पूर्वी र मध्य नेपालमा भित्रियो मनसुन, तर पश्चिमी वायु बलियो बन्दा पश्चिममा सर्न सकेन

बिहिबार, ३२ जेठ, २०८०
डिजिटल संस्करण

कोसी, पूर्वी मधेस, बागमतीका अधिकांश भूभाग र गण्डकीका पूर्वी क्षेत्रमा मनसुनी वर्षा

हिन्द महासागरमा विकास भई बंगालको खाडी हुँदै दक्षिण–पूर्वबाट नेपालमा बुधबार मनसुन भित्रिएको छ । औसतभन्दा एक दिन ढिलो प्रवेश गरेको जलवाष्पयुक्त हावा बोकेको न्यूनचापीय प्रणालीको असर पूर्वी नेपालदेखि तराईमा मधेसको मध्य क्षेत्रसम्म र पहाडी क्षेत्रमा गण्डकीको पोखरासम्म देखिएको छ । नेपालमा सरदर १३ जुनमा मनसुन भित्रिने गरेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोसी, पूर्वी मधेस, बागमतीका अधिकांश भूभाग र गण्डकीका पूर्वी भूभागमा मनसुनी वर्षा सुरु भइसकेको छ । तर, यस वर्ष मनसुनी प्रणाली देशभर फैलिएर झरी हुन भने केही दिन लाग्ने देखिन्छ । 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार सामान्य अवस्थामा मनसुन देशभर फैलन एक सातासम्म लाग्ने गर्छ । जलवाष्पयुक्त हावा कति मात्रामा प्रवेश गरेको छ त्यही आधारमा मनसुन सक्रिय हुने सम्भावना रहन्छ । यसपटक भने पश्चिम नेपालमा पश्चिमी वायुको प्रभाव कायमै रहेकाले मनसुन त्यसतर्फ तत्काल विस्तार हुने सम्भावना छैन । 

‘पश्चिमी क्षेत्रमा अझै पनि पश्चिमी वायुको प्रभाव कायमै रहेकाले त्यता मनसुनी वायु जान नसकेको हो,’ मौसमविद् विनु महर्जनले भनिन्, ‘पश्चिमी वायुका कारण पश्चिम नेपालका पहाडी क्षेत्रमा बदली र हल्का वर्षा त भइरहेको छ । तर, तराईमा वर्षा गराउन सकेको छैन ।’ 

गत वर्ष भने औसतभन्दा नौ दिनअघि (२२ जेठ)मा नै मनसुन भित्रिएर बर्खे वर्षा भएको थियो । नेपालमा औसतमा २ अक्टोबरमा मनसुन अन्त्य हुने आकलन गरिन्छ  । 

अरब सागरमा बनेको ‘विपरजोय’ आँधीले ब्रेक गर्न सक्छ मनसुन
अरब सागरमा बनेको दुर्लभ विपरजोय नामक सामुद्रिक आँधीका कारण नेपालमा मनसुन ब्रेक गर्ने सम्भावना पनि छ । वैज्ञानिकहरूले अरब सागरमा बनेको शक्तिशाली चक्रवात बिहीबार जमिनमा ‘ल्यान्ड’ हुने आकलन गरेका छन्, त्यसको असर नेपालको पश्चिमी भूभागमा पनि पर्ने देखिन्छ । ‘असर कत्तिको पर्छ भनेर अहिले नै भन्न सकिने अवस्था त छैन ।

तर, पश्चिम नेपालमा केही असर पक्कै गर्छ,’ मौसमविद् झाले भने, ‘यदि आँधीको असर पर्‍यो भने मनसुन ब्रेक हुन सक्छ ।’ आँधीको असर नेपालमा परेमा मनसुन पश्चिमी क्षेत्रमा फैलन समय लाग्ने हुन्छ, जसले त्यस क्षेत्रमा मनसुनी वर्षा ढिलो हुनेछ । तर, सामुद्रिक आँधीका कारण हावाहुरीसँगै वर्षाको सम्भावना भने कायमै रहन्छ । न्यूनचापीय क्षेत्रको रेखा नेपालबाट दक्षिण सर्नुलाई मनसुन ब्रेक भनिन्छ ।

औसतभन्दा कम वर्षाको प्रक्षेपणको अर्थ बाढीपहिरोको जोखिम घटेको होइन
समुद्रबाट जमिनतर्फ बहने मनसुनी प्रणालीमा पर्याप्त जलवाष्पयुक्त हावा रहने भएकाले नेपालमा चार महिना (जेठ अन्तिमदेखि असोजसम्म) वार्षिक वर्षाको ८० प्रतिशत वर्षा हुन्छ । अर्थात् बर्खायाममा मात्र औसत वर्षा हुन्छ । तर, जल तथा मौसम विज्ञान विभागले यस वर्ष मनसुनीयाममा औसतभन्दा कम वर्षाको प्रक्षेपण गरिसकेको छ । वर्षा कम हुँदा तापक्रम बढी हुन्छ ।

प्रशान्त महासागरमा एलनिनोको प्रभाव बलियो हुने देखिएपछि विभागले कम वर्षाको आकलन गरेको हो । मनसुन सिजनमा सामुद्रिक तापक्रम औसतभन्दा बढी भएर त्यसको असर वायुमण्डलमा पर्छ, वर्षा कम गराउँछ । ‘एलनिनो’ प्रशान्त महागरको भूमध्यीय क्षेत्रमा उसको मौसमी घटनाको नाम हो । 

बर्खामा औसत एक हजार तीन सय ७४.१ मिलिमिटरलाई औसत वर्षा मानिने गरिन्छ । गत वर्ष एक हजार ३३.२ मिलिमिटर (९७.२ प्रतिशत) वर्षा भएको थियो । यसपटक अझै कम वर्षा हुने ठानिएको छ ।

‘हामीले सिजनभरको आकलन गरेर औसतमा कम वर्षा हुने भनेका हौँ, यसको अर्थ ठूलो पानी (झरी) पर्दैन भन्ने होइन,’ जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् इन्दिरा कँडेलले भनिन्, ‘विगतको तथ्यांक हेर्दा सिजनभर कम वर्षा भएको बर्खामा भारी वर्षा हुने दिन पनि घटेको देखिन्छ । तर, बीचमा नयाँ मौसमी प्रणाली आयो भने आकलन फरक पर्न सक्छ ।’

तर, बर्खायाममा कम वर्षा हुने प्रक्षेपणको अर्थ बाढीपहिरोको जोखिम कम हुने होइन । पहिलो त नेपालमा अतिवृष्टि र अनावृष्टिका घटना बढेका छन् । एक हप्ता पानी नपर्ने र एक दिन धेरै पानी पर्न पनि सक्छ ।

‘भौगोलिक बनोट र त्यहाँको माटो तथा चट्टानको अवस्थाका कारण पनि लामो समयसम्म पानी पर्दा होस् वा छोटो समयमा पानी पर्दा होस् । दुवै अवस्थामा पहिरोको जोखिम रहन्छ,’ भूगर्भविद् सुबोध ढकालले भने, ‘चिम्टाइलो माटो भएको क्षेत्रमा लगातारको वर्षाले पहिरो जाने हुन्छ भने ग्राभेल, बालुवा भएको क्षेत्रमा एक्कासि परेको पानीले पहिरो जाने सम्भावना हुन्छ ।’ सामान्यतयाः चुरेमा अलि कमजोर चट्टान भएकाले लामो समयसम्म पानी परेमा पहिरो जाने गर्छ भने महाभारतका धेरै ठाउँमा छोटो समयमा परेको ठूलो पानीले पहिरोको जोखिम बढाउँछ । तर, जोखि भने चुरेदेखि पहाडी क्षेत्रमा कायमै रहन्छ ।

यस वर्ष बाढीपहिरोबाट साढे १२ लाख प्रभावित हुने आकलन
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको बर्खामा बाढीपहिरोसहितका विपत्बाट दुई लाख १६ हजार घरपरिवारका साढे १२ लाख नागरिक प्रभावित हुने आकलन गरेको छ ।

त्यसमध्ये करिब एकतिहाइ जनसंख्यालाई खाद्यान्नको आवश्यकता पर्न सक्छ । आवश्यक राहत सामग्री संकलन गरेर प्रदेश तथा जिल्लामा भण्डारण गरिएको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताए  । गत वर्ष मनसुनी याममा बाढीपहिरोबाट एक सय १९ जनाको ज्यान गएको थियो भने ३२ बेपत्ता हुँदा ११५ घाइते भए ।

एक हजार ६ घर पूर्ण रूपमा क्षतिग्रस्त बन्दा एक हजार एक सय घरमा आंशिक क्षति पुग्यो । गत वर्ष बाढीपहिरोबाट खोटाङ, मकवानपुर, नवलपुर, प्युठान,  सुर्खेत, अछाम, बाजुरा र दार्चुला बढी प्रभावित भएका थिए ।  

See More On

सुझावित समाचार