राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र चीन सरकारको नेसनल डेभलपमेन्ट एन्ड रिफर्म कमिसन (एनडिआरसी)का उपाध्यक्ष छोंग लियांगबीच भेटवार्ता भएको छ ।
भेटमा योजना आयोग र एनडिआरसीका बीचमा सन् २०१८ र २०१९ मा भएका सम्झौताअनुसार कार्यक्रमहरूमध्ये सम्पन्न हुन बाँकी कार्यक्रमलाई द्रुत गतिमा अगाडि बढाउने समझदारी भएको छ । नेपाल आगामी १६औँ योजना तर्जुमा गर्न गइरहेको सम्बन्धमा आगामी दिनमा चिनियाँ समकक्षी निकाय एनडिआरसीको अनुभव सेयर गर्ने र प्राविधिक सहयोग उपलब्ध गराउने विषयमा पनि छलफल भएको थियो ।
त्यसैगरी, आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र चाइना इन्टरनेसनल डेभलपमेन्ट एजेन्सी (सिआइडिसिए)का उपमन्त्री डेङ बोगिङबीच पनि भेटवार्ता भएको छ । उक्त भेटवार्तामा चीनले नेपाललाई सहयोग गर्ने विभिन्न कार्यक्रम तथा परियोजनाको कार्यान्वयन प्रगति सम्बन्धमा छलफल भएको थियो । साथै, पहिले समझदारी गरिएका प्रमुख कनेक्टिभिटीसँग सम्बन्धित आयोजनालाई छिटो अघि बढाउनका लागि दुवैतर्फबाट गर्नुपर्ने पूर्वतयारीका कार्यहरू वेलैमा सम्पन्न गर्नेबारे छलफल भएको थियो ।