दूध उत्पादनका लागि खरिद गरिएका दुहुना गाई चितवन नाकामा अलपत्र परेका छन् । चितवनबाट खरिद गरी सिन्धुली लैजान लागिएका १७ वटा दुहुना गाई चितवनको लोथरमा प्रहरीले रोकेपछि अलपत्र परेका हुन् । दुईवटा गाडीमा राखिएको १७ वटा गाई हिजो साँझदेखि अलपत्र रहेको किसान बाबुराम श्रेष्ठले जानकारी दिए ।
‘यसअघि १४ वटा गाई खरिद गरेर लगेका थियौँ,’ उनले भने, ‘यसपटक गाउँपालिका र वडाको कागजपत्र र सिफारिससहित गाई लैजान लागेको भए पनि सिमानामा रोकियाे ।’
‘ऋण लिएर दूध उत्पादन बढाउने हिसाबले खरिद गरिएका गाई हामीलाई मासुका लागि तस्करी गरेको भनेर रोकियो,’ उनले दुःखेसो गर्दै भने, ‘दिउँसो अत्यधिक मात्रामा गर्मी हुन्छ, गाईलाई समस्या हुन्छ भनेर साँझ नै गाडीमा लोड गरिएका गाई गाडीभित्रै भोकभौकै छन् ।’
हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्थाले सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिकामा रहेका कृषकलाई व्यावसायीक बनाउने उद्देश्यले व्यावसायिक पशुपालनलाई अभियानकै रूपमा अघि बढाएपछि त्यहाँका किसानले पशुपालनको कार्य थालेका छन् ।
सहकारीका प्रबन्ध सञ्चालक सुमन थापाले भने, ‘हाम्रो यो ठाउँ दूध उत्पादनको लागि भर्जिन ल्यान्ड हो । चितवन, मकवानपुरलगायतका जिल्लाबाट गाई ल्याउनुको विकल्प हामीसँग छैन । तर, प्रहरी प्रशासनमार्फत किसानलाई हतोत्साहित गराउने काम भएको छ ।’
थापाका अनुसार गोलन्जोर गाउँपालिकाको वडा नम्बर ३, ५, ६ र ७ का कृषकलाई कृषक समूह श्रीकृष्ण कृषि तथा दुग्ध उत्पादक कृषक समूहमार्फत संगठित गर्दै दूध उत्पादनका लागि पशुपालनसम्बन्धी कार्यको थालनी गरिएको हो ।
गाई दूध र स्रोत केन्द्रको रूपमा चितवनलाई लिने गरिन्छ । किसानले एक लाखदेखि डेढ लाख रुपैयाँसम्ममा खरिद गरेर ५० वटा गाई क्रमिक रूपमा सिन्धुली लैजाने तयारीमा छन् ।
जिल्ला दूध उत्पादक सहकारी संघ चितवनका अध्यक्ष किशोर बगाले यो कार्य प्रहरी प्रशासनको किसानमाथिको हेपाहा कार्य भएको बताउँछन् । ‘यहाँ विदेशबाट उत्पादन बढाउन गाई ल्याउने कुरा गरिन्छ । त्यसका लागि राज्यशक्ति नै लाग्छ । तर, एक जिल्लाबाट अर्को जिल्लामा किसानलाई गाई पठाउँदा रोकावट किन हुन्छ ?’ उनले प्रश्न गरे।
सम्बन्धित पालिकाको सिफारिस नभएको कारण गाई पठाउन रोकिएको प्रहरी प्रशासनको भनाइ छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीले सिफारिस नभएको कारण गाई पठाउन नसकिएको बताए ।
उनले भने, ‘चितवनको नाकामा मात्र होइन, सम्बन्धित पालिकाको सिफारिस नभएपछि अन्यत्र नाकामा पनि गाई रोकिन्छ । अरू स्वर्थ केही होइन । सम्बन्धित पालिकाको सिफारिस भयो भने हामीलाई केही समस्या हुँदैन । अघिल्लोपटक पनि उहाँहरूले गाई लानुभएको थियो । त्यो समयमा व्यावहारिकता हेरेर पठाइयो। सधैँ यसरी नै पठाउँदा राजमार्गमा तस्करी गर्नेहरूलाई प्रोत्सान हुन सक्छ ।’
नयाँ पत्रिकालाई पालिकाको सिफारिस देखाउँदै किसानहरूले भने, ‘विनाकारण गाई सडकमा अलपत्र पारिएको छ । हामीसँग सम्बन्धित पालिकाको सिफारिस पत्र छ ।’


