सत्ता र प्रमुख प्रतिपक्षी दलबीच संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई निष्कर्षमा पुर्याउन विशेष समिति गठन गर्ने सहमति भएको छ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादीको बैठकमा यस्तो सहमति भएको हो।
प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच विभिन्न संवैधानिक समिति गठनमा पनि सहमति भएको छ।
पछिल्लो गतिरोध अन्त्य गर्दै भएको सहमतिअनुसार एमालेले तीनवटा संवैधानिक समितिको नेतृत्व पाउने भएको छ।
एमालेले सार्वजनिक लेखा समिति, राज्यका निर्देशक सिद्धान्त अनुगमन तथा निर्देशन विशेष समिति र अर्को एक समितिको सभापति लिनेछ।
यस्तै, कांग्रेसले संसदीय विशेष सुनुवाइ समितिको सभापति लिने सहमति भएको छ। प्रतिनिधिसभामा १० वटा विषयगत समिति छन्।
शीर्ष नेताबीच संवैधानिक परिषद्सम्बन्धी विधेयक संसद्बाट सीधै पारित गर्ने सहमति पनि भएको छ। संवैधानिक परिषद्सम्बन्धी कानुनमा समस्या हुँदा प्रधानन्यायाधीश नियुक्तिको सिफारिस हुन सकेको छैन।