अर्थतन्त्रमा मन्दी देखियो : महासंघ

शुक्रबार, २२ बैशाख, २०८०
डिजिटल संस्करण

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकले विद्यमान मन्दीलाई प्रतिबिम्बित गरेको निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघले बताएको छ । कार्यालयले चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा १.८६ प्रतिशत मात्रै हुने प्रक्षेपण गर्नु र पछिल्ला तीन त्रैमासमा अर्थतन्त्र ऋणात्मक रहनुले अर्थतन्त्रमा मन्दीको अवस्था देखाएको महासंघको ठहर छ । 

उत्पादनमूलक उद्योग, निर्माण र व्यापारको वृद्धिदर ऋणात्मक हुनु भनेको निजी क्षेत्र संकुचित हुँदै गएको संकेत हो । महासंघले एक वर्षदेखि अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्य र मुलुकभित्र भएका नीतिगत परिवर्तनका कारण अर्थतन्त्र मन्दीमा जानेतर्पm सरोकारवालाहरूको ध्यानाकर्षण गराउँदै आएको जनाएको छ ।

‘यसतर्फ सरकार र नेपाल राष्ट्र बैंक थप संवेदनशील हुनुपर्ने महसुस भएको छ, अर्थतन्त्रलाई मन्दीबाट बाहिर ल्याउन बजारमा माग बढाउनुपर्नेछ,’ महासंघले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘उद्यमी–व्यवसायीले काम गर्न नपाउँदा राजस्व पनि करिब १६ प्रतिशतले ऋणात्मक हुँदा बजारमा माग बढाउन सरकारले अनावश्यक खर्च कटौती गरी पुँजीगत खर्च बढाउन आग्रह गर्छौँ ।’  

निजी क्षेत्रको लगानी विस्तार गर्न तत्काल ब्याजदर कम गर्ने उपाय केन्द्रीय बैंकले अवलम्बन गर्नुपर्ने पनि महासंघले बताएको छ । केन्द्रीय बैंकले मुख्यतया नीतिगत दर, बैंकदर, अनिवार्य नगद अनुपात घटाउनेलगायत आवश्यक उपाय अवलम्बन गरी ब्याजदर घटाउन पहल गर्नुपर्छ । ‘यस्तै, पुराना ऋणीहरूले साँवा–ब्याज भुक्तानी गर्न नसक्दा बैंकहरूको खराब कर्जासमेत करिब ४ प्रतिशत पुगिसकेको हुँदा कर्जाको पुनर्संरचना एवं पुनर्तालिकीकरणको सुविधा दिइनुपर्ने हाम्रो सुुझाव छ,’ विज्ञप्तिमा भनिएको छ । 

नौ महिनायता लगातार ७ प्रतिशतभन्दा बढी मूल्यवृद्धिदर रहँदै आएकाले आमउपभोक्ताको क्रयशक्ति क्रमशः घटिरहेको छ । निजी क्षेत्रले निर्बाध काम गर्न नपाउँदा सरकार र आमउपभोक्तासमेत सँगसँगै प्रभावित भइरहेकाले तत्काल सुधारको कार्य नथाल्ने हो भने अर्थतन्त्रको मन्दी लम्बिँदै जानेतर्फ महासंघले सरकार र केन्द्रीय बैंकको ध्यानाकर्षण गराएको छ । 

सुझावित समाचार