बाल यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका शुभद्रा–मदन फाउन्डेसन (शुभम्)’ का संरक्षक मदन राईलाई थप अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न प्रहरीलाई जिल्ला अदालत खोटाङले आदेश दिएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका– २ सोल्मामा सञ्चालित शुभम् फाउन्डेसनमा आवासीय रूपमा बसेर पढ्ने बालिका र किशोरीलाई यौन दुर्व्यवहारको आरोपमा गत शुक्रबार प्रक्राउ परेका राईमाथि अदालतले आइतबार सात दिनको म्याद थप गरेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको हो ।
हिरासतमा रहेका राईमाथि एकजना पीडितले बाल यौन दुर्व्यवहारसम्बन्धी कसुरअन्तर्गत दिएको उजुरीसमेत दर्ता गरेर कारबाहीको प्रक्रिया थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिए । ‘शुभम् फाउन्डेसनका संरक्षक मदन राईविरुद्ध एकजना पीडितले लिखित तथा तीनजनाले मौखिक उजुरी दिएका छन् । उहाँहरूले दिएको उजुरीका आधारमा कारबाहीको प्रक्रिया थालिएको छ,’ उनले भने, ‘अहिले अनुसन्धानका क्रममा भएकाले केही भन्न सकिने अवस्था छैन । अनुसन्धानपछि थप पुष्टि हुँदै जानेछ । बाँकी तीनजनाले पनि लिखित उजुरी दिने बताएका छन् ।’
कुटो–कोदालोदेखि कम्प्युटरसम्म पढाइ हुने भनिएको विद्यालयका संरक्षक राईले आफूहरूको संवेदनशील अंगमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अंगमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लील हर्कत गर्नेलगायत आरोपसहित पीडित पक्षले मौखिक उजुरी दिएको प्रहरीले जनाएको छ । राईलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेर अनुसन्धान सुरु गरेपछि मौखिक उजुरी दिनेलाई किटानी जाहेरी दिन कार्यालयमा बोलाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए ।