विपक्षी दलहरुको अवरोध हटेसँगै सोमबारबाट बागमती प्रदेश सभा बैठक सुचारु भएको छ। बजेटमा भएका त्रुटिहरु सच्याएर जान सत्ता साझेदार दलहरु सहमत भएसँगै प्रदेश सभा बैठक सूचारु भएको हो।
गत असार १२ गतेदेखि प्रदेश सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित प्रतिपक्षी दल राप्रपा र नेमकिपाले अवरोध गर्दै आएका थिए। सोमबार सर्वदलीय बैठक बसेर सहमति गरेपछि सदन सूचारु भएको हो।
अवरोध हटेसँगै बैठकमा प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको विनियोजित बजेटमाथि छलफल प्रारम्भ भएको थियो। प्रदेश सभा बैठक सुरु भएलगत्तै प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा तामाङलाई बोल्ने समय दिएका थिए।
मन्त्री लामाले प्रदेश सभा बैठकमा बोल्दै नियतवस बजेट विभेदकारी नल्याएको स्पष्ट पारे। उनले भुलवस कहिँ कतै बजेटमा त्यस्तो समस्या देखिएको भए सच्याएर जाने र प्रतिपक्षीका मागहरुलाई सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरे।
बैठकमा बजेटमाथि छलफल गर्दै एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया, राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापा, नेमकिपाकी सांसद सृजना सायजूले बजेटप्रति आफ्नो धारणा राखेका थिए।
मन्त्री लामाको प्रतिबद्धतापछि आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफलमा बोल्दै प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता उद्धब थापाले बजेट अन्यायपूर्ण र विभेदकारी भएकाले विरोध गरेको बताए।
एमाले नेता थापाले सरकारबाट बजेटमा भएका त्रुटिहरु सच्याउने प्रतिबद्धता आएकाले बैठक सुचारु गर्ने सहमति भएको दावी गरे । यस्तै राप्रपा संसदीय दलका नेता थापाले संसदलाई नियमित संचालन गरी बजेटलाई पारित गर्नुपर्ने बाध्यताका कारण संसदको अवरोध हटेको स्पष्ट पारे। उनले सरकारले बजेट पारित गर्ने समयसम्म बजेटमा प्रतिपक्षको सुझाव नसमेटे सशक्त रुपमा प्रतिरोध गर्ने चेतावनी समेत दिए।
बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा तामाङले बजेटमाथिको छलफलको क्रममा प्रदेशसभाका सदस्यहरुले उठाएका जिज्ञासाहरुको जवाफ दिएका थिए । उनले सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ल्याएको बजेटलाई सन्तुलित र समानुपातिक एवं व्यवहारिक रुपमा कार्यान्वयन गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
बजेटमाथिको छलफलपछि मन्त्री लामाले आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्नेसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० पेस गरेका थिए । प्रदेश सभाको अर्को बैठक मंगलबार दिउँसो ३ बजे बस्नेगरी स्थगित भएको छ ।