मजदुरमाथि निर्घात कुटपिट गर्नेविरुद्ध ज्यान मुद्दा

बुधबार, २७ असार, २०८०
डिजिटल संस्करण

मजदुरमाथि निर्घात कुटपिट गर्ने मोरङको विराटनगर महानगरपालिका–४ का १९ वर्षीय आयुष भेटवाल, कुशल भेटुवाल र रोशन कार्कीविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ । आरती स्टिल उद्योगका मजदुर २७ वर्षीय पवन साहलाई उनीहरूले सांघातिक आक्रमण गरी बेहोस बनाई सडक किनारमा फालेर भागेका थिए । प्रहरीले आयुषलाई पक्राउ गरिसकेको छ । कुशल र रोशन भने फरार छन् ।

मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले फरार रहेका दुवैजनाको खोजी भइरहेको बताए । ‘पक्राउ परेकामाथि अनुसन्धान भइरहेको छ, अदालतबाट म्याद थप भएको छ,’ उनले भने, ‘फरार दुईजनालाई चाँडै समात्छौँ । घटना निकै क्रूर देखिन्छ ।’ 

स्टिल उद्योगमा कार्यरत साह काम सकेर सधैँझैँ साइकलमा विराटनगर महानगरपालिका– ६ स्थित घर फर्कँदै थिए । २० असार साँझ ८ बजेतिर विराटनगर– ४ स्थित कोसी राजमार्ग दूध फारम चोकमा पुग्दा उनीमाथि कुटपिट भएको थियो । बा.१५च ३४४५ नम्बरको कारमा सवार विराटनगर– ४ का १९ वर्षीय आयुषले साइकल रोक्दै साहको कन्चटमा मुक्का प्रहार गरे ।

साह सडकमै ढले, अचेत भए । सिसिटिभीको फुटेज हेर्दा भेटवालले कारमा रहेका अर्का व्यक्तिलाई बोलाएर साहलाई घिसारेर सडक–किनारमा ल्याएर छाडेको देखिन्छ । साहमाथि मुक्का प्रहार भएको घटनाको सिसिटिभी फुटेज सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले आयुषसहित उनका भाइ १८ वर्षीय कुशल र तेह्रथुम घर भएका ३० वर्षीय रोशनविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दामा उजुरी दर्ता गरेर अनुसन्धान थालेको छ ।

साहको एउटै गल्ती थियो, उत्तरतर्फबाट आउँदै गरेको कारको विपरीत दिशाबाट साइकलबीच सडकमा कुदाउनु । कोसी अस्पतालमा उपचार गराएर साह घर फर्किसकेका छन् । उनले आफूमाथि किन र कसरी आक्रमण भयो भनेर थाहा नपाएको बताए । ‘काम सकेर साइकलमा घर फर्कँदै थिएँ, रोकिएको गाडीलाई कटाएर आफ्नो बाटो जाँदै थिएँ,’ उनले भने, ‘पछि कसरी आक्रमण भयो थाहा पाइनँ, होस आउँदा प्रहरीको भ्यानमा थिएँ ।’ 

See More On

सुझावित समाचार