ललितपुरका मुख्य–मुख्य चोक ‘हाई मास्ट’ले झलमल्ल

सोमबार, ८ जेठ, २०८०
डिजिटल संस्करण

ललितपुुर महानगरपालिकाले रात्रिकालीन यात्रालाई सहज बनाउन अग्लो खम्बा (पाँचतले)मा १६ वाटको बत्ती बाल्ल थालेको छ । महानगरले पहिलो चरणका रूपमा यो हाई मास्ट (उच्च मात्रामा प्रकाश दिने बत्ती)लाई पुल्चोक र जावलाखेलमा प्रयोगमा ल्याएको हो ।

अन्य ११ स्थानमा पनि चाँडै नै ‘हाई मास्ट’ राख्ने महानगरका प्रवक्ता राजु महर्जनले बताए । ‘रात्रिकालीन यात्रालाई सहज र सुरक्षित बनाउन पहिलो चरणमा दुई ठाउँमा हाई मास्ट जडान गरिसकेका छौँ । यी दुई ठाउँमा दुई दिनअघिबाट बत्ती बल्न थालिसकेको छ,’ प्रवक्ता महर्जनले भने, ‘अब शंखमूल पार्कअगाडि राख्ने तयारी छ । त्यहाँ एक–दुई दिनमै बत्ती बल्न थाल्छ ।’ महर्जनका अनुसार बाँकी १० ठाउँमा पनि दुई साताभित्र हाई मास्ट प्रयोगमा आउनेछन् । 

 यी स्थानमा चाँडै बल्दै छन् ‘हाई मास्ट’
महानगरका अनुसार कुपन्डोल पुल, हिमालय होटेलअगाडिको सहिद शुक्रराज शास्त्रीपार्क, पुल्चोक नबिल बैंकअगाडि, जावलाखेल, लगनखेल बसपार्क, लगनखेल महालक्ष्मी मन्दिर, धोबीघाट ठाडो ढुंगा, धोबीघाट ढुंगेधारा, बुङमती बसपार्क, शंखमूल पार्कलगायत ११ ठाउँमा हाई मास्ट राख्ने स्थान तय भएको छ । यसबाहेक बाँकी दुई ठाउँमा पनि हाई मास्ट राखिने, तर स्थान तय नभएको महानगरले जनाएको छ । पहिचान भएको ठाउँमा फाउन्डेसनको काम भइरहेको छ । ‘सुरुमा १२ ठाउँमा मात्र ‘हाई मास्ट’ राख्ने भने पनि १४ वटा हाई मास्ट ल्याएका छौँ । बाँकी दुई ठाउँमा ‘हाई मास्ट’ राख्ने ठाउँको पहिचान हुन बाँकी छ,’ उनले भने । 

तेस्रो  चरणको सडकबत्ती राख्न तयारी पूरा 
महानगरपालिकाभित्र तेस्रो चरणअन्तर्गतको सडकबत्ती राख्ने तयारी पूरा भएको छ । यसका लागि सम्भाव्यता अध्ययन, टेन्डर आह्वानलगायतको तयारी पूरा भएको महानगरले जनाएको छ । ‘तेस्रो चरणको सडकबत्ती राख्ने तयारी लगभग पूरा भएको छ । दोस्रो चरणअन्तर्गत केही विवाद देखिएका कारण तेस्रो चरणको काम सुरु हुन नसकेको हो । चाँडै समस्या समाधान गरेर दोस्रो चरण पूरा हुनेछ । त्यसपछि तेस्रो चरणको काम सुरु हुन्छ,’ प्रवक्ता महर्जनले भने । 

तेस्रो चरणअन्तर्गत महानगरले बल्खुदेखि बालकुमारीसम्म ७ दशमल ९ किलोमिटर क्षेत्रमा बत्ती जडान गर्नेछ । बत्ती जडानका लागि करिब दुई करोड लागत अनुमान छ । काम सुरु भएको सात महिनाभित्र बत्ती बल्नेछ । ‘चक्रपथको कुसुन्ती र धोबीघाट जक्सनमा सडकबत्ती नभएर दुर्घटनाको जोखिम छ । दुर्घटनाका कारण मानिसको मृत्युसमेत भएको छ । यहाँ सडकबत्ती जडान हुनेबित्तिकै दुर्घटना घटाउन टेवा पुग्छ,’ उनले भने ।

 दोस्रो चरणमा १४ सय सडकबत्ती जडान
महानगरले दोस्रो चरणअन्तर्गत करिब १४ सय सडकबत्ती जडान गरिसकेको छ । यसअन्तर्गत कुपन्डोल, लगनखेल, पुल्चोक, धापाखेल, झम्सीखेल, हरिसिद्धि, बुङमती, खोकना, फर्सीडोल, पाटनढोका, मंगलबजार, सुनाकोठी, खोकना, भँैसीपाटी हुँदै गोदावरी नगरपालिकाको सीमासम्म सडकबत्ती राखिएको छ । ती सडकखण्डको धेरै ठाउँमा बत्ती बल्नसमेत थालिसकेको छ । बत्ती जडानमा महानगरको ६० प्रतिशत र नेपाल विद्युत् प्राधिकरणको ४० प्रतिशत लागत छ । उनका अनुसार पहिलो चरणअन्तर्गत बत्ती राखिएका ठाउँबाट सकारात्मक प्रतिक्रिया आएपछि दोस्रो चरणको काम सुरु गरिएको थियो ।

महानगरले पहिलो चरणअन्तर्गतको ६ सय स्मार्ट सडकबत्ती फागुन ०७७ मै जडान गरिसकेको हो । यसअन्तर्गत कुपन्डोल, सातदोबाटो, पुल्चोक, ग्वार्को र मंगलबजार क्षेत्रमा सडकबत्ती राखिएको थियो । सवारी दुर्घटनाको प्रमुख कारण अँध्यारो सडक भएकाले सडकबत्ती राख्न थालिएको महानगरले जनाएको छ । 

सुझावित समाचार