सरकारले स्याउमा भ्याट लिँदा घट्यो आयात

बिहिबार, १४ असार, २०८०
डिजिटल संस्करण

उत्तरी नाका तातोपानी भएर नेपाल भित्रिने स्याउ, आलु र प्याजको आयात घटेको छ । सरकारले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने गरी विदेशी वस्तुमा मूल्यअभिवृद्धि कर (भ्याट) जोडेपछि आयात घटेको हो । तिब्बतको जाङ्मु पोर्ट (खासा) भएर तातोपानी आउने स्याउ, आलु, प्याज र लसुनको परिमाण आधा घटेको तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत दयानन्द केसीले जानकारी दिए । ‘फलफूलजन्य वस्तु मात्रै होइन, लत्ताकपडा, जुत्ता, इलेक्ट्रिक सामान र अन्य तयारी सामग्रीको आयात पनि आधा घटेको छ,’ उनले भने ।

भूकम्पपछि खुला उत्तरी नाकाबाट फलफूलजन्य सामान र रसुवाको टिमुरेबाट लत्ताकपडा, जुत्ता, इलेक्ट्रिक सामान तथा अन्य तयारी सामग्रीको आयात बढी हुने गरेको छ । स्याउ, आलु र प्याजमा २९ प्रतिशत राजस्व लाग्छ । जसमा भ्याट १३, भन्सार महसुल १०, अग्रिम आयकर पाँच र अन्य एक प्रतिशत लिने गरिएको छ । यसअघि, १५ प्रतिशत मात्रै कर लिइन्थो । आर्थिक वर्ष ०८०/८१ को बजेट, नीति तथा कार्यक्रमपछि १३ प्रतिशत भ्याट जोडेर राजस्व असुल्न थालिएको छ । गत वर्ष स्याउबाट २५ करोड राजस्व उठाएको तातोपानी भन्सारले यस वर्ष ५० करोड उठाउने लक्ष्य लिएको छ । तर, केसीले भ्याटबाट व्यापार तर्सिएको बताए । 

नेपाली व्यापारीले चिनियाँ बजारसमक्ष स्याउको मूल्यमा पहिल्यै सम्झौता गरेकाले भ्याट जोडिँदा नोक्सानी बेहोर्नुपर्ने अवस्था छ । नेपाल चेम्बर अफ कमर्स भोटेकोसी शाखा अध्यक्षसमेत रहेका व्यापारी फुनु शेर्पाले भ्याटका कारण चिनियाँ स्याउ, आलु र प्याज आयात गर्न कठिन हुने बताए । ‘मूल्यअभिवृद्धि कर समायोजन गर्न चिनियाँ व्यापारी तयार भए भने समस्या आउँदैन । तर, उनीहरू यो विषयमा सकारात्मक छैनन्,’ उनले भने, ‘३० टन स्याउको पाँच लाख भन्सार महसुल तिर्दै आएका व्यापारीले भ्याट थप भएपछि १० लाख तिर्नुपर्छ । भूकम्पपछि खुलेको नाकाबाट सिजनमा दैनिक १० गाडीसम्म स्याउ आयात हुन्थ्यो । आजभोलि मुस्किलले तीन गाडी स्याउ आयात हुन्छ ।’ 

 निकासी ठप्प
यसैगरी, नाकाबाट निकासी भने ठप्प छ । १८ वैशाखदेखि तातोपानीबाट निकासी खुला भएको थियो । सुरुको दिनमा ४२ लाखको चार गाडी सामान खासा पठाइएको थियो । त्यसयता नाकाबाट नेपाली या चिनियाँ कोही पनि आवतजावत गरेका छैनन् । खासा क्षेत्रमा पुनर्निर्माण जारी रहेकाले आउँदो नोभेम्बरबाट नेपाली गाडी र सिन्धुपाल्चोकवासीलाई खासा क्षेत्र प्रवेश गर्न दिने चिनियाँ तयारी छ।

भूकम्पले भत्किएको खासा भ्यान पार्किङ, सरकारी कार्यालय र निजी आवास निर्माणकार्य जारी छ । नेपाली पक्षको बारम्बारको दबाबका कारण चिनियाँ अधिकारीले तातोपानीपारि लिपिङ क्षेत्रमा नेपालतिरका स्थानीयलाई लक्षित गरी मिनीमार्केट सञ्चालन गर्ने तयारी गरेको छ । साना व्यापार गरेर गुजारा चलाउने स्थानीय भने नाका नचल्दा निराश छन् । 

See More On

सुझावित समाचार