अर्जेन्टिनी कप्तान लियोनल मेसीले लाउरेस वल्र्ड स्पोर्टस् अवार्डअन्तर्गत स्पोर्टस्म्यान जितेका छन् । पेरिसमा सोमबार सम्पन्न एक भव्य कार्यक्रमबीच मेसीले स्पोर्टस्म्यानसिप अवार्ड जित्दा अर्जेन्टिनाले टिम अफ दी इयरको अवार्ड जितेको छ । मेसीले एकै मञ्चमा दुई उपाधि झोलीमा राखेका छन् । सन् २०२० मा पनि मेसीले पहिलोपटक यो उपाधि हात पारेका थिए ।
गत वर्षको नोभेम्बर–डिसेम्बरमा कतारको दोहामा आयोजना भएको विश्वकप फुटबल प्रतियोगितामा मेसीको कप्तानीमा अर्जेन्टिनाले उपाधि जितेको थियो । अर्जेन्टिनाले फाइनलमा फ्रान्सलाई टाइब्रेकरमा हराउँदै तेस्रोपटक विश्वकप उचालेको हो । एकै वर्ष लाउरेस टिम अफ दी इयर तथा उत्कृष्ट खेलाडी हुने मेसी विश्वकै पहिलो खेलाडी बनेका छन् । कतार विश्वकपमा मेसीले गोल्डेन बल जित्दा प्रतियोगिताभरि सात गोल गरेका थिए ।
ट्रफी चुमेपछि मेसीले पेरिस विशेष भएको बताएका छन् । ‘मेरो करिअरमा यो उपाधि महत्वपूर्ण र विशेष रहनेछ,’ पेरिस सेन्ट जर्मेन (पिएसजी)का खेलाडीसमेत रहेका ३५ वर्षीय मेसीले भने, ‘यस सहरले मलाई आएको वेलादेखि नै निकै माया गरेको छ । तीन वर्षअघि पेरिस आउँदा जति माया पाएको थिएँ, त्यो अहिलेसम्म घटेको छैन ।’
अर्जेन्टिना र पिएसजीलाई धन्यवाद
मेसीले आफ्नो उपलब्धिमा अर्जेन्टिनी तथा पिएसजीमा आबद्ध साथीहरूको ठूलो योगदान रहेको जनाएका छन् । ‘यति वेला म अर्जेन्टिनी र पिएसजीका साथीहरूलाई धन्यवाद दिन चाहन्छु, उनीहरूविना यो उपाधि कल्पना पनि गर्न सक्दिनँ,’ उनले भने, ‘हामी सबै यो उपाधिका हकदार हौँ ।’ यसैगरी, महिलातर्फको उपाधि जमैकाका सय मिटर दौडकी स्पिन्टर सेली फ्रेजरले जितेकी छिन् ।
गत वर्षको जुलाईमा आरेगनमा भएको विश्व एथलेटिक्स च्याम्पियनसिपअन्तर्गत सय मिटर दौडमा उनले कीर्तिमानी प्रदर्शन गरी स्वर्ण पदक जितेकी थिइन् । सो विश्व च्याम्पियनसिपमा फ्रेजरले पाँच स्वर्ण जितेकी थिइन् । ३५ वर्षीया फ्रेजर सय मिटर जित्ने भेट्रान्स खेलाडी पनि हुन् । उनले सातपटक सय मिटर दौड १०.७ सेकेन्डमा पूरा गरेकी छिन् ।
इरिक्सन कमब्याक अफ दी इयर
अवार्ड कार्यक्रममा डेनमार्कका मिडफिल्डर क्रिस्टियन इरिक्सनले कमब्याक अफ दी इयरको उपाधि जिते । सन् २०२० को युरोकपमा सहभागी हुँदा क्रिस्टियन मैदानमै कार्डियाक एट्याक्टका कारण ढलेका थिए । जिउने आशा निकै क्षीण रहेको अवस्थामा क्रिस्टियनले हिम्मत हारेनन् । केही महिनापछि नै उनी म्यानचेस्टर युनाइटेडबाट इंग्लिस प्रिमियर लिगमा फर्किए । यसै बहादुर प्रदर्शनका कारण नै उनले कमब्याक अफ दी इयर उपाधि हात पारेका हुन् । यसैगरी, लाउरेस स्पोर्टस् फर गुड अवार्ड बार्सिलोनाका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले पाए ।
यसरी विजेता बन्छन्
विश्वका प्रसिद्ध मिडियाकर्मीहरूले वर्षभरि राष्ट्रिय, अन्तर्राष्ट्रिय र क्लबस्तरीय खेलमा खेलाडीले गरेको प्रदर्शनका आधारमा मनोनयन गर्छन् । त्यसपछि लाउरेस वल्र्ड स्पोर्टस् एकेडेमीका ७१ सदस्यले मनोनयनमा परेका खेलाडीको विश्लेषण गर्छन् । विभिन्न चरणको छलफलपछि ७१ सदस्यले उपाधि विजेताको नाम फाइनल गर्छन् ।