लोकसेवा छलेर गरिएको कर्मचारी बढुवा रद्द

सोमबार, ४ बैशाख, २०८०
डिजिटल संस्करण

धरान उपमहानगरपालिकाले लोकसेवा आयोगलाई छलेर गरेको कर्मचारीको स्तरवृद्धि (बढुवा) रद्द भएको छ । कोसी प्रदेश लोकसेवा आयोगले ३९ कर्मचारीको स्तरवृद्धि रद्द गरेपछि वृद्धि भएको तलब पनि फिर्ता गर्नुपर्ने भएको छ । धरान उपमहानगरको २१ फागुन ०७७ को नगर सभाले ३९ आन्तरिक कर्मचारीको स्तरवृद्धि गरेको थियो ।

कोसी लोकसेवा आयोगका सूचना अधिकारी केदारनाथ रिजालले नगर सभाको निर्णयबाट गरेको स्तरवृद्धि नीतिसम्मत नदेखिएकाले रद्द गर्न पत्राचार गरेको जानकारी दिए । कुनै पनि सरकारी निकायमा कर्मचारी नियुक्ति, सरुवा, बढुवा वा अन्य कुनै कार्यका लागि प्रदेश लोकसेवा आयोगसँग परामर्श लिनुपर्ने व्यवस्था छ । तर, तत्कालीन मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारीले लोकसेवाको परामर्श नलिई स्तरवृद्धिको निर्णय गरेका थिए । 

कोसी प्रदेश लोकसेवा आयोग नियमावली, २०७७ को नियम ४१ (१) मा स्थानीय सरकारी सेवाको कर्मचारीको सेवाको सर्तसम्बन्धी कानुनको विषयमा आयोगबाट परामर्श लिनुपर्ने प्रावधान छ । नियम ४२ मा स्थानीय सरकारी सेवाको पदमा सरुवा वा बढुवा गर्दा उम्मेदवारको विषयमा आयोगमा परामर्श माग गर्नुपर्ने व्यवस्था छ । 

सुझावित समाचार