न्यायपरिषद्को बैठक निष्कर्षविहीन
सत्तारूढ दलहरूले भागबन्डाका आधारमा सर्वाेच्च र उच्च अदालतमा न्यायाधीश नियुक्तिको तयारी गरेका छन् । भागबन्डाकै राजनीतिले लामो समयदेखि न्यायाधीश पद रिक्त छन् ।न्यायाधीश नियुक्तिका लागि सोमबार न्यायपरिषद्को बैठक बसे पनि सहमति जुट्न सकेन ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको अध्यक्षतामा सोमबार बसेको बैठकमा सहमति हुन नसकेपछि अर्को बैठक बुधबार बस्नेछ । परिषद्मा कानुनमन्त्री धनराज गुरुङ पदेन सदस्य छन् भने सर्वाेच्चका वरिष्ठ न्यायाधीश तथा दुई सदस्य छन् । स्रोतका अनुसार भावी प्रधानन्यायाधीशको समेत हिसाबकिताब गरेर सत्तारूढ दलहरूले सर्वाेच्चमा आफूनिकटलाई न्यायाधीश नियुक्तिको तयारी गरेका छन् ।
परिषद्ले गत वर्ष साउनमा उच्चका २७ न्यायाधीशका लागि आवेदन आह्वान गरेकोमा त्यसलाई टुंग्याउने परिषद्को तयारी थियो । तर, बैठकमा कुनै निष्कर्ष निस्केन । बैठकबाट निर्णय भएको भए पहिलोपटक न्यायाधीश नियुक्तिको निर्देशिकाअनुसार उच्चको न्यायाधीश नियुक्त हुने थिए । हाल सर्वोच्चमा ६ र उच्च अदालतमा ६ जना मुख्य न्यायाधीशको पद रिक्त छ ।
उच्चमा ४१ न्यायाधीश पद रिक्त छन् । जसमा सकेसम्म धेरै पार्टीनिकट कानुन व्यवसायीलाई नियुक्ति दिलाउन लागिएको स्रोतको दाबी छ । परिषद्ले १० दिनभित्र विवरण पेस गर्न भनी संविधान, परिषद् ऐन र न्यायाधीश नियुक्तिको निर्देशिकाबमोजिम आवेदन पेस गर्न १० साउन ०७९ मा सूचना प्रकाशित गरेको थियो । यसअनुसार अढाई सयभन्दा बढी आवेदन परिषद्मा परेको थियो । आवेदन दिनेमा सबैभन्दा बढी कानुन व्यवसायी थिए । आवेदनमध्ये परिषद्ले अन्तिम सूची तयार गरिसकेको छ ।
जिल्ला न्यायाधीश भट्टराईले दिए राजीनामा
जिल्ला अदालत अर्घाखाँचीका न्यायाधीश डा. श्रीकृष्ण भट्टराईले पदबाट राजीनामा दिएका छन् । आफैँले अयोग्य भनी प्रधानन्यायाधीशमा नियुक्त हुन नहुने भनी अडान लिएको मान्छे मातहत बसी काम गर्न नसकिने भन्दै उनले राजीनामा दिएका हुन् ।
‘मैले उहाँविरुद्ध उजुरी दिएको थिएँ । उहाँ योग्य हुनुहुन्न, न्यायाधीशको रूपमा उहाँको नियुक्ति र प्रधानन्यायाधीशमा नियुक्तिसमेत अवैध छ भनेर भनेको थिएँ । तर, संसदीय सुनुवाइ समितिले सुनेन । आफैँले अयोग्य भनेको मान्छेको मातहत, उहाँलाई प्रधानन्यायाधीश मानेर काम गर्न मलाई मेरो आदर्श र मान्यताले दिएन,’ भट्टराईले नयाँ पत्रिकासँग भने । आफूले नै कानुनी र नैतिक प्रश्न उठाएको कार्कीमातहत काम गर्न असहज भएको भन्दै उनले सोमबार नै राजीनामा दिएका हुन् ।