पशुचौपायामा लाग्ने ‘लम्पी स्किन’ रोग गुल्मीका गाउँहरूमा फैलिन सुरु भएको छ। भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका प्रमुख डाक्टर भरत काफ्लेका अनुसार जिल्लाका पाँच पालिकामा ‘लम्पी स्किन’ देखिएको हो।
रुरु क्षेत्र गाउँपालिका, छत्रकोट, गुल्मी दरबार, चन्द्रकोट र कालीगण्डकी गाउँपालिकाका पशु चौपायामा ‘लम्पी स्किन’ फैलिएपछि किसान समस्यामा परेका छन्। केन्द्रले १५ वटा पशुमा लक्षण देखिएपछि सातवटाको नमुना जाँच गर्दा एउटामा रोग पुष्टि भएको डाक्टर काफ्लेले जानकारी दिए।
रुरु क्षेत्र– ५ बम्घामा ८० घरपरिवारले पशुपालन गर्ने गर्दछन् । बम्घाबाट दैनिक आठ सय लिटर दूध उत्पादन हुन्छ । तर, सोही ठाउँ नै ‘लम्पी स्किन’ रोगबाट प्रभावित भएको छ। यो रोगको कारण ८० प्रतिशतसम्म दूध सुक्ने काफ्लेले बताए।
‘लम्पी स्किन’ रोग सर्ने भएकाले धेरै ठाउँमा फैलिए पनि किसानलाई जानकारी नहुँदा वास्तविक विवरण आफूहरूसँग प्राप्त नभएको विज्ञ केन्द्रले जनाएको छ । नेपालमा दुई वर्षअघि देखिएको यो रोग ‘लम्पी स्किन’ भाइरसका कारण लामखुट्टे, झिँगा र किर्नाको टोकाइबाट सजिलै रोगी पशुबाट निरोगी पशुमा सर्ने भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख भरत काफ्लेले बताए।
रोग लागेपछि गाईवस्तुका घाँटी, पुच्छरलगायत शरीरका विभिन्न भागमा साना–ठूला गिर्खाहरू देखापर्ने, मुखबाट फिँज धेरै निकाल्ने, उच्च ज्वरो, कचेरा र सिँगान बग्नेजस्ता लक्षण देखापर्ने गर्दछ। आफूहरू प्रभावित स्थानमा पुगेर रोग नियन्त्रणमा सहयोग पुर्याउन किसानलाई आवश्यक परामर्श दिने गरिरहेको काफ्लेले बताए। उनले रोगको नियन्त्रणका लागि प्रभावित क्षेत्रका गाई–भैँसी खरिद–बिक्री तथा ओसारपसार नगर्न, रोगी पशुलाई अलग राखी उपचारमा लाग्न, पशुलाई बाहिर चराउन नलैजान आग्रह गरेका छन्।