प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद रघुजी पन्तले आफ्नो एजेन्डामा सहमत गराउन भारतले प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमण पछि सार्दै लगेको दाबी गरेका छन्।
पूर्वराजा ज्ञानेन्द्र शाहलाई भने उत्तरप्रदेशमा स्वागत गरेर भारतले प्रधानमन्त्रीमाथि भने आफ्नो एजेन्डामा सहमत गराउन दबाब कूटनीति अवलम्बन गरिरहेको उनको आरोप थियो।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पन्तले प्रधानमन्त्री दाहाल र नेपाल सरकारलाई भारतको सो कूटनीतिको दबाबमा नपर्न पनि सचेत गराए।
उनले इतिहासमा कहिल्यै पनि पराधीन नभएको नेपाल र त्यस देशका प्रधानमन्त्रीको भारत भ्रमणको कार्यसूचीमा देशको शिर निहुर्याउने, देशलाई अप्ठ्यारोमा पार्ने, नेपालको स्वाभिमान गिराउने कुनै पनि एजेन्डा हुन नहुनेतर्फ पनि गम्भीर ध्यानाकर्षण गराए।
सांसद पन्तले भने, ‘भारतमा नेपालको प्रधानमन्त्रीलाई जान नदिने, तर नेपाली जनताले हटाएको राजालाई प्रधानमन्त्रीको सट्टा स्वागत गर्ने र प्रेसर डिप्लोमेसी यो वर्ल्ड डिप्लोमेसीमा चलनचल्तीको शब्द हो । दबाबको कूटनीति । के एजेन्डा मेरो पूरा गर्छौ, मेरो एजेन्डा तिम्रो कार्यसूचीमा पर्छ कि पर्दैन ? अनि मात्रै भारतमा म तिमीलाई स्वागत गर्छु भनेर त्यसका लागि दबाब दिन राजालाई भारतमा स्वागत गरियो । म भन्छु सभामुख महोदय, म प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु– यो प्रेसर डिप्लोमेसीमा नेपालको सरकार पर्नुहुँदैन । नेपालको प्रधानमन्त्री पर्नुहुँदैन । भारत भ्रमणको क्रममा नेपालको शिर निहुर्याउने, नेपाललाई अप्ठ्यारोमा पार्ने, नेपालको स्वाभिमान गिराउने कुनै पनि एजेन्डा प्रधानमन्त्रीको भ्रमणको कार्यसूचीमा नरहोस्।’