गर्मी छल्न लेक उक्लिए भेडा

औलमा गर्मी हुनुका साथै घाँसको समेत अभाव हुन थालेपछि किसानले घुम्ती गोठ लेकमा लग्न थालेका छन् । अहिले लेक सारिएका घुम्ती गोठ कात्तिक–मंसिरतिर बेँसी झरिसक्छन् ।

शनिबार, २७ जेठ, २०८०
डिजिटल संस्करण


हिउँदमा जाडो छल्न औल–बेँसी झारिएका भेडालाई गर्मी बढेसँगै गोठसहित लेकतिर लग्न थालिएको छ । ताप्लेजुङ, लमजुङ र दार्चुलाका भेडापालक किसान भेडा र गोठसहित वैशाख अन्तिम साताबाट हिमाली क्षेत्रतर्फ लागेका हुन् । हिउँदमा हिमपात र जाडोबाट जोगाउन औलतिर झारिएका भेडा गर्मी बढ्न थालेपछि पुनः लेकतिर लान थालिएको हो । कृषकका अनुसार गर्मी बढेपछि हिमाली क्षेत्रमा हिमपात नहुने साथै चिसो कम हुने हुँदा भेडा लेकतिर लगिन्छ । 

ताप्लेजुङको फुङलिङ नगरपालिका– ११ फावाखोलाका भेडापालक गोपाल विष्टका अनुसार गर्मीमा भेडा औलमा बस्न रुचाउँदैनन् । भेडामा ऊन धेरै हुने भएकाले पनि गर्मी धेरै सहन सक्दैनन् । हिउँदमा पनि अत्यधिक चिसो खेप्न नसक्ने भएकाले उच्च हिमाली क्षेत्रबाट औल झारिन्छ ।

विष्टका अनुसार गर्मीयामका लागि तीन हजारदेखि तीन हजार पाँच सय मिटरसम्म उचाइ रहेको लेक क्षेत्रमा भेडीगोठ बनाइएको छ, फावाखोलाकै माथिल्लो क्षेत्र बैसाखे हुँदै हिमालतिर भेडा लैजान सुरु गरिएको हो । ताप्लेजुङमा बैसाखे हुँदै मयामखर्क, तापेथोक, हेल्लोक, सेखाथुम, जापानटार हुँदै करिब पाँच हजार मिटर उचाइ रहेको सिद्धिखर्कसम्म पनि भेडा पुर्‍याइन्छ । सिद्धिखर्कतिर तीन महिना गोठ राखेर अन्यत्र सार्ने गरिएको छ । 

लमजुङमा घुम्ती गोठमा पालिएका गाईभैँसी, भेडाबाख्रा चराउँदै गोठाला बर्सेनि बौद्ध, माछापुच्छ«े, मनास्लु, हिमचुली, लमजुङ हिमालको काखैमा पुग्छन् । घुम्ती भेडीगोठ चार हजार मिटर उचाइसम्ममा पुग्छन् । घुम्ती गाईभैँसी गोठ भने तीन हजार मिटर उचाइसम्म मात्रै पुग्छन् ।

यो समयमा बेँसीमा गर्मी हुनुका साथै पशु आहारा (घाँस)को समेत अभाव हुने भएकाले किसानले अहिले घुम्ती गोठ हिमालको काखैमा पुर्‍याएको भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र लमजुङका प्रमुख डा. रूपेश श्रेष्ठले बताए । लमजुङमा ९० वटा घुम्ती भेडीगोठ रहेका छन् । ती भेठीगोठमा झन्डै १५ हजार ‘बरुवाल’ जातको भेडा रहेका छन् भने झन्डै ६ हजार ‘सिन्हाल’ जातका बाख्रा पालिएका छन् । लेक सारिएका घुम्ती गोठ भदौदेखि कात्तिक मसान्तसम्ममा बेँसी झरिसक्छन् । चिसो मौसममा माथि (लेक)मा चरन क्षेत्रको अभाव हुने भएकाले त्यो समयमा भेडीगोठ बेँसी सारिन्छन् । भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका अनुसार लमजुङको भोजे, पसगाउँ, घनपोखरा, घेर्मु, ताघ्रिङ, बाहुनडाँडा, भुलभुले, फलेनी, वन्सार, पाचोक गौँडा, कोल्की, इलमपोखरी, दूधपोखरीलगायतका ठाउँमा घुम्ती भेडीगोठ रहेका छन् । 

दार्चुलामा अपिहिमाल, नौगाड, व्याँस, दुहुँ र मार्मा गाउँपालिकाका अधिकांश स्थानीयले भेडाबाख्रापालन गर्ने गरेका छन् । अहिले बेँसीमा गर्मी सुरु भएसँगै भेडाबाख्रा धमाधम लेक लगिरहेका हुन् । अपिहिमाल गाउँपालिका– २ घुसाका किरनसिंह धामीले गाउँमै ९५ वटा भेडाबाख्रा पालेका छन् । पाँच महिना गाउँमै राखेर अहिले पुनः गर्मी छल्न हिमाल उक्लिएको उनले बताए । 

चरन क्षेत्रसमेत साँघुरिँदै 
दार्चुलाको अपिहिमाल गाउँपालिका १ र २ का अधिकांशले भेडाबाख्रा लोलु, रोखापु, पिलकन्द, धौलीओडार, सातगंगा तथा वडा नम्बर ५ र ६ का स्थानीयले चाइमटेला र वडा नम्बर ३ र ४ का स्थानीय धरमघर, क्षत्तिलगायतका ठाउँमा भेडाबाख्रा चरिचरनका लागि लग्छन् । व्याँस दुहुँका स्थानीयले व्याँसको अपिफेद, दुधीवन क्षेत्रमा चरिचरनका लागि लैजान्छन् । तर, चरनको अभाव छ । ‘पहिला गाउँका सबै वन खुला हुन्थे । चराउन समस्या नभएकाले भेडा पाल्न सजिलो थियो,’ अपिहिमाल गाउँपालिका– १ का करनसिंह धामीले भने, ‘अहिले केही सामुदायिक वन भए, केहीले आफ्नो ठाउँमा चराउन दिँदैनन् ।’ 

ताप्लेजुङमा पनि चरन अभावका कारण पछिल्लोपटक भेडापालन घटेको छ । फावाखोलाका गोपाल विष्ट परिवारलगायतका केही कृषकले मात्र परम्परागत पेसाको रूपमा रहेको भेडीगोठ व्यवसाय अँगाल्दै आएका छन् । पछिल्लो पुस्ताले गोठपालन पेसा नरुचाएका कारण तथा चरन क्षेत्रसमेत साँघुरिँदै गएका कारण भेडी गोठ पाल्ने चलन हराउँदै गएको हो । 

भेडा बहुउपयोगी
भेडाको मासु मात्र होइन, रौँ पनि बिक्री हुन्छ । मांसाहारीले भेडाको मासु रुचाउँछन्, विशेषगरी दसैँताका भेडाको मासुको माग हुन्छ । त्यसबाहेक भेडाको ऊन, घिउबाट पनि आम्दानी गर्न सकिन्छ । भेडाको एउटा पाठालाई १५ देखि २० हजार रुपैयाँसम्म पर्ने गरेको कृषक बताउँछन् । अधिकांशले एक वर्ष भेडा पाल्ने र दोस्रो वर्ष बिक्री गर्ने गरेका छन् । 

अपिहिमाल गाउँपालिका– १ का करनसिंह धामीले भने, ‘एक वर्ष पाल्यो, दोस्रो वर्ष दसैँमा बिक्री गर्छौँ ।’ भेडा किन्न तराईबाटै ग्राहक गाउँ पुग्छन् । ६० भन्दा बढी भेडा पालेका धामीले एक वर्ष पालेर दोब्बर फाइदा निकाल्ने गरेका छन् । दसैँको वेला गाउँमै भेडाको १५ देखि २० हजारमा बिक्री हुने गरेको छ ।

अपिहिमाल गाउँपालिका– १ का भेडापालक कृषक हरि लोथ्यालले भेडाको ऊन खासै बिक्री गरेका छैनन्, बरु आफैँ लुगा बनाउँछन् । ऊनबाट बनेको कोट जाडो छल्न उत्तम मानिन्छ । ओढ्ने–ओछ्याउने सिरक–डस्ना ऊनबाटै बनाउने गरेको उनले बताए । सडक यातायात नपुगेका ठाउँमा भेडाबाटै खाद्यान्न ढुवानीको काम हुने गरेको छ । 

भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र दार्चुलाका सूचना अधिकारी खेमराज भट्टका अनुसार यहाँ २२ हजार ६ सय भेडा तथा ७८ हजार बाख्रा पालिएको छ । हरेक वर्ष भेडाबाख्रामा सुदूरपश्चिम प्रदेश सरकारको तर्फबाट लगानीसमेत भइरहेको छ । चालू आर्थिक वर्षमा व्याँस गाउँपालिकामा २५ लाख तथा अपिहिमालमा पाँच लाख रुपैयाँ भेडाबाख्रापालनका लागि सहयोग भएको छ । दुहुँ गाउँपालिकाका लागि ४० लाख रुपैयाँ बजेट आए पनि कार्यान्वयन हुन नसकेको उनले बताए । हरेक वर्ष भेडाबाख्रापालक किसानका लागि प्रदेश सरकारमार्फत अपिहिमाल, नौगाड, मार्मा, दुहुँ र व्यास गाउँपालिकामा लगानी हुने गरेको छ ।
 

See More On

सुझावित समाचार