दलितका लागि छुट्टै बजेटको व्यवस्था नगरेकोमा सांसद सुनारको आपत्ति

सोमबार, १८ असार, २०८०
डिजिटल संस्करण

राष्ट्रिय सभाका सांसद भुवनबहादुर सुनारले सरकारले अहिलेसम्म पनि दलितहरूका लागि किटान गरेर बजेटको व्यवस्था गर्न नसकेको भन्दै आपत्ति जनाएका छन्।

सोमबार राष्ट्रिय सभा बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले २३ प्रतिशत जनसंख्या रहेका दलितहरूका लागि किटानीका साथ बजेटको व्यवस्था नगरिएको भन्दै असन्तुष्टि व्यक्त गरे।

सांसद सुनारले कर्णाली प्रदेशमा बजेटको माग गर्दै प्रदर्शन गरिरहेका दलितहरूलाई नियन्त्रणमा लिने क्रममा घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराए।

‘कर्णाली प्रदेशमा ठूलो दलित समुदायको जनसंख्या छ। २३ प्रतिशतभन्दा बढी जनसंख्या भएको समुदायका लागि राज्यले किटान गरेर बजेट छुट्याउँदैन। पहुँचका आधारमा बजेटहरू विनियोजन हुने, दूरदराज र विपन्न बस्तीहरूलाई पूरै बिर्सने अवस्था छ। कर्णाली प्रदेशमा बजेटको माग गर्दा दर्जनौँ दलितहरू प्रहरी प्रशासनका कुटाइका कारण घाइते हुनुपरेको छ। उनीहरूका लागि पनि आवश्यक बजेटको व्यवस्था गर्न म सरकारसँग माग गर्दछु,’ उनले भने।

सांसद सुनारले पहुँच हुनेहरूका लागि मात्रै सरकारले बजेट विनियोजन गरेको आरोप लगाए।

सुझावित समाचार