कोसीमा कांग्रेस नेतृत्वको पहिलो सरकार, उद्धव थापा पाँचौँ मुख्यमन्त्री

शुक्रबार, २२ असार, २०८०
डिजिटल संस्करण

सरकार गठन कठिन भएपछि सभामुखको समेत हस्ताक्षर जुटाएर कोसी प्रदेशमा कांग्रेस नेता उद्धव थापा मुख्यमन्त्रीमा नियुक्त भएका छन् । उनी कोसीका पाँचौँ र कांग्रेसका पहिलो मुख्यमन्त्री हुन् । नवनियुक्त मुख्यमन्त्री थापाको शुक्रबार बिहान ९ बजे शपथ हुँदै छ । उनले एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ । 

कोसी प्रदेश सभामा दुवै गठबन्धनको अंक बराबरी (४६–४६­ ) भएपछि सभामुख बाबुराम गौतमसमेतको समर्थनमा प्रदेशका प्रमुख पर्शुराम खापुङले थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । ९३ सदस्यीय सभामा बहुमतका लागि ४७ प्रदेश सभा सदस्यको खाँचो हुन्छ । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख खापुङले थापालाई मुख्यमन्त्री पदमा नियुक्त गरेका छन् । उनले १७ असारमा नयाँ सरकार गठनका लागि २१ असारसम्मको समय दिएर दलहरूलाई आह्वान गरेका थिए । सरकार गठनमा सभामुखको भूमिकालाई लिएर विपक्षी एमालेले प्रश्न उठाएको छ । 

निर्णायक अवस्थामा सभामुखले मत दिने पाउने व्यवस्थाबमोजिम भन्दै कांग्रेस–माओवादी–एकीकृत समाजवादी–जसपा गठबन्धनले ४७ सांसदको हस्ताक्षर बुझाएपछि प्रदेश प्रमुख खापुङले कांग्रेस संसदीय दलका नेता थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । ९३ सदस्यीय प्रदेश सभामा कांग्रेस–माओवादी–एकीकृत समाजवादी–जसपा र एमाले–राप्रपा गठबन्धनसँग ४६–४६ सांसद छन् । 

नवनियुक्त मुख्यमन्त्री थापाले आफू संविधानअनुसारको प्रक्रिया पूरा गरेर मुख्यमन्त्रीमा नियुक्त भएको र ३० दिनभित्र प्रदेश सभाबाट सहजै विश्वासको मत लिन सफल हुने बताए । उनले आफूहरूले सभामुखलाई कुनै विवादमा नतानेको र सबै काम संवैधानिक प्रक्रियाअनुसार भएको प्रस्टीकरण दिए । सभामुख गौतमले पनि आफूले पुरानै नजिरलाई बुझेर हस्ताक्षर गरेको बताए । 

कोसीमा पहिलोपटक कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पाएको छ । कोसीमा एमालेका शेरधन राई, एमालेकै भीम आचार्य र एकीकृत समाजवादीका राजेन्द्र राई पहिलो कार्यकालमा मुख्यमन्त्री भए । संसद्को दोस्रो कार्यकालमा एमालेका हिक्मत कार्की मुख्यमन्त्री भए । माओवादी र जसपाले साथ छाडेपछि अल्पमतमा परेका कार्की नेतृत्वको सरकार १५ असारमा ढलेको थियो । 

सभामुखको हस्ताक्षरमा सरकार संवैधानिक सर्वोच्चताविपरीत : शेखर
सभामुखको हस्ताक्षरमा कोसी सरकार गठन भएपछि कांग्रेस नेता डा. शेखर कोइरालाले आपत्ति जनाएका छन् । उनले बिहीबार साँझ सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै सभामुख आफैँले हस्ताक्षर गरेर सरकार गठनमा समर्थन गरेको अवस्था संवैधानिक सर्वाेच्चता र लोकतान्त्रिक संसदीय पद्धतिको सिद्धान्तविपरीत हुन जाने बताएका हुन् । ‘संसद्‌मा मत बराबर भए निर्णायक मत जाहेर गर्नेबाहेक कार्यपालिका गठन, विघटन र समर्थनमा सक्रिय रही हस्ताक्षर गर्नु संसदीय लोकतन्त्रको मर्यादा, अभ्यास र कानुनी शासनको विपरीत हुन जान्छ,’ उनले लेखेका छन् । 

अदालत जाने एमालेको चेतावनी 
दल त्याग गरेको घोषणा गरिसकेका सभामुख मुख्यमन्त्री नियुक्तिमा साझेदार बनेको भन्दै प्रमुख प्रतिपक्षी एमालेले अदालत जाने चेतावनी दिएको छ । एमाले कोसीका प्रमुख सचेतक रवेतीरमण भण्डारीले मुख्यमन्त्री चयनमा सभामुखको हस्ताक्षर प्रयोग गरेर गैरसंवैधानिक काम भएको भन्दै त्यसविरुद्ध संसद् र अदालत जाने बताए । ‘प्रदेश प्रमुखको निर्णय गैरसंवैधानिक छ, हामी यसविरुद्ध अदालत जान्छौँ,’ उनले भने । नयाँ सरकार गठन हुनुअघि नै एमालेले यसबारे प्रदेश प्रमुखलाई जानकारी गराएको थियो । एमाले कोसीका संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहितको टोलीले सभामुखलाई सांसदमा गणना गर्न नहुने र गरेमा सरकार असंवैधानिक हुने भन्दै ज्ञापनपत्र पनि बुझाएको थियो । 

शुक्रबार सानो आकारको मन्त्रिपरिषद्
मुख्यमन्त्री थापाले शुक्रबार सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी गरेका छन् । थापाले गठबन्धनमा भएको छलफलको सहमतिअनुसार मन्त्रिपरिषद् विस्तार गर्ने बताए । कोसीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित नौ मन्त्रालय छन् । प्रदेश सभामा कांग्रेसका २९, माओवादीका सभामुखसहित १३, एकीकृत समाजवादीका चार र जसपाका एक सांसद छन् । अर्काे गठबन्धनमा एमालेका ४० र राप्रपाका ६ सांसद छन् । 

See More On

सुझावित समाचार