उपनिर्वाचनको परिणामले एमालेमा तात्विक अर्थ राख्दैन : विष्णु रिमाल

मंगलबार, १२ बैशाख, २०८०
डिजिटल संस्करण

नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले तीनवटै क्षेत्रमा भएको उपनिर्वाचनको परिणामले एमालेमा तात्विक अर्थ नराख्ने बताएका छन्।

चितवन, तनहुँ र बाराको उपनिर्वाचनबाट आफ्ना उम्मेदवार आउनु र नआउनुले अंकगणितीय हिसाबले एमालेलाई खासै प्रभाव नपार्ने उनको तर्क छ। प्रेस चौतारी धादिङले मंगलबार धादिङबेंसीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमालेले आफ्नो विषयलाई ब्रान्डिङ गरिरहेको बताए। 

‘हामीलाई अहिले तीन सिट घट्नु र बढ्नुको तात्विक अर्थ छैन,’ उनले भने, ‘मतदातालाई आफ्ना विषयबारे सचेत गराउन मात्रै उपनिर्वाचनमा एमालेले उपस्थिति जनाएको हो। अघिल्लो निर्वाचनमा पनि तनहुँ र चितवनमा हामीले जितेका थिएनौँ, बारामा छोडेका थियौँ। अहिलेको उपनिर्वाचन हाम्रा लागि प्लस माइनस – जिरो हो। अहिले हामीले प्रक्रियामा भाग लिएका मात्रै हौँ।’

आइतबार भएको तीनवटै उपनिर्वाचन ‘फिल इन द ब्ल्यांक’ मात्रै रहेको रिमालले बताए। ‘यसले राष्ट्रको केही पनि प्रतिनिधित्व गर्दैन। नेपालमा नुनको अभाव देखिनु भनेको आर्थिक मन्दीको संकेत हो,’ उनले भने, ‘आर्थिक हिसाबले मुलुक डरलाग्दो मोडमा छ। तरलता अभावको समस्या छ । तर, सरकारमा बसेकाले यो कुरा बुझेका छैनन्। मन्त्री भएर रमाइलो मानेर बसिरहेका छन्।’

एमालेले एक वर्ष सरकार चलाउन पाएको भए अहिलेको समस्या नआउने उनको दाबी छ।

सुझावित समाचार