मर्स्याङ्दी गाउँपालिकामा प्लास्टिकजन्य वस्तु प्रतिबन्धित

बिहिबार, ३२ जेठ, २०८०
डिजिटल संस्करण

लमजुङको मर्स्याङ्दी गउँपालिकामा प्लास्टिकका सामग्री प्रयोगमा प्रतिबन्ध लगाइएको छ । गाउँपालिकाको जेठ २५ गते बसेको कार्यपालिका बैठकले प्लास्टिकका सामग्री प्रयोगमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए।

‘सफा मर्स्याङ्दी अभियानलाई सार्थक बनाउन प्लास्टिकजन्य वस्तुको प्रयोगलाई न्यूनीकरण गर्न यस्तो निर्णय गरेका हौँ,’ अध्यक्ष गुरुङले भने, ‘प्लास्टिकका भाँडाको विकल्पमा दुना–टपरी र स्टिलका भाँडा प्रयोगमा प्रोत्साहन गर्छौँ।’ निर्णय कार्यान्वयन गर्न पालिकाले बिहीबार सार्वजनिक सूचनासमेत जारी गरेको छ।

मर्स्याङ्दी गाउँपालिकाले चालू आर्थिक वर्षमा ‘सफा मर्स्याङ्दी’ अभियान सञ्चालन गरिरहेको छ । अभियानअन्तर्गत गाउँपालिकाले सबै गाउँ, टोल, बस्ती, बाटोघाटो सरसफाइ अभियान चलाउनुको साथै फोहोर संकलन र वर्गीकरण कार्य गरेको छ ।

अभियानलाई सफल बनाउन गाउँपालिकाको हरेक टोल, बस्तीहरू, संघसंस्थाहरू वरपर, सार्वजनिक स्थलहरू र खोलाहरूको सरसफाइ गरिएको छ। पालिकासँगै स्थानीय पनि लागिपरेका छन् ।

गाउँपालिकाले फोहाेर जथाभावी नफाल्न गाउँगाउँमा डस्टबिनको व्यवस्था गरेको छ । फोहाेर संकलन गरी प्रशोधन गरेर बिक्री गरी आम्दानीसमेत गरिएको गाउँपालिकाले जनाएको छ । यसका लागि गाउँपालिकाले आफैँ ट्याक्टर खरिद गरेर फोहोर संकलन क्यालेन्डर बनाएर काम गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत ताराबहादुर तामाङले बताए।

सुझावित समाचार