प्रमुख प्रतिपक्षी एमाले बैठक बहिष्कार गरेर आन्दोलनमा सहभागी
कैलालीको गेटामा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग गर्दै आन्दोलनमा उत्रिएका स्थानीयले सोमबार सुदूरपश्चिम प्रदेश सभा घेराउ गरेका छन् । प्रदेश सभा सदस्यहरूलाई बैठकमा जान रोक्ने उद्देश्यले आन्दोलनकर्ताले प्रदेश सभाको प्रवेशद्वारमा प्रदर्शन गरेका थिए । तर, दिउँसो ३ बजे डाकिएको बैठकका लागि प्रदेश सभा सदस्यहरू आन्दोलनकर्ता आउनुअघि नै प्रदेश सभा परिसर पुगिसकेका थिए ।
राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका लागि संघीय सरकारलाई दबाब दिन प्रदेश सभा बैठक स्थगित गर्नुपर्ने उनीहरूको माग थियो । प्रदेश सभा बैठक चल्न नदिने भन्दै आन्दोलनकर्ताले गेटमा कोणसभा र नाराबाजीसमेत गरे । बाहिर नाराबाजीका बीच प्रदेश सभा बैठक सुरु भए पनि प्रमुख प्रतिपक्षी एमालेले बहिष्कार गरेपछि बैठक चल्न सकेन ।
राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका लागि दबाब दिन गठित संघर्ष समितिको अगुवाइमा प्रदेश सभा घेराउ गरिएको हो । समितिका संयोजक लोकराज पाण्डेयले सरकारी बेवास्ताका कारण गेटामा करोडौँ रुपैयाँ लागतमा बनेका संरचना जीर्ण बन्ने अवस्थामा पुगेको बताए । सरकारले अस्पताल सञ्चालन नगर्दा यस क्षेत्रका बासिन्दाले अहिले पनि विशेषज्ञ उपचारका लागि काठमाडौं र सीमावर्ती भारतीय बजार जानुपर्ने बाध्यता रहेको उनले बताए ।
सरकार आफैँले गरेको निर्णयअनुसार बजेटमा विश्वविद्यालयको विषय नसमेटिएपछि आन्दोलन गर्नुपरेको स्थानीयको भनाइ छ । गत २९ माघमा गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको सरकारले नीति तथा कार्यक्रममा समेत विश्वविद्यालयको विषय समेटे पनि बजेटमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने उल्लेख गरेर सुदूरपश्चिमका नागरिकमाथि अन्याय गरेको आन्दोलनमा सहभागी स्थानीय पदमराज ओझाले बताए । दक्ष जनशक्ति उत्पादन गरी सुदूरपश्चिमको मात्र नभएर समग्र देशको स्वास्थ्य क्षेत्रको सुधारका लागि मेडिकल विश्वविद्यालय आवश्यक रहेको उनले बताए । नीति तथा कार्यक्रममा विश्वविद्यालयसँगै ६ सय शड्ढयाको अस्पताल सञ्चालन गर्ने उल्लेख गरिए पनि बजेटमा सय शड्ढयाको मात्र अस्पताल सञ्चालन गर्ने उल्लेख गरिएको भन्दै उनले आपत्ति जनाए ।
प्रतिपक्षी एमाले सडकमा
प्रमुख प्रतिपक्षी एमालेले सोमबार प्रदेश सभा बैठक बहिष्कार गरेको छ । बैठक बहिष्कार गरेर एमालेका प्रदेश सभा सदस्यहरू मेडिकल विश्वविद्यालय स्थापनाको मागसहित नाराबाजी गर्दै आन्दोलनमा सहभागी भए । विश्वविद्यालयको माग गर्दै नागरिक आन्दोलनमा उत्रिए पनि सरकार मौन रहेकाले बैठक बहिष्कार गर्नुपरेको एमाले प्रमुख सचेतक सुरेन्द्रबहादुर पालले बताए । ‘विश्वविद्यालयबारे सरकार उदासीन र मौन छ । यसमा सरकारको धारणा र क्याबिनेटको निर्णय नआउन्जेल बहिष्कार गर्दछाँै,’ उनले भने ।
आन्दोलनलाई सम्बोधन गर्दै पूर्वमुख्यमन्त्रीसमेत रहेका एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले सरकारले सुदूरपश्चिमको अपमान गरेको आरोप लगाए । सरकारले विश्वविद्यालयसँगै यहाँका महŒवपूर्ण आयोजनाको बजेट कटौती गरेको रावलले बताए । ‘प्रदेश सरकारले विश्वविद्यालयबारे निर्णय गरेर संघीय सरकारलाई दिनुपथ्र्यो । प्राथमिकताप्राप्त आयोजनाको बजेट कटौती भएको छ, तर प्रदेश सरकार मौन छ,’ उनले भने । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सभा सदस्य खेमादेवी विष्ट पनि मेडिकल विश्वविद्यालयको आन्दोलनमा सहभागी भइन् ।
बैठकको सुरुमा मुख्यमन्त्री कमलबहादुर शाहले गेटामा विश्वविद्यालय स्थापना गर्न आवश्यक कानुनी र अन्य व्यवस्था मिलाउने आश्वासन संघीय सरकारले दिएको बताए । ‘सरकारले विश्वविद्यालय स्थापना गर्न कानुनी प्रक्रिया अगाडि बढाएको हामी सबैलाई स्मरण छ । चालू अधिवेशनमा विधेयक प्रस्तुत गर्ने भनिए पनि बजेटमा प्रतिष्ठान भनेर उल्लेख भएर आएकाले अन्योल छ,’ उनले भने, ‘यसबारे संवाद गर्दा अस्पष्टता हटाई विश्वविद्यालय स्थापना गर्ने आवश्यक कानुनी र अन्य व्यवस्था मिलाउने आश्वासन पाएका छौँ ।’
विश्वविद्यालय बन्ने माओवादी दाबी
माओवादी स्थायी समिति सदस्य एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्टले गेटामा मेडिकल विश्वविद्यालय नै बन्ने दाबी गरेका छन् । धनगढीमा सोमबार पत्रकार सम्मेलन गरेर पार्टीको धारणा सार्वजनिक गर्दै उनले प्रधानमन्त्रीसँग कुरा गर्दा बजेटमा केही त्रुटि भए पनि मेडिकल विश्वविद्यालय बनाउने आश्वासन पाएको बताए । प्रधानमन्त्री र गठबन्धनका नेताहरू मेडिकल विश्वविद्यालय बनाउनुपर्ने पक्षमा रहेको उनले दाबी गरे ।