एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादी मोर्चालाई सत्ता टिकाउने मोर्चा मात्र नबनाउन नेताहरूलाई आग्रह गरेका छन्।
सोमबार काठमाडौंमा आयोजित समाजवादी मोर्चा नेपाल घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खनालले सो मोर्चाले सबै वामपन्थीलाई एकताबद्ध गर्नुपर्ने बताए। देशभरका वामपन्थी, समाजवादी र क्रान्तिकारीहरूलाई एकताबद्ध नगरेसम्म देशमा सही विकल्प निर्माण हुन नसक्ने उनले प्रस्ट पारे।
‘अहिले जुन प्रकारको यो मोर्चा बनेको छ, मलाई लाग्छ यो मोर्चाको निर्माण पहिलो पाइला हो । यो पहिलो पाइला मात्रै हो । सिंगो देशका समस्त देशभक्तहरूलाई, समस्त वामपन्थीहरूलाई, समस्त समाजवादीहरूलाई, समस्त क्रान्तिकारीहरूलाई हामीले एकताबद्ध नगरेसम्म हाम्रो देशमा सही विकल्प निर्माण हुन सक्दैन,’ उनले भने ।
नेता खनालले देशमा भएका शोषण, दमन, अन्याय र अत्याचार समाप्त गर्ने एक मात्र विकल्प समाजवाद भएको दाबी गर्दै आफूहरू त्यसप्रति प्रतिबद्ध रहेको उल्लेख गरे।