नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोप लगाउँदै कांग्रेस केन्द्रीय सदस्य आरजु देउवा राणालाई हेटौँडामा कालो झन्डा देखाउन खोज्ने एकजना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बागमती प्रदेश नीति तथा योजना आयोगले आयोजना गरेको महिलाहरूको पहुँच अभिवृद्धि तथा आर्थिक सशक्तीकरणसम्बन्धी आगामी कार्यदिशा तर्जुमा, अन्तर्क्रिया तथा सुझाव संकलन कार्यक्रम सहभागी हुन बिहीवार हेटौँडा आएकी केन्द्रीय सदस्य राणालाई कालो झन्डा देखाउन खोजेको भन्दै हेटौँडाका कृष्णराज कोइरालालाई प्रहरीले पक्राउ गरेको हो।
उनलाई हेटौँडा–२ स्थित कान्तिराजपथबाट पक्राउ गरेको मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक वामदेव गौतमले जानकारी दिए।
कोइरालालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको प्रहरी उपरीक्षक गौतमले बताए। कोइरालाले बिहीबार बिहान आफ्नो फेसबुक पेजमा राणाको विरोध गर्दै बहिष्कारका लागि आग्रह गरेका थिए।
पक्राउ परेका कोइरालाले कांग्रेस नेतृ राणाले उद्घाटन गर्ने भनिएको हेटौँडा– २ मा रहेको सुपरमार्केटको उद्घाटनस्थलमै उनलाई कालो झन्डा देखाएर विरोध गर्ने तयारी गरेका थिए।