आइएमई अटोमोटिभ एस्कर्टसले महिलालाई निःशुल्क हेभी इक्युपमेन्ट अपरेटर, ब्याक हो लोडर तालिमको आयोजना गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बिहीबारदेखि सुरु भएको तालिमको उद्घाटन गरेका हुन् ।
कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष ढकालले महासंघको अध्यक्षका रूपमा आफूले राखेका पाँचवटा प्राथमिकतामा सीपयुक्त जनशक्ति उत्पादन उच्च प्राथमिकतामा रहेको बताए । जनशक्तिलाई दक्ष बनाउन सकेमा उद्योग–व्यवसायमा आवश्यक दक्ष जनशक्तिको अभाव पूरा हुने र वैदेशिक रोजगारमा जाँदा पनि प्रतिष्ठित र उच्च तलबमान पाउन सकिने उनको भनाइ थियो । त्यसैले, आफूले सीपमूलक तालिम र दक्ष जनशक्ति उत्पादन तथा विकासमा विशेष पहल लिने अध्यक्ष ढकालले बताए ।
महिलालाई सीप दिई दक्ष बनाउन सकेमा महिला सशक्तीकरणमा समेत विशेष योगदान पुग्ने अध्यक्ष ढकालले धारणा राखे । यस तालिमले सीप आर्जन गरी रोजगारीको अवसर पाउने र महिलालाई हेर्ने पुरातन सामाजिक सोचमा समेत परिवर्तन आउने उनको भनाइ थियो ।
‘हामीले सवारीचालक भन्नेबित्तिकै पुरुषलाई बुझ्ने गर्छौँ । तर, समय बदलिएसँगै हेभी इक्युपमेन्ट अपरेटरमा समेत महिलाले आफूलाई प्रमाणित गर्न सुरु गरिसकेका छन् ।’ अध्यक्ष ढकालले भने, ‘तपाईंहरु पनि त्यो पुरातन सोच र धारणालाई परिवर्तन गर्दै ब्याक हो लोडरको तालिममा सहभागी हुनुभएको छ ।
तपाईंहरुले राम्रोसँग तालिममा सहभागी भई सीप सिकेर दक्ष बन्न भरपूर प्रयास गर्नुहोला । यसले सीप सिकेर रोजगारी मात्र होइन, महिला सशक्तीकरणमा पनि ठूलो प्रभाव पार्नेछ ।’ तालिममा सहभागी महिलालाई सुरक्षित र प्रभावकारी रूपमा ब्याक हो लोडर अपरेसन गर्न आवश्यक सबै किसिमका सीप तथा ज्ञान प्रदान गरिने कम्पनीले जनाएको छ । तालिममा १५ जना महिला सहभागी रहेको जनाइएको छ ।