डिएलएस नियमअनुसार युएईले दोस्रो सेमिफाइनलमा ओमानलाई दुई रनले हरायो
एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको शनिबार दोस्रो सेमिफाइनलमा युएई भाग्यमानी साबित भएको छ । मूलपानी क्रिकेट मैदानमा वर्षाका कारण खेल डिएलएस नियमअनुसार नतिजा निकालिँदा युएईले ओमानलाई केवल दुई रनले हराउँदै फाइनल स्थान पक्का गर्यो । युएईले सोमबार नेपालविरुद्ध उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । मूलपानी मैदानमा पहिलो ब्याटिङ गरेको युएई ४९.२ ओभरमा दुई सय ३६ रनमा अलआउट भएको थियो । ओमानले लक्ष्य पछ्याउँदा भारी वर्षा भयो । त्यसपछि डिएलएस नियमअनुसार ओमानले नयाँ लक्ष्य एक सय ९३ रन पाएको थियो । ४३ ओभरसम्म ब्याटिङ सम्भव भयो । ओमानले नयाँ लक्ष्य पछ्याउँदा ४३ ओभरसम्म ६ विकेट गुमाएर एक सय ९० रन बनाएको थियो ।
ओमानले दोस्रो इनिङ्स पूरै २० ओभर पूरा गर्दा वर्षाले खेल रोकिँदा नतिजा डिएलएस नियमअनुसार निस्कियो । जसमा युएईले ओमानलाई झिनो दुई रनले हराएको थियो । वर्षाले खेल पूर्ण रूपले रोकिनुअघि ४२औँ र ४३औँ ओभरमा ओमानले लगातार दुई विकेट गुमाएको थियो । यही दुई विकेटका कारण नै ओमानको फाइनल खेल्ने सपना तुहिएको हो ।
ओमानद्वारा चुनौती
ओमानले युएईलाई ब्याटिङ र बलिङमा चुनौती दिएको थियो । ओमानका ओपनर कश्यप प्रजापति र जितेन्दर सिंहले पहिलो विकेटका लागि १५.३ ओभरमा ७९ रनको साझेदारी गरेका थिए । प्रजापतिले ४३ बलमा नौ चौकाको सहयोगमा सर्वाधिक ४९ रन बनाएका थिए । इनिङ्सको १९.२ ओभरमा ओमानले दोस्रो ओपनर जितेन्दरलाई गुमाएको थियो । जितेन्दरले ६५ बलमा ६ चौकाको सहयोगमा ४२ रन जोडे ।
त्यसपछि कप्तान जिसन मक्सुद र मोहमद नदिमले चौथो विकेटका लागि ६२ रनको साझेदारी गर्दै ओमानलाई १८१–४ को स्थितिमा राखे । यसवेलासम्म ओमान विकेटका आधारमा युएईभन्दा अगाडि थियो । तर, त्यसपछिका दुई ओभरमा लगातार दुई विकेट गुमाउँदा युएईले डिएलएस नियमअनुसार युएईले बाजी मार्यो । युएईका लागि कार्थिकले सात ओभरमा एक मेडन राखी तीन विकेट लिए । उनले आफ्नो स्पेलमा ४२ रन खर्चेका थिए । बासिल हमिदले सन्दीप गौउडको महत्वपूर्ण विकेट हात पारे ।
विलाल र मक्सुदको घातक बलिङ
पहिलो ब्याटिङ गरेको युएईले ओमानका दुई बलरको सामना गर्न नसक्दा नै बलियो योगफल खडा गर्न नसकेको हो । विलाल खानले ९.२ ओभरमा ४४ रन खर्चेर चार विकेट लिए । कप्तान मक्सुदले पनि ३२ रन दिएर चारै विकेट हात पार्दा युएईको बलियो ब्याटिङ सेमिफाइनलमा कमजोर देखिएको हो । यद्यपि, युएईले सुरुवात निकै उत्कृष्ट पार्यो । इनिङ्सको १०.२ ओभरमा युएईले पहिलो विकेटका लागि ६२ रनको साझेदारी गर्यो । मुहमद वासिमले ३१ बलमा समान चार चौका र छक्का प्रहार गरी ४८ रनको योगदान दिए । त्यसपछि ओपनर आर्यान लार्का र रमिज साहजादले तेस्रो विकेटका लागि ५१ रन जोडे । प्रतियोगितामा उत्कृष्ट फर्ममा रहेका आर्यानले ६८ बलमा २५ रन बनाए । प्रतियोगितामा दुई शतक बनाएका भृत्या अरविन्दले १८ रन जोडे ।
रमिजले ५८ बलमा ६ चौका र एक छक्काको सहयोगमा ४६ रनको योगदान दिए । आसिफ खानले ४० बलमा तीन चौका र दुई छक्का प्रहार गरी ३४ रन बनाए । मध्यक्रममा वासिल हमिदले ४३ बलमा ३४ रन जोड्दा समान दुई चौका र छक्का प्रहार गरे ।
मूलपानी मैदानमा पहिलो एकदिवसीय खेल
१८ वर्षपछि मूलपानी क्रिकेट मैदानमा पहिलो अन्तर्राष्ट्रिय खेल एसिसी प्रिमियर कप क्रिकेट प्रतियोतिगाबाटै भयो । यसै प्रतियोगिताअन्तर्गत ओमान र युएईबीचको खेलले अन्तर्राष्ट्रिय एकदिवसीय खेलको मान्यता प्राप्त गरेको छ । ओमान र युएई आइसिसीको एकदिवसीय मान्यताप्राप्त राष्ट्र हुन् । आइसिसीले मूलपानी क्रिकेट मैदानमा एकदिवसीय खेल खेलाउन सक्ने जनाउँदै खेललाई एकदिवसीयको मान्यता प्रदान गरेको हो ।
नेपाल र युएई एसिसी इमर्जिङ कपमा छनोट
नेपाल र युएई जुलाईमा हुने एसिसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएका छन् । नेपाल र युएईले एसिसी प्रिमियर कपको फाइनलमा स्थान बनाएसँगै एसिसी इमर्जिङ टिम्स एसिया कपका लागि स्थान बनाएका हुन् । इमर्जिङ टिम्स एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तानका यू–२३ टोलीसँगै प्रिमियर कपका शीर्ष तीन टोली हुनेछन् । आइतबार कुवेत र ओमानबीच हुने तेस्रो स्थानको विजेता टोलीले पनि इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाउनेछ ।