बेलौरीका १३ प्रतिशत थारू समुदायमा सिकलसेल एनिमियाकाे समस्या

आइतबार, ३ असार, २०८०
डिजिटल संस्करण

कञ्चनपुरको बेलौरीका १३ प्रतिशत थारू समुदायमा सिकलसेल एनिमिया रोग देखापरेको छ। 

बेलौरी नगरपालिकाका १३ प्रतिशत थारू समुदायमा सिकलसेल एनिमिया रोग देखापरेको हो। शनिबारदेखि बेलौरी नगरपालिका र स्वास्थ्य कार्यालयले थारू समुदायमा सुरु गरेको सिकलसेल एनिमिया रोग शिविरमा चेकजाँच गर्न आएकामध्ये १३ प्रतिशतमा उक्त रोग देखापरेको हो। 

बेलौरी नगरपालिकाका स्वास्थ्य शाखा सिअहेव मानबहादुर चन्दले थारू समुदायलक्षित गरेर सुरु गरिएको निःशुल्क सिकलसेल एनिमिया चेकजाँचमा पहिलो दिन एक सय ९१ जनामा परीक्षण गर्दा २५ जनामा प्रारम्भिक सिकलसेल एनिमिया पहिचान भएको बताए। 

उनका अनुसार रगतबाट स्क्रेमिन टेस्मामा २५ जनामा सिकलसेल एनिमिया देखापरेको छ। ‘अहिले हामीले गाउँमै परीक्षण गर्दा कुल परीक्षणको १३ प्रतिशतमा देखापर्याे,’ उनले भने, ‘अब थप इलेक्ट्रोफरेन्सीबाट महाकाली अस्पतालमा चेकजाँच गर्न पठाउँछौँ।’

उनले १० वर्षदेखि २५ वर्ष उमेर समूहका मानिसलाई लक्षित गरेर परीक्षण गरिएको बताए। थारू समुदायमा वंशाणुगत सिकलसेल एनिमिया रोग निदानका लागि परीक्षण सुरु गरिएको उनले बताए।

‘यो रोग लागेका पुरुष वा महिलाबीच विवाह ब्रेक गर्नुपर्छ,’ उनले भने, ‘दुवैलाई रोग भए थप संक्रमण फैलिन्छ।’ १० दिनसम्म सञ्चालन हुने सिकलसेल एनिमिया शिविरमा पाँच हजारको परीक्षण गर्ने लक्ष्य छ। 

बेलौरी नगरका प्रमुख पोतीलाल चौधरीले थारू समुदायमा वंशाणुगत सिकलसेल एनिमिया रोग निदानका लागि शिविर सञ्चालन गरिएको बताए। आगामी दिनमा श्रीपुर स्वास्थ्य केन्द्रमै परीक्षण मेसिन ल्याउने र रोकथामका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताए। 
 

सुझावित समाचार