उमेरहदले मात्रै नेतृत्वमा बदलाव आउँछ भन्नु गलत : शंकर पोखरेल

सोमबार, २९ जेठ, २०८०
डिजिटल संस्करण

नेकपा एमालेका महासचिव शंकर पोखरेलले ७० वर्षको उमेरहदले मात्रै नेतृत्वमा बदलाव आउँछ भन्ने कुरा गलत रहेको बताएका छन्।

सोमबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उमेरहदले मात्रै नेतृत्वमा बदलाव आउने र लोकतान्त्रिक विधिबाट नेतृत्वमा बदलाव ल्याउन नसकिने भन्ने नहुने जिकिर गरे। एकीकृत समाजवादीका तेस्रो तहका नेता मुकुन्द न्यौपानेलाई पार्टी एकीकरणको सन्दर्भमा जोड्ने प्रयत्नअन्तर्गत केन्द्रीय कमिटीको सदस्यमा मनोनीत गरिसकेपछि उठ्ने प्रश्नको सम्बोधनका रूपमा ७० वर्षे उमेरहद हटाइएको पोखरेलले स्पष्टीकरण दिए।

‘नेकपा (एकीकृत समाजवादी)का तेस्रो तहका नेता मुकुन्द न्यौपानेलाई पार्टी एकीकरणको सन्दर्भमा जोड्ने प्रयत्नअन्तर्गत उहाँलाई केन्द्रीय कमिटीको सदस्यमा मनोनीत गरिसकेपछि उठ्ने प्रश्नको सम्बोधनका रूपमा हामीले स्थगन गरेका छौँ । तर, त्यसले नेकपा एमाले लोकतान्त्रिक अभ्यास र नेतृत्वको जीवन्ततामा विश्वास गर्ने पार्टी हो भन्ने कुराका सन्दर्भमा प्रश्न उठाउनुपर्ने विषय नै होइन,’ उनले भने।

माओवादीमा ०४५ सालदेखि एकजना मात्रै नेतृत्वमा रहिरहँदा एमालेमा पाँचजनाले नेतृत्व गरेको उल्लेख गर्दै पोखरेलले नेतृत्वमा सबैभन्दा धेरै बदलाव ल्याउने पार्टीका रूपमा एमाले रहेको दाबी गरे।

‘नेपालका पुराना राजनीतिक दलहरूमध्ये सबैभन्दा धेरै नेतृत्वमा बदलाव ल्याउने दलका रूपमा नेकपा एमाले छ । चाहे नेपाली कांग्रेससँग तुलना गर्नुहोस् वा चाहे नेपालका अन्य कम्युनिस्ट पार्टीहरूका बारेमा । पुष्पकमल दाहाल प्रचण्डजी ०४५ सालदेखि लगातार प्रमुख नेतामा हुनुहुन्छ । हाम्रो पार्टीभित्र ०४५ सालपछि मदन भण्डारी, माधवकुमार नेपाल, झलनाथ खनाल, केपी शर्मा ओली हुनुहुन्छ । एकातिर एक जना मात्रै नेता, अर्कोतिर पाँचजना नेता भएको पार्टी हो, त्यसैले यो विषय उठाएर नेतृत्वमा समस्या हुने भन्ने हुँदैन,’ उनले भने ।

सुझावित समाचार