतको प्रतिस्पर्धी बजारमा विद्युत् बिक्री गर्दा पनि उक्त प्रसारण लाइन प्रयोग गर्न पाइने भएको हो । यसका लागि गत २६ जुनमा भारतको विद्युत् व्यापार कम्पनी पिटिसी इन्डिया र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) भइसकेको छ ।

यद्यपि, खुला बजारमा प्रतिस्पर्धी मूल्यमा विद्युत् बिक्री गर्ने भएकाले यस सम्झौतामा पिपिएदर छैन । भारतको खुला बजारमा १५–१५ मिनेटको ब्लक गरेर दैनिक ९६ ब्लकमा विद्युत् बिक्री गरिन्छ । ती सबै ब्लकमा फरक–फरक दर हुन्छ । पिटिसी इन्डियाले प्राधिकरण र भारतीय खुला बजारको बीचमा मध्यस्थकर्ता (ट्रेडर)को रूपमा काम गर्नेछ । सोहीअनुसार नै पिटिसी इन्डियासँग सम्झौता भएको प्राधिकरणको व्यापार विभाग प्रमुख प्रवल अधिकारीले बताए । पिटिसी इन्डिया भारतको निजी क्षेत्रको विद्युत् व्यापार कम्पनी हो । अब यसका लागि प्राधिकरणले निश्चित आयोजनालाई स्रोत देखाएर भारतमा प्रस्ताव पठाउनुपर्नेछ । त्यहाँबाट स्वीकृत भएर आएपछि यसअन्तर्गत विद्युत् निर्यात हुनेछ । यस सम्झौताअनुसार यही बर्खामा विद्युत् निर्यात गर्ने काम भइरहेको प्राधिकरणको भनाइ छ । 

अहिले भारतमा विद्युत् निर्यात गर्न ४०० केभीको ढल्केवर–मुजफ्फरपुर अन्तरदेशी प्रसारण लाइन प्रयोग गरेर ८ सयदेखि १ हजार मेगावाटसम्म विद्युत् निर्यात गर्न सकिन्छ । यद्यपि, उक्त प्रसारण लाइन प्रयोग गरेबापत प्राधिकरणले ह्विलिङ चार्ज भने तिर्नुपर्छ । प्रतियुनिट ४० देखि ५० पैसा(भारु) दरले ह्विलिङ चार्ज तिर्ने गरी उक्त सम्झौता भएको प्राधिकरणको विद्युत् व्यापार विभाग प्रमुख प्रबल अधिकारीले बताए । ढल्केवर–मुजफ्फरपुर प्रसारण लाइनमा पनि प्राधिकरणले सोही दिनमा ह्विलिङ चार्ज तिर्नुपर्छ । 

गत फागुनमा भारतमा सम्पन्न नेपाल भारत ऊर्जासचिवस्तरीय बैठकमा बिहारसँग जोडिएका प्रसारणलाइन प्रयोग गरेर नेपालको विद्युत् भारतमा निर्यात गर्न दिने सहमति भएको थियो । सोहीअन्तर्गत रहेर प्राधिकरण र पिटिसी इन्डियाबीच यस्तो सम्झौता भएको हो । पिटिसी इन्डियाका अध्यक्ष तथा प्रबन्ध निर्देशक राजीवकुमार मिश्रले पनि बिहारसँग जोडिएका नेपाल भारत अन्तरदेशीय प्रसारण लाइनमार्फत ३०० मेगावाटसम्म विद्युत् आयात गर्न सकिने गरी सम्झौता भएको बताएका छन् । 

सुझावित समाचार