स्वास्थ्यमा सुधार आएपछि राष्ट्रपति पौडेललाई नर्मल वार्डमा सारियो

सोमबार, ११ बैशाख, २०८०
डिजिटल संस्करण

दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युड अफ मेडिकल साइन्सेस (एम्स) अस्पतालमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधारसँगै नर्मल वार्डमा सारिएको छ । राष्ट्रपतिको सचिवालयका अनुसार शनिबार आइसियूबाट प्राइभेट वार्डमा सारिएको हो । ६ वैशाखमा भर्नासँगै आइसियूमा राखेर उपचार थालिएको थियो । 

राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ । ‘चिकित्सकको जानकारीअनुसार स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ । शनिबार आइसियूबाट प्राइभेट वार्डमा सारिएको छ । स्वास्थ्य परीक्षण पनि क्रमिक रूपमा भइरहेको छ,’ उनले नयाँ पत्रिकासँग भने । नेपालमा भएका स्वास्थ्य परीक्षणको पुनः परीक्षण गरिएको छ । 

राष्ट्रपति पौडेलको उपचारमा अस्पतालका पल्मोनरी, क्रिटिकल केयर तथा स्लिप मेडिसिन विभागका प्रमुख प्राडा अनन्त मोहन र आइसियूविज्ञ डा. पुनीत मिश्रको गरी दुई टोली संलग्न छ । गत मंगलबार श्वास–प्रश्वासमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका राष्ट्रपति पौडेललाई बुधबार चिकित्सक र परिवारको सल्लाहमा दिल्ली लगिएको थियो । 

राष्ट्रपति पौडेलको साथमा निजी चिकित्सक नीरज बम, परिवारका सदस्यसहित सातजना चिकित्सकको टोली दिल्लीमा छ । राष्ट्रपति पौडेलको छातीमा संक्रमण देखिएको चिकित्सकले बताएका छन् । 

सुझावित समाचार