स्वर्गद्वारी दर्शन गरेर फर्किएको कार दुर्घटना, सवार सबै आठजनाको मृत्यु

सोमबार, २९ जेठ, २०८०
डिजिटल संस्करण

स्वर्गद्वारी दर्शन गरेर फर्किँदै गरेको कार दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ। प्रहरीका अनुसार लु. १ च ६३४५ नम्बरको कार प्युठानको स्वर्गद्वारी नगरपालिका- ४ भ्यागुतेमा आज दिउँसो साढे ३ बजेतिर दुर्घटनाग्रस्त भएको हो। 

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डिएसपी सुवास खड्काका अनुसार कारमा आठजना सवार थिए। दुर्घटनामा सबैजनाको ज्यान गएको हो। मृत्यु भएकामध्ये सातजनाको सनाखत भएको छ। एकजनाको पहिचान खुल्न बाँकी छ।  मृत्यु भएका सबै दाङवासी हुन्।  

कारमा दुई महिला, दुई पुरुष र चारजना बालबालिका थिए। उपल्लो घुम्तीबाट अर्काे घुम्तीमा खसेर कच्याकुच्चुक भएको कारभित्रै सबै यात्रु च्यापिएका थिए। सबैलाई डोजरको प्रयोग गरी निकालेर अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका हुन्। 

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका– १५ कोठरीकी ३५ वर्षीया सरिता शर्मा पोख्रेल, उनका छोराहरू १४ वर्षीय विशाल र ९ वर्षीय  विकास, गाडीचालक लमही नगरपालिका– ५ का ताराबहादुर कुमाल, गढवा गाउँपालिका– ५ बाँकीका ४० वर्षीय गोविन्द शाह, उनी श्रीमती ३० वर्षीया राधा शाह, ९ वर्षीय छोरा आदित्य छन्। एक बालकको सनाखत हुन सकेको छैन। 

सुझावित समाचार