मोदीलाई राजकीय भ्रमणमा निम्त्याएर अमेरिकाले दिन खोजेको सन्देश

मंगलबार, ५ असार, २०८०
डिजिटल संस्करण

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनको निमन्त्रणामा अमेरिकाको राजकीय भ्रमणका लागि आज न्युयोर्क प्रस्थान गर्दै छन् । राजकीय भ्रमणका क्रममा प्रधानमन्त्री मोदी २४ जुनसम्म अमेरिकामा रहनेछन् । अमेरिकाले पछिल्लोपटक सन् २००९ मा तत्कालीन भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहलाई राजकीय भ्रमणको निमन्त्रणा गरेको थियो । 

सन् २०१४ मा पहिलोपटक प्रधानमन्त्री भएयता मोदीले अमेरिकाको राजकीय भ्रमण गरेको यो नै पहिलो हो । यद्यपि, उनको अमेरिका भ्रमण भने यो छैटौँ हो । उनलाई ह्वाइट हाउसमा २१ तोपको सलामी दिइनेछ । उनी अमेरिकी राष्ट्रपतिको पेन्सिलभेनिया एभेन्यूस्थित अतिथि गृहमा रहनेछन् ।

बदलिँदो विश्व भूराजनीतिक परिदृश्यबीच अमेरिकाले भारतलाई निकै महत्व दिन थालेको छ । मोदीलाई राजकीय भ्रमणमा बोलाएर बाइडेन भारत अमेरिकाका लागि महत्वपूर्ण मित्र रहेको सन्देश दिन चाहन्छन् । बाइडेनबाट राजकीय भ्रमणको निम्तो पाउने मोदी तेस्रो व्यक्ति हुन् । 

यसअघि फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँ र दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलले मात्रै राजकीय भ्रमणको निम्तो पाएका छन् । मोदीको यो भ्रमणमा सुरक्षा तथा महत्वपूर्ण प्रविधिलगायत क्षेत्रमा थुप्रै सहकार्यका सम्झौता हुने बताइए पनि के–कस्ता सम्झौता एवं सहयोग आदानप्रदान हुनेछन्, त्यो भने खुलाइएको छैन ।

मोदी पहिले अमेरिकाको न्युयोर्क पुग्नेछन् र २१ जुनमा संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजना हुने अन्तर्राष्ट्रिय योग दिवस समारोहको नेतृत्व गर्नेछन् । उनले त्यहाँ सम्बोधन गर्ने कार्यक्रम पनि छ । त्यसपछि २२ जुनमा उनी वासिंटन डिसी जानेछन्, जहाँ उनलाई ह्वाइट हाउसमा औपचारिक स्वागत गरिनेछ र राष्ट्रपति बाइडेनसँग उच्चस्तरीय भेटवार्ता गर्नेछन् ।

सोही दिन अमेरिकी राष्ट्रपतिले प्रधानमन्त्री मोदीको सम्मानमा राजकीय रात्रिभोज आयोजना गर्नेछन् । मोदीले सिनेटका सभामुख चाल्र्स सुमर र हाउस अफ रिप्रेजेन्टेटिभका सभामुख केभिन म्याकार्थीको निमन्त्रणामा २३ जुनमा अमेरिकाको दुवै सदनको संयुक्त सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । यसै दिन मोदी भारतीय मूलकी अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस र विदेशमन्त्री एन्टोनी बिल्केनले संयुक्त रूपमा आयोजना गरेको  दिवाभोजमा सरिक हुनेछन् ।

औपचारिक कार्यक्रमका अतिरिक्त मोदीले अमेरिकाका प्रतिष्ठित व्यवसायी, सिइओ, पेसाकर्मी एवं अन्य सरोकारवालासँग पनि छलफल गर्ने कार्यक्रम छ । अमेरिकामा रहँदा उनले भारतीय डायस्पोराका सदस्यलाई पनि भेट्नेछन् । अमेरिकाको राजकीय भ्रमण सकेर २४ जुनमा मोदी इजिप्टको राजकीय भ्रमणका लागि कायरो प्रस्थान गर्ने कार्यक्रम छ ।

सुझावित समाचार