कांग्रेसका जिल्ला सभापतिहरूले पार्टीका गतिविधि शिथिल हुन थालेको भन्दै पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन्।
बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको जिल्ला सभापतिहरूको बैठकमा बोल्ने सभापतिहरूले पार्टीका गतिविधिमा शिथिलता आउन थालेको धारणा राखेका हुन्।
उनीहरूले पार्टी गतिविधिमा शिथिलता आएको भन्दै पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन्। आ–आफ्नो धारणा राख्ने क्रममा सभापतिहरूले पार्टीलाई पुनः जागरण गर्नका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने बताएका कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए। उनले सरकारमा मन्त्री रहेका सभापतिहरूले आफूले सरकारमा भोगिरहेको अप्ठ्याराबारे कुरा राखेका र सरकारमा नभएका जिल्ला सभापतिहरूले भने सरकारसँग आफूहरूको कुनै समन्वय नभएको गुनासो राखेका बताए।
जिल्ला सभापतिहरूको बैठकमा क्रियाशील सदस्यता र कांग्रेस सदस्यताको वितरण, नवीकरण र अभिलेखीकरणको विषय एजेन्डा छ। त्यस्तै पार्टीले विधानबमोजिम गर्नुपर्ने पार्टीका विभिन्न तहका सम्मेलनका विषय र पार्टी सञ्चालन तथा व्यवस्थापनलगायतका अन्य विविध सांगठनिक विषय बैठकको एजेन्डा छ।