अरुण तेस्रोभन्दा कडा सर्तमा तल्लो अरुणको पिडिए गर्दै

भारतीय कम्पनी एसजेभिएनले भन्सार छुट नपाउने, निर्यात शुल्क तिर्नुपर्ने

सोमबार, १५ जेठ, २०८०
डिजिटल संस्करण

सरकारले नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको तुलनामा कडा सर्त राखेर भारतीय कम्पनी सतजल विद्युत् निगम (एसजेभिएन)सँग ६ सय ६९ मेगावाटको तल्लो अरुणको परियोजना विकास सम्झौता (पिडिए) गर्ने भएको छ । आइतबार सम्पन्न लगानी बोर्डको ५४औँ बैठकले कडा सर्तसहितको अन्तिम मस्यौदा स्वीकृत गरेर अनुमोदनका लागि मन्त्रिपरिषद्मा पठाउने निर्णय गरेको छ ।  अरुण तेस्रो जलविद्युत् आयोजनाको क्यासकेड आयोजना रहेको तल्लो अरुणमा १७ किलोमिटर लामो टनेलबाट पानी पुर्याएर विद्युत् निकालिनेछ ।

हाल अरुण तेस्रो बनाइरहेको एजेभिएनलाई नै तल्लो अरुण बनाउन दिने गरी असार ०७८ मा बोर्डसँग समझदारीपत्रमा हस्ताक्षर भएको थियो । त्यसको झन्डै दुई वर्षमा बोर्ड र कम्पनीले आन्तरिक सहमतिमा पिडिएको मस्यौदालाई अन्तिम रूप दिइएको हो । मन्त्रिपरिषद्बाट स्वीकृति भएपछि बोर्ड र कम्पनीबीच पिडिएमा हस्ताक्षर हुनेछ । यो आयोजना बनाउन कम्पनीले एसजेभिएन लोअर अरुण पावर डेभलपमेन्ट कम्पनी (एसएलएपिडिसी) स्थापना गरेको छ । सोही कम्पनीसँग नै यस्तो सम्झौता हुनेछ । 

बोर्ड स्रोतका अनुसार एसजेभिएनले आयोजनाका लागि चाहिने निर्माण सामग्री आयात गर्दा भन्सार छुट नपाउने व्यवस्था गरिएको छ । जबकि, कम्पनीले अरुण तेस्रोको निर्माण सामग्री आयात गर्दा ५० प्रतिशत भन्सार छुट पाएको छ । ‘पहिला नेपालमा विद्युत्को संकट थियो । त्यसैले अरुण तेस्रोको पिडिए खुकुलो सर्तमा गरिएको थियो,’ स्रोतले भन्यो, ‘तर, अहिले विद्युत् उत्पादनको मामिलामा निकै संकटमा आएको छ । साथै, क्यासकेड भएकाले यसमा लागत पनि कम लाग्छ । त्यसमाथि यसको प्रतिफल पनि उच्च हुने देखिएको छ । त्यसैले यसको पिडिएमा केही कडा सर्त तोकेका छौँ ।’

यस्तै, आयोजना सञ्चालनमा आएपछि कम्पनीले प्रतिमहिना दुई हजार आठ सय ८० डलर वन तथा वातावरण शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ । विदेशी लगानीमा बन्ने जलविद्युत्मा पहिलोपटक वन तथा वातावरण शुल्क लाग्ने व्यवस्था गरिएको हो । यसैगरी, सहजीकरण गरेबापत लगानी बोर्डलाई प्रतिमहिना ११ हजार पाँच डलर सेवा शुल्क बुझाउनुपर्ने सर्त पनि राखिएको छ । यस्तो व्यवस्था अरुण तेस्रोमा छैन । 

यस्तै, भविष्यमा नेपाली कानुनमा परिवर्तन आएका कारण हुने दायित्व र लाभबारे पनि सर्त तोकिएको छ । नेपालले कानुन परिवर्तन गर्दा कम्पनीको १० करोड रुपैयाँसम्म नोक्सानी भएमा सरकारले दायित्व बहन गर्नुनपर्ने व्यवस्था गरिएको छ । १० करोडभन्दा माथिको नोक्सानीमा भने सरकारले दायित्व बहन गर्नुपर्नेछ । अरुण तेस्रोमा यसको सीमा दुई करोड थियो । यसैगरी, कानुन परिवर्तनका कारण कम्पनीलाई हुने नाफामा सरकारलाई ५० प्रतिशत दिनुपर्ने सर्त राखिएको छ । 
यस्तै, यो आयोजनाबाट नेपालले २१ प्रतिशत (उत्पादनका आधारमा) निःशुल्क विद्युत् पाउनेछ । जुन विद्युत् कम्पनी आफैँले बनाउने प्रसारण लाइनबाट ढल्केबर सबस्टेसनसम्म आउनेछ । तर, त्यसबापत नेपालले प्रसारण लाइनको भाडा (ह्विलिङ चार्ज) तिर्नुनपर्ने सर्त पनि राखिएको छ । नेपालले अरुण तेस्रोबाट २१.९ प्रतिशत विद्युत् निःशुल्क पाउँछ । तर, त्यसमा विद्युत्गृहबाट ढल्केबरसम्मको प्रसारण लाइन प्रयोग भएबापत ह्विलिङ चार्ज तिर्नुपर्छ । 

यस्तै, आयोजनाबाट निर्यात हुने बिजुलीबापतबाट कम्पनीले नेपाललाई निर्यात शुल्क बुझाउनुपर्ने व्यवस्था राखिएको छ । यस आयोजनाबाट नेपालले पाउनेबाहेकको बिजुली कम्पनीले भारतमा नै निर्यात गर्नेछ । त्यसको बिलको ०.००५ प्रतिशतबराबरको निर्यात शुल्क सरकारलाई तिर्नुपर्नेछ । 

यस आयोजनाबाट कम्पनीले नेपाललाई निःशुल्क दिने विद्युत् अन्यन्त्रै पनि खुला प्रतिस्पर्धी दरमा बिक्री गरिदिन सक्नेछ । अरुण तेस्रोमा कम्पनीले जुन दरमा आफ्नो विद्युत् बिक्री गर्छ, त्यही दरमै नेपालले पाउने विद्युत् पनि बिक्री गर्नुपर्नेछ । तर, यसमा भने त्यस्तो सर्त नराखिएको स्रोतको भनाइ छ ।  

यस्तै, अरुण तेस्रो नेपालको स्वामित्वमा आएपछि कम्पनीले त्यहाँको बिजुलीका लागि बजार सुनिश्चित गरे मात्रै उक्त आयोजना पूर्ण क्षमतामा चलाउने सर्त राखिएको हो । नभए उक्त आयोजना नेपालले आफ्नो आवश्यकताअनुसार सञ्चालन गर्नेछ । 

अरुण तेस्रोको विद्युत्गृहबाट निस्कने पानीबाटै उक्त आयोजना सञ्चालन हुने हो । त्यसअनुसार अरुण तेस्रो पूर्ण क्षमतामा सञ्चालन भए मात्रै तल्लो अरुण पनि पूर्ण क्षमतामा सञ्चालन हुन सक्छ । अरुण तेस्रो कम क्षमतामा सञ्चालन भए तल्लो अरुणको पनि कम क्षमतामा सञ्चालन गर्नुपर्छ । त्यो अवस्थामा कम्पनीले अरुण तेस्रो नेपाललाई हस्तान्तरण गरेर तल्लो अरुण मात्रै सञ्चालनका वेलामा यो सर्त लागू हुनेछ । 

यी दुवै आयोजनाको लाइसेन्स अवधि २५–२५ वर्षको छ । त्यसअनुसार सञ्चालनमा आएको २५ वर्षपछि आयोजना सरकारलाई निःशुल्क हस्तान्तरण गर्नुपर्छ । तल्लो अरुणको निर्माण कार्य नै सुरु भएको छैन । तर, अरुण तेस्रो अब केही वर्षमै सञ्चालनमा आउँछ । त्यसअनुसार त्यसको लाइसेन्स अवधि पनि छिट्टै सकिन्छ । तर, तल्लो अरुणको लाइसेन्स अवधि कायमै हुन्छ । अरुण तेस्रो नेपाललाई हस्तान्तरण गरेपछि कम्पनीले केही वर्षसम्म तल्लो अरुण मात्रै सञ्चालन गर्ने अवस्था आउनेछ । त्यस अवधिका लागि यो सर्त लागू गरिएको हो । 

यद्यपि, यसमा कम्पनीलाई १५ वर्षसम्म आयकरमा शतप्रतिशत छुट दिइनेछ  । यद्यपि, कम्पनीलाई रोयल्टीलगायतका शीर्षकमा छुट दिइएको छैन । कम्पनीले प्रचलित ऐनअनुसार नेपाललाई रोयल्टी बुझाउनुपर्ने हुन्छ । साथै, १५ वर्षपछि हरेक वर्ष ५ प्रतिशतका दरमा थप रोयल्टी बुझाउँदै जानुपर्नेछ ।

यस आयोजनाको लागत अनुमान ९२ अर्ब ६८ करोड रुपैयाँ रहेको छ । रोयल्टी, वन तथा वातावरण शुल्क, निर्यात शुल्क, सेवा शुल्क, कर, निःशुल्क इनर्जीलगायतका शीर्षकमा नेपालले लगानीको दोब्बर रकम आम्दानी गर्नेछ । 

 तमोरमा चिनियाँलाई स्पष्टीकरण सोधिने 
आइतबारको बैठकले सात सय ५६ मेगावाट क्षमताको तमोर जलाशययुक्त जलविद्युत् परियोजना जिम्मा लिएर काम गर्न नसकेको पावर चाइनालाई स्पष्टीकरण सोेध्ने निर्णय पनि गरेको छ ।  पावर चाइनासँग १९ जनवरी २०२० मा यससम्बन्धी समझदारी भएको थियो । विशेष गरी एचआइडिसिएलसँगको सहकार्यमा पावर चाइनाको नै बहुमत सेयर हुने गरी उक्त समझदारी गरिएको थियो । तर, कम्पनीको कार्यसम्पादन चित्तबुझ्दो नभएपछि स्पष्टीकरण सोध्ने निर्णय गरिएको हो । पछिल्लो समय कम्पनीले एचआइडिसिएललाई नै बहुमत सेयर लिन आग्रह गर्दै आएको छ । यी यस्ता अवस्थालाई दृष्टिगत गर्दै बोर्डले ३० दिनको म्यादसहित स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।  

सुझावित समाचार