प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले छिट्टै समाजवादी मोर्चा गठन हुने घोषणा गरेका छन् । समाजवादी मोर्चा हुँदै पार्टी एकता गर्ने लक्ष्य रहेको उनीहरूले स्पष्ट पारेका छन् ।
नेकपा स्थापना दिवसका अवसरमा एकीकृत समाजवादीले आइतबार राजधानीमा आयोजना गरेको ‘नेपाली कम्युनिस्ट आन्दोलन : उपलब्धि, चुनौती र सम्भावना’ विषयक विचार गोष्ठीमा प्रचण्ड र नेपालले समाजवादी मोर्चाले बृहत् कम्युनिस्ट एकताका लागि सबैलाई अपिल गर्ने बताए ।
‘केही दिनभित्रै समाजवादी मोर्चा गठन गरिनेछ,’ प्रचण्डले भने, ‘फेरि पनि हामीले सही विचार र सही नीतिका आधारमा कम्युनिस्टहरूलाई एकताबद्ध गर्ने कुरा जारी राख्नुपर्छ । हामी त्यही प्रक्रियामा छौँ ।’ राष्ट्र र जनताको आवश्यकताअनुसार कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने उनको भनाइ थियो । ‘हामी ध्रुवीकरणकै पक्षमा छौँ । राष्ट्र र जनताको आवश्यकताअनुसार कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ भन्ने पक्षमा छौँ ।
नेकपातिर नै फर्किनुपर्छ । कम्युनिस्ट पार्टीभित्र नेतृत्वलाई भन्ने ‘की’ हो, चाबी हो नेतृत्व भन्ने गरिन्छ । हो पनि । नेतृत्वले गलत विचार र प्रवृत्ति अंगीकार गर्यो भने धेरै ठूलो क्षति हुन्छ र ठूलो प्रतिक्रान्ति हुन्छ । त्यो हामीले अन्तर्राष्ट्रिय आन्दोलन र क्रान्तिमा पनि देख्यौँ । हामीले आफ्नै आँखाअगाडि पनि देख्यौँ ।’ प्रचण्डले एकता, संघर्ष, रूपान्तरणसहित नयाँ आधारमा नयाँ एकता खोज्नुपर्नेमा जोड दिए ।
नेपालले छिट्टै समाजवादी मोर्चा बनाएर जनतासामु घोषणा गर्ने जानकारी दिए । उनले संस्थागत रूपमै कम्युनिस्ट वामपन्थी शक्तिहरूसँग सहकार्यको नीति अघि सारेको बताए । ‘एकीकृत समाजवादीले संगठन विस्तार, संगठन सुदृढ गर्ने अभियान चलाउनुका साथसाथै कम्युनिस्ट वामपन्थी शक्तिहरूसँग सहकार्यको नीति अघि सारेको छ ।