एमालेको विरोधपछि मधेस प्रदेश सभा बैठक स्थगित भएको छ । सरकारले अर्बौँ रुपैयाँ रकमान्तर गरेको भन्दै मुख्यमन्त्री सरोजकुमार यादवले जवाफ दिनुपर्ने माग गर्दै एमालेले शनिबार बैठक अवरुद्ध गरेको हो ।
एमाले प्रमुख सचेतक लखनदास तत्माले अर्थमन्त्री सञ्जयकुमार यादवले बजेट भाषणपछि करोडौँ रकम आफ्नो जिल्लामा रकमान्तर गरेको, बिचौलियाबाट पाँचदेखि १० प्रतिशत कमिसन लिएर रेडबुकमा योजना समावेश गराएको, कमिसन नदिने स्थानीय तहमा प्रदेश सरकारले ससर्तको पैसा नपठाएकोलगायतका कारण बैठक अवरुद्ध गर्नुपरेको बताए ।
अर्थमन्त्री यादवले आर्थिक सुशासनलाई खिल्ली उडाएको भन्दै त्यसको जवाफ मुख्यमन्त्री यादवले नदिएसम्म आफूहरूले सभा चल्न नदिने एमालेका उपनेता दीपेन्द्र ठाकुरले बताए । एमालेका सांसदले उठेर विरोध गरेपछि सभामुख रामचन्द्र मण्डलले १० मिनेटका लागि बैठक स्थगित भएको घोषणा गरेका थिए ।
सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलबीच रकमान्तर गरिएको रकमको विषयमा छानबिन गर्न समिति गठन गर्ने विषयमा छलफल भएको छ । तर, समिति अझै गठन हुन सकेको छैन । आइतबार बिहान ११ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।
छानबिन समिति गठन र रकमान्तरको लिस्ट सार्वजनिक गर्नुपर्ने आफूहरूको माग रहेको एमाले उपनेता ठाकुरले बताए । असार मसान्तभित्र प्रदेश सरकारले ल्याएको बजेट सभाबाट पास गराउनुपर्ने संवैधानिक व्यवस्था रहेकाले त्यसलाई मध्यनजर गर्दै बजेट ल्याएको २३औँ दिनमा प्रदेश सभा बैठक बोलाइएको थियो ।