सदनमा सत्ता र प्रतिपक्षबीच जुहारी

मंगलबार, २३ जेठ, २०८०
डिजिटल संस्करण

प्रधानमन्त्रीले जवाफ दिँदा ‘अवरोध’, सदन सञ्चालन सभामुखको नियन्त्रणबाहिर

नागरिकता विधेयक प्रमाणीकरण प्रक्रिया र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा केन्द्रित हुनुपर्ने संसद् सोमबार ‘भैँसी’मा केन्द्रित भएको छ । भारत भ्रमणका क्रममा प्रधानमन्त्रीले सीमा विवाद हलबारे दिएको अभिव्यक्तिलाई लिएर विपक्षीबाट अवरुद्ध प्रतिनिधिसभाको आइतबारको बैठकमा भारतले अनुदानमा दिएका राँगाको विषयमा लामो बहस भयो । 

विपक्षीको मागअनुसार प्रधानमन्त्रीले जवाफ दिने गरी सोमबार बसेको बैठकमा नागरिकता र सीमाको विषयवस्तुभन्दा भारतबाट अनुदानमा प्राप्त मुर्रा राँगा बहसको केन्द्रमा आयो । राँगाकै विषयमा सत्ता र प्रतिपक्षबीच सदनमै दोहोरी चल्यो । प्रधानमन्त्रीले उठेका प्रश्नको जवाफ दिएका छन् । सोमबार दिनभर गरमागरम बहस गरेर प्रतिनिधिसभा निर्धारित कार्यसूचीमा प्रवेश गरेर आर्थिक वर्ष ०८०/८१ को बजेट वक्तव्यमाथि छलफल प्रारम्भ भएको छ ।

प्रमुख प्रतिपक्षी एमालेसहित विपक्षी रास्वपा, राप्रपा, जनमोर्चा र नेमकिपाको अवरोधले आइतबार प्रभावित भएको सदनमा सोमबार प्रधानमन्त्रीले चार घन्टा बसेर जवाफ दिएका थिए । बोल्ने क्रममा सांसदले ‘प्रधानमन्त्री भैँसी चढेर आएको’ शब्द प्रयोग गरेपछि माहोल एकाएक तात्यो । तत्काल सभामुख देवराज घिमिरेले ‘भैँसी चढेको’ शब्द रेकर्डबाट हटाउन निर्देशन दिए । 

जवाफकै क्रममा नागरिकता विधेयक निष्क्रिय भएको भनेर तर्क गरेर विपक्षीले पटक–पटक अवरोध गरिरहे । विपक्षीले सीमा समाधानको मोडेलको विषयमा प्रधानमन्त्रीले ढाँटेको भनेर गरेको जिकिरले माहोल झनै तताएको थियो । सदनमा दिनभर सांसदहरूले आफूअनुकूल व्याख्यामा मनपरी समय व्यतीत गरिरहँदा सभामुखको निरीह बने । प्रधानमन्त्रीले जवाफ दिइरहँदा सभामुखले बीचबीचमा अरूलाई बोल्न दिए । 

नागरिकता विधेयकबारे
जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता, गैरआवासीय नेपालीलाई नागरिकता दिन, आमाको नामबाट नागरिकता दिने प्रबन्ध गर्न तत्कालीन प्रधानमन्त्री केपी ओलीको पालाकै अध्यादेशका आधारमा हुबहु आएको विधेयक प्रमाणीकरण भएको बताए । राज्यव्यवस्था सुशासन समितिमा वैवाहिक अंगीकृतमा १५ वर्ष राखौँ भन्ने माओवादीले अहिले किन समयावधि नराखेको एमालेको प्रश्नमा प्रचण्डलेले सात वर्ष राखौँ भन्ने एमालेले किन कुनै अवधि नराखी अध्यादेश ल्याएको भनेर प्रतिप्रश्न गरे ।

अहिले पनि आफूहरू नेपालमा विवाह गरेर आउने महिलाको हकमा केही मापदण्ड राख्नुपर्नेमै रहेको उनको भनाइ थियो । यो विधेयक जन्मसिद्धका सन्तानलाई नागरिकता दिनेमा मात्रै केन्द्रित रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले सात वर्ष दिने कि १० वर्ष गर्ने भन्ने विषयमा फेरि छलफल गरेर सहमति बनाउनुपर्ने भनेर यो विषय बाँकी नै रहेको बताए । 

यसबाहेक विधेयकमा विवादित विषय नरहेको भन्दै प्रधानमन्त्री प्रचण्डले नागरिकताविहीन १२ लाख नागरिकको पीडालाई मलमपट्टी लगाउन ल्याइएको व्यवस्थामा विवाद नगर्न अनुरोध गरे । तत्कालीन प्रधानमन्त्री ओलीले ल्याएको अध्यादेश र देउवाले ल्याएको विधेयकको उद्देश्य यही भएको उनको भनाइ थियो । नागरिकताको सवालमा कानुन संशोधनमा ढिलाइ हुँदा सरकारले गरेका निर्णय अदालतले रोक्ने क्रम लामो समयदेखि चलिरहेको भन्दै प्रचण्डले अहिले पनि अदालत गइसकेर अल्पकालीन आदेश भइसकेकाले सदनमा विवाद गर्नुको औचित्य नभएको बताए । 

प्रक्रियामा जवाफ दिँदा अवरोध 
तर, एमाले सांसदले विधेयकको विषयवस्तुभन्दा प्रमाणीकरणको प्रक्रियामा आपत्ति रहेको भन्दै पुनः जवाफ मागेका थिए । प्रधानमन्त्रीले स्पष्टीकरण दिने क्रममा दुईपटक सदनबाट पारित भएर गएको विधेयकलाई राष्ट्रपतिले संविधानको मर्म र भावनाविपरीत होल्ड गरेर संविधान मिचेको भन्दै अहिले नयाँ राष्ट्रपतिले प्रमाणीकरण गरेर सच्याएको जवाफ दिए । 

संविधानमा प्रश्न नउठ्ने गरी त्यसलाई प्रमाणीकरण गर्ने विकल्प के छ भनेर दाहालले बोल्दै गर्दा रास्वपाका सभापति रवि लामिछानेले फेरि सदनमा ल्याउने भनेर बसेकै सिटबाट आवाज दिएपछि प्रधानमन्त्रीले गलत भनेर प्रतिवाद गरे । ‘सदनमा ल्याउने विकल्प भनेको अघिल्लो सदनले दुईपटक गरेको निर्णयलाई अपमान हो,’ प्रचण्डले जवाफ दिँदै गर्दा एमाले सांसद सूर्य थापा क्षेत्री उठेर अवरोध गरे । 

प्रधानमन्त्रीले विपक्षीको कुरा आफूले धैर्यतापूर्वक सुनेको भन्दै आफ्नो तर्क सुन्न आग्रह गरे । सभामुख घिमिरेले प्रधानमन्त्रीलाई रोक्दै थापालाई समय दिए । प्रतिनिधिसभा अवधि सकिएपछि विचाराधीन विधेयक निष्क्रिय हुने जिकिर गर्दै प्रधानमन्त्रीले झुट बोलेको आरोप थापाले लगाए । मन्त्रिपरिषद्ले विधेयक सदनमा पठाउने भन्दै राष्ट्रपतिकहाँ सीधै जाने अधिकार नभएको उनले जिकिर गरे । प्रचण्डले जवाफ दिए, ‘मलाई तर्क गर्न दिनुस्, तपाई विरोध गर्नुहोला ।’ 

सभामुख घिमिरेले प्रधानमन्त्रीले जवाफ दिने वेला छलफल गर्न नमिल्ने भन्दै नियमसंगत नभए असहमति र बाँकी विषय नोट गरेर राख्न ध्यानाकर्षण गराए । प्रधानमन्त्रीलाई बोल्न समय दिए । प्रधानमन्त्री प्रचण्डले सदनमा विचाराधीन विधेयक कार्यकाल सकिँदा शून्यमा परिणत हुने कुरा आफूलाई हेक्का रहेको जवाफ दिँदै दुईपटक पारित भएर राष्ट्रपतिकहाँ पुगेको नागरिकता विधेयकको अवस्था फरक भएको बताए । 

जवाफपछि विपक्षी सांसदहरूले फेरि उठेर अवरोध गरे । फेरि प्रधानमन्त्रीले बोल्न दिन अनुरोध गरे । विपक्षीबाट अवरोध भएपछि सत्तापक्ष उठेर प्रतिवाद गरे । एमालेका दुई सांसद रोस्ट्रमतिर अगाडि बढेपछि मर्यादापालक सुरक्षाका लागि रोस्ट्रमअगाडि परिचालन भएका थिए । त्यसपछि रोस्ट्रमतिर अघि बढेका विपक्षी सांसद फर्किए । मर्यादापालक पनि फिर्ता भएका थिए । 

सभामुख घिमिरेले प्रधानमन्त्री समय लिएर बोलिरहेका वेला पक्ष–विपक्षमा दोहोरी खेलेर अवरोध नगर्न ध्यानाकर्षण गराए । विषयभन्दा नियममा आपत्ति गर्न पनि ध्यानाकर्षण गराए । प्रधानमन्त्रीलाई कुरा राख्न दिन पुनः अनुरोध गरे । तर, एमाले सांसदले टेरेनन् । प्रधानमन्त्रीले पूरै कुरा सुनेपछि विरोध गर्न आग्रह गरे । विपक्षी सांसदले नटेरेपछि सत्तापक्ष फेरि उठे । 

सभामुखले रघुजी पन्तलाई नियमापत्तिमा बोल्न समय दिए । सत्तापक्ष सांसदले विरोध गरेपछि सभामुखले आलोपालो समय दिने बताएपछि पन्तले बोल्न थाले । अदालतले कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरिसकेको भन्दै आदेशको उल्लंघन हुने गरी बचाउ नगर्न माग गरे । राष्ट्रपति कार्यालयमा रहेको विधेयक निष्क्रिय रहेको आफूहरूको तर्कलाई अदालतले पनि मानेको र अहिलेको सभामुखको हस्ताक्षर नभएको विधेयक आधिकारिक नभएको तर्क गरे । 

विश्वप्रकाशले मत्थर पारे
राष्ट्रपतिले प्रमाणीकरण गरेर विधेयक निष्क्रिय रहेको एमालेको जिकिरका बीच सभामुखले कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई समय दिए । शर्माले प्रतिपक्षी सांसदले बोल्दै गर्दा सत्तापक्षले होहल्ला गरेर डिस्टर्ब गर्ने र प्रधानमन्त्री रोस्ट्रममा बोलिरहेका वेला प्रतिपक्षले डिस्टर्ब गर्नु सही नभएको बताए । विधेयकमा सदनको सभामुखले प्रमाणित गर्ने भन्दै व्यक्तिलाई नचिन्ने जवाफ दिए । 

संविधानले अघिल्लो सदनमा उत्पत्ति भएको विधेयक यो सदनमा पनि आउन सक्ने बाटो दिएको र ल्याउनुहुँदैन नभनेको उल्लेख गर्दै सरकारले चाहेको भए ल्याउन सक्ने अवस्था रहेको बताए । तर, संविधानले दुईपटक पारित भएर राष्ट्रपतिकहाँ गएको विधेयक निष्क्रिय हुने परिकल्पना नगरेको उनको भनाइ थियो । ‘नागरिकता विधेयक प्रतिनिधिसभा र राष्ट्रिय सभामा विचाराधीन थिएन । सभामा विचाराधीन रहेको भन्नु र दुईपटक पारित गरेर पठाएको भन्नुमा फरक हुन्छ,’ उनले भने । 

त्यसपछि सभामुख घिमिरेले भावउत्तेजनामा आएर तर्क–वितर्कभन्दा पनि नियममा आधारित भएर कुरा राख्न आग्रह गर्दै बोल्न अनुरोध गरेपछि २३ मिनेट रोस्ट्रममा उभिएका प्रधानमन्त्री प्रचण्डले बोल्न सुरु गरेका थिए । ‘राष्ट्रपतिले दुईपटक पारित भएर आएको होल्ड गर्दा के हुने भनेर संविधानले केही भनेको छैन । विज्ञसँग छलफलपछि मन्त्रिपरिषद्बाट अनुरोध गरिएको हो । मन्त्रिपरिषद्ले निर्णय गरेर सिफारिस गरेको होइन । संविधानमा त यो अधिकार पनि छैन,’ प्रचण्डले भने । 

अनुरोधमार्फत विधेयक राष्ट्रपति कार्यालयमा छ भनेर सरकारले राष्ट्रपतिलाई औपचारिक जानकारी गराएको प्रधानमन्त्रीले बताए । ‘यो अरूजस्तो विधेयक होइन । विशिष्ट स्थिति रह्यो । सरकारले राष्ट्रपतिजीलाई जानकारी दिएको हो । यदि जानकारी नदिएर सरकारले विधेयक यहाँ प्रस्तुत गर्‍यो भने खतरा हुन्छ । संवैधानिक परिषद्बाट सिफारिस गरेर पठायौँ वा कुनै विधेयक पठायौँ र राष्ट्रपतिले रोकिदियो भने स्थिति के हुन्छ ? लोकतन्त्र र संविधान के हुन्छ ? नजिर के बस्छ ? लोकतन्त्र र संविधानविरुद्ध राष्ट्रपतिले मन लागे गरिदिए र मन नलागे नगरिएदिए हुने भएपछि संविधान र लोकतन्त्रमाथि घात हुने भयो, त्यसकारण राष्ट्रपतिलाई जानकारी गराएर प्रमाणीकरण भइसकेपछि अब ट्र्याकमा आयो । संविधानलाई राष्ट्रपतिले स्वविवेकको आधारमा निर्णय गरेर संविधान डिरेल हुने खतरा टर्‍यो,’ उनले भने । 

मुर्रा राँगामा व्यर्थको बहस
सात वर्षअघि नै मुर्रा राँगा ल्याउने समझदारी भएको जानकारी गराउँदै प्रचण्डले अहिले आउँदा मान्छेले आफूलाई भैँसी चढाएर हिँडाउँदै ट्रोल गरेको गुनासो गरे । त्यसपछि प्रश्नोत्तरका क्रममा रास्वपा सांसद शिशिर खनालले ‘प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा हामी चाहन्थ्यौँ उहाँ प्लेन चढेर भर्खर उहाँले नै उद्घाटन गरेको पोखरा विमानस्थलमा झर्नुहुन्छ होला भनेर, दुर्भाग्यवश भैँसी चढेर आउनुपरेको कुरा आयो’ भनेपछि माओवादी सांसदले उठेर समय मागे । 

खनालको प्रश्न नसकिँदै प्रमुख सचेतक हितराज पाण्डेले माइक समातेर नियमापत्ति गर्न खोजे । अर्काेतिर, प्रधानमन्त्रीसँग भ्रमणबारे थप स्पष्ट हुन प्रश्न गरिरहेका विपक्षी एमाले, रास्वपा, राप्रपाका सांसदहरू प्रतिवादमा उठे । सभामुखले पाण्डेलाई बोल्न समय दिए । ‘संसद्मा मर्यादित शब्द प्रयोग गर्नुपर्छ, भैँसी चढेर आएको शब्द असंसदीय शब्द हो । रेकर्डबाट हटाइयोस् । प्रश्न गर्ने नाममा मानमर्दन नगरियोस्,’ पाण्डेले माग गरे । 

विपक्षी सांसदले प्रतिवादमा प्रधानमन्त्रीले नै भैँसी चढाएको शब्द प्रयोग गरेको भन्दै बोल्न पाइने जिकिर गरे । एमालेका सूर्य थापा क्षेत्रीले प्रतिनिधिसभा नियमावलीको नियम २०(झ)को ‘कुनै सदस्य बोलिरहेको बाधा पुग्ने काम गर्न नहुने’ व्यवस्था उल्लेख गर्दै विपक्षी सांसद बोलिरहेका वेला सत्तापक्ष सांसदले दादागिरी देखाएको आरोप लगाए । बोल्न अधिकार कुण्ठित गर्न नपाइने जिकिर गर्दै स्वीकार्य नहुने चेतावनी दिए । 

सभामुख घिमिरेले आसन ग्रहण गर्न, समय लिएर आफ्ना कुरा राख्न अनुरोध गरे पनि विपक्षी सांसदले टेरेनन् । त्यसपछि घिमिरेले विपक्षी र सत्तापक्ष सांसदलाई मर्यादाभित्र रहेर प्रश्न गर्न अनुरोध गर्दै नियम २०(झ) आकर्षित हुने पनि ध्यानाकर्षण गराए । ‘प्रश्न सोध्दै गर्दा बीचमै प्रतिवाद गर्न थालियो भने यहाँबाट रुलिङ गर्न नसक्ने स्थिति भएकाले त्यसमा ध्यान जाओस्,’ उनले भने । सभामुखको ध्यानाकर्षणका बीच एमालेका रघुजी पन्त र रास्वपाका सांसदले उठेर असहमति जनाइरहेकै वेला सचिवालयसँग सल्लाह गरेर घिमिरेले ‘भैँसी चढेर आएको भन्ने’ शब्द रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिए । सत्तापक्षले ताली पिटेर स्वागत गर्‍यो भने विपक्षी सांसदहरू उठेर प्रधानमन्त्रीले नै उल्लेख गरेको शब्द भन्दै असहमति जनाए । 

सभामुख घिमिरेले एमालेका रघुजी पन्तलाई समय दिए, ‘भैँसी चढेर भन्ने शब्द प्रधानमन्त्री स्वयंले रोस्ट्रमबाट भन्नुभएको छ । जब सत्तापक्षको विरोधमा भैँसी चढेर भन्ने शब्द असंसदीय भनेर हटाइन्छ भने प्रधानमन्त्री स्वयंले प्रयोग गरेको शब्द पनि हटाइयोस् ।’ त्यसपछि समय पाएका रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्रीले रोस्ट्रममै उभिएर प्रयोग गरेको शब्द दृष्टान्तस्वरूप आफ्नो सांसदले उल्लेख गर्दा संसद्को रेकर्डबाट हटाउने भए प्रधानमन्त्रीले बोलेको पनि हटाउन माग गरे । विपक्षी सांसद उठिरहेपछि सभामुख घिमिरेले भैँसी चढेर आएको शब्द जसले बोले पनि हटाउन निर्देशन दिए । 

विपक्षी सांसद प्रधानमन्त्रीले बोलेको भनेर उच्चारण गर्न माग गरे । सभामुख घिमिरेले जसले बोले पनि भन्नुको मतलब भैँसी चढेर आएको भन्ने शब्दलाई रेकर्डबाट हटाउन रुलिङ गरेको हुँदा यो शब्द कसले बोल्यो भन्ने विवादमा नजान र नयाँ विषयमा जान अनुरोध गरे । तर, विपक्षी सांसदहरू उभिएर असहमति प्रकट गरिरहे । अन्ततः सभामुख घिमिरेले भने, ‘सदनमा छलफल चलिरहँदा देशको प्रधानमन्त्री प्रचण्डज्यू भारतबाट नेपाल आउँदा भैँसी चढेर आएको भन्ने शब्द रेकर्डमा रहनु उचित भएन । यस्तो शब्दलाई हटाउन रुलिङ गरेको छु । जहाँसम्म प्रधानमन्त्रीज्यू बोल्दा मलाई पनि भैँसी चढाएका थिए भन्ने रेकर्डमा आएको छ । भैँसी म पनि चढेको थिएँ, भैँसी चढाएका थिए भन्ने उहाँको कुराहरू आएको छ । त्यसैले यसलाई एकैठाउँ गाँसेर नहेरीकन भैँसी चढेर आएका हाम्रा प्रधानमन्त्री भारतबाट भन्ने रेकर्ड हाम्रो संसद्को इतिहासमा उचित हुन्न भनेर रुलिङ गरेको अनुरोध गर्छु ।’ 

नियमावली टेकेर असहमति र नियमापत्ति राख्न र व्ययवस्थित ढंगबाट सदन सञ्चालन गर्न सभामुखले अनुरोध पनि गरेका थिए । त्यसपछि सांसद खनालले आफ्नो प्रश्न पूरा गर्दै कारबाही अगाडि बढेको थियो । संसद्को १७ मिनेट समय भैँसी चढाएको शब्दको वादविवादमा खर्च भएको थियो । 

हिन्दू राष्ट्रबारे कुरा भएन
प्रधानमन्त्री प्रचण्डलेले धार्मिक पर्यटन प्रवद्र्धनका लागि उज्जैनको महाकालेश्वर मन्दिर पुगेको र प्रोटोकलका कारण गेरुवावस्त्र लगाएको बताए । ‘म धर्मनिरपेक्षतावादी हुँ । राज्यले कुनै धर्मलाई टाढा र कुनैलाई नजिक बनाउने गर्नुहुन्न भन्ने हुँ म । उज्जैनमा धार्मिक भ्रमणले धार्मिक पर्यटन प्रवद्र्धनमा मद्दत पुगेको छ,’ उनले भने । दाहालले भारत भ्रमणका क्रममा राजा र हिन्दू राष्ट्रबारे एक शब्द उच्चारण नभएको र त्यसमा प्रवेश नगरेको स्पष्ट पारे । 

सीमाबारे ढाँटेको छैन
सिमानाको समस्या हल गर्न खुलस्त कुरा राखेको र भारतका प्रधानमन्त्रीले सीमा समस्या हल गरिन्छ र सम्बन्ध हिमालको उचाइमा पुर्‍याइन्छ भनेर बोलिएको पहिलोपटक भएको उनले बताए । ‘मैले कहीँ पनि विकल्प यो हुन्छ र यसमा जाउँ भनेर प्रस्तावित गरेको छैन । नेपालको भूमि हो भनेर स्थापित गर्ने पहिलो कुरा हो । लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि हो भन्ने स्थापित गर्नमा मैले भूमिका खेलेको छु । मैले कुनै विकल्पको कुरा गरेको छैन । नेपालका केही विज्ञ र बुद्धिजीवीले गरेको अध्ययनका आधारमा यस्ता कुरा पनि छन् भनेको हुँ, यो गर्नुपर्छ भनेको छैन,’ उनले भने ।

पहिला नेपालको भूमि स्थापित हुनुपर्छ भनेको र बंगलादेश मोडेल मेरो कुरा नभएको उनको भनाइ थियो । ‘प्रतिपक्षीसँग नजिक भएका बुद्धिजीवीले नै मलाई बंगलादेश जाने बाटो पाउने हो भने हुन्छ भनेर सुझाएका छन् । विज्ञहरूले यो पनि भन्ने गरेका छन्, मुख्यतः सीमा समस्या हल गर्ने कुरा हो भनेको छु । समस्या स्थायी र दिगो रूपमा समाधान गर्न विकल्प हुन सक्छन् मात्रै भनिएको कुरालाई अतिरञ्जित ढंगले लिएर जनमानसमा भ्रम नफैलाऔँ,’ उनले भने । 

एमालेका रघुजी पन्तले बंगलादेशको फूलबारीसँग लिम्पियाराधुरा साटफेर गर्न मिल्छ भन्ने विषय आफूले नउठाएको भनेर प्रधानमन्त्रीले ढाँटेको आरोप लगाए । ‘प्रधानमन्त्रीको अन्तर्वार्तामा त्यो कुरा छ । अरू कसैले उठाएको छैन । उहाँ स्वयंले उठाउनुभएको छ । संविधानले क्षेत्र साटफेर गर्ने अधिकार दिएको छैन । गलत जानकारी दिएकाले उहाँले माफी माग्नुपर्छ,’ उनले भने । 

जवाफमा प्रधानमन्त्रीले विभिन्न विज्ञहरूले अध्ययन गरेर लामो समयदेखि विकल्प सुझाएको, तर यो विषय भारतसँग नराखेको स्पष्ट पारे । ‘विकल्प मेरो विषय होइन । हाम्रो भूमि हो, स्थापित गर्ने पहिलो प्राथमिकता हो । त्यसपछि पछि कसरी जाने पछिको कुरा हो । भारतसँग विकल्पबारे कुनै चर्चा भएको छैन,’ उनले भने । अखण्ड भारतको नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनी राखिएको विषयमा पनि भारतसँग कुरा राखेको र उनीहरूले सांस्कृतिक र ऐतिहासिक भन्ने तर्क गरेको बताए । इपिजी प्रतिवेदन, लक्ष्मणपुर बाँध, डुबानलगायत देशभरका सीमा समस्या समाधान गर्ने कुरा भएको उनले जानकारी गराए । 
 

See More On

सुझावित समाचार