सरकार सत्ता टिकाउन लागिपर्‍यो : रवि लामिछाने

शुक्रबार, ८ असार, २०८०
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार सत्ता टिकाउन लागिपरेको टिप्पणी गरेका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सत्ता टिकाउनकै लागि प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारूढ गठबन्धनभित्रै अर्को मोर्चा बनाएको जिकिर गरे। राज्यका संयन्त्रहरूले राम्रोसँग काम गर्न नसकेपछि आफूले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनका लागि संसदीय विशेष समिति गठन गर्न माग गरे पनि सरकारले बेवास्ता गरेको उनको भनाइ छ।

‘त्यही गठबन्धनभित्र भएको ठूलो दलको नेता देशमै नभएको वेलामा सरकारभित्रै सहभागी दलहरू मिलेर अर्को मोर्चा बनाउनु अनि यी महत्वपूर्ण विषयहरू ओझेलमा पर्नु यसलाई अलि ध्यानमा राख्नुपर्छ कि भनेर मैले आज यो विषयमा जोड दिएँ,’ लामिछानेले भने।

राष्ट्रका महत्वपूर्ण मुद्दाहरूलाई छाडेर सरकार अलमलिएको उनको जिकिर छ। सभापति लामिछानेले भने, ‘सरकार अलमलिएको त भारत भ्रमणका पनि केही विषय थियो। हामीले केही प्रश्नहरू राखेका थियौँ। ती पनि अनुत्तरित भए। प्रधानमन्त्री धेरै कुरामा अल्झिनुभयो। गठबन्धनभित्र मिलाउने कुरामा, गठबन्धनभित्रै अझ केही तलमाथि पर्न लागेको हो कि भन्ने कुरामा प्रधानमन्त्रीको ध्यान गएको हो कि ?’

सुझावित समाचार