यस्ता छन् एसिसी प्रिमियर कपका १० टोली

एसिसी पुरुष प्रिमियर कपका उपाधि दाबेदार नेपाल, युएई र ओमान मात्र एकदिवसीय राष्ट्र

सोमबार, ४ बैशाख, २०८०
डिजिटल संस्करण

एसिसी पुरुष प्रिमियर कप २०२३ मंगलबारबाट सुरु हुँदै छ । एसियन क्रिकेट परिषद् (एसिसी)ले पहिलोपटक प्रतियोगिता नेपालमा आयोजना गर्न लागेको हो । एसिसीले त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट र मूलपानी माथिल्लो क्रिकेट मैदानमा प्रतियोगिता गर्नेछ । समग्रमा एसिसी प्रिमियरमा २४ खेल हुनेछन् । एक सेमिफाइनलसहित ११ खेल मूलपानी मैदानमा हुने तालिका छ ।

मूलपानी मैदानले पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न लागेको हो । च्याम्पियन टोलीले एसिया कपमा स्थान बनाउनेछ । एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानजस्ता टेस्ट मान्यता राष्ट्र हुनेछन् । एसिसी प्रिमियरमा साउदी र बहराइन एसिसी च्यालेन्जर कपका लागि छनोट भएका हुन् । प्रतियोगितामा नेपाल, ओमान र युएई मात्रै एकदिवसीय मान्यताप्राप्त राष्ट्र हुन् । अन्य आठ टोलीले एकदिवसीय मान्यता पाएका छैनन् । नेपाल र युएई तथा ओमानलाई उपाधि दाबेदार मानिएको छ । 

समूह ‘ए’मा नेपालसहित मलेसिया, ओमान, कतार र साउदी अरेबिया छन् । यसैगरी, समूह ‘बी’मा संयुक्त अरब इमिरेट्स (युएई)सहित सिंगापुर, बहराइन, हङकङ र कुवेत छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा स्थान बनाउनेछन् ।

नेपाल : आइसिसीको १४औँ एकदिवसीय वरीयताप्राप्त नेपाल घरेलु टोली हो । आइसिसी विश्वकप लिग–२ मा ग्लोबल छनोटसँगै एकदिवसीय मान्यता रक्षा गरेपछि नेपाली टोली उच्च मनोबलका साथ प्रतियोगितामा सहभागी हुनेछ । प्रशिक्षक मोन्टी देसाईको प्रशिक्षणमा नेपालले पछिल्ला १२ मध्ये ११ एकदिवसीय खेलमा जित निकालेको छ ।

नेपाल एसिसीले आयोजना गरेको पछिल्ला तीन खेलमा अपराजित छ । त्रिवि र मूलपानीको घरेलु मैदानमा नेपालले त्यसको फाइदा लिन सक्छ । नेपाल ब्याटिङ, बलिङ र फिल्डिङ सबै पक्षमा बलियो देखिन्छ । कप्तान रोहितकुमार पौडेल, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप लामिछाने, ललित राजवंशी उत्कृष्ट लयमा छन् ।

ओमान :  विश्वकप लिग–२ को उपविजेता ओमानको एकदिवसीय वरीयता १५औँ स्थानमा छ । ओमान पनि एसिसी प्रिमियरको दाबेदारमध्ये एक हो । ओमानले एसिसीका पछिल्ला पाँचमध्ये दुई खेलमा जित निकाल्दा तीन खेलमा हार बेहोरेको छ । नेपालविरुद्धको अभ्यास खेलमा ओमानका सोआबी खानले शतकीय इनिङ्स खेल्दै एक सय १० रन बनाएका थिए ।

ओमानका मुख्य चार ब्याट्सम्यानले विपक्षी बलरलाई हैरानीमा पार्न सक्छन् । यस टोलीमा तीनजना खेलाडी अलराउन्डर छन् । सन् २०१४ मा ओमानले आइसिसीको एसोसिएट राष्ट्रका रूपमा मान्यता प्राप्त गरेको थियो । सन् २०१९ मा ओमानले एकदिवसीय मान्यता पायो । सन् २०१९ को २७ अप्रिलमा ओमानले नामिबियाविरुद्ध पहिलो एकदिवसीय खेल खेल्यो । 

युएई :  एसिसी प्रिमियर कपको उपाधि दाबेदार संयुक्त अरब इमिरेट्स (युएई) पनि हो । युएई नेपालको बलियो प्रतिस्पर्धीसमेत हो । युएईले पहिलो खेलमा कुवेतविरुद्ध खेल्दै सुरुवात गर्नेछ । युएईको एकदिवसीय मान्यता १९औँ स्थानमा छ । युएई एसिसीको पछिल्लो पाँचमध्ये दुई खेलमा अपराजित छ । युएईले पछिल्लो खेलमा जर्सीलाई ६६ रनले पराजित गरेको थियो । मोहम्मद वासिम, भृत्या अरबिन्दा, रोहन मुस्तफा, आर्यन्स शर्मा, आयन अफजल खानजस्ता खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । गत वर्ष कीर्तिपुर मैदानमा युएईलाई हराउँदै नेपालले ग्लोबल छनोटमा स्थान 
बनाएको थियो ।

मलेसिया :  नेपालले पहिलो खेल मलेसियासँग खेल्दै सुरुवात गर्नेछ । मलेसिया आइसिसीको टी–२० वरीयतामा २७औँ स्थानमा छ । मलेसियाले आइसिसी सदस्यता सन् १९६७ मा पाएको हो । लगभग ६ दशक आइसिसीको मान्यता प्राप्त गरेको मलेसियाले एकदिवसीय मान्यता पाउन सकेको छैन । नेपालले पछिल्लो पाँचै भेटमा मलेसियालाई हराएको छ । पछिल्ला पाँचमध्ये चार खेलमा मलेसियाले हार बेहोरेको छ । मलेसियाले अहमाद फाइजको कप्तानीमा खेल्दै छ । मलेसियाले अहिलेसम्म ५३ अन्तर्राष्ट्रिय टी–२० खेलमा ३० जित निकालेको छ । 

साउदी अरेबिया :  साउदी अरेबिया आइसिसीको टी–२० वरीयताको ३३औँ स्थानमा छ । साउदी अरेबिया पनि एकदिवसीय मान्यता पाउन संघर्षरत छ । सहभागी टोलीमध्ये साउदी अरेबियालाई कमजोर टोलीका रूपमा हेरिएको छ । नेपालले साउदीविरुद्ध मूलपानी माथिल्लो मैदानमा खेल्नेछ । साउदी अरेबियाले सन् २०१६ बाट आइसिसी मान्यता पाएको थियो । साउदीले पछिल्ला पाँचमध्ये चार खेलमा जित निकालेको छ । साउदीका कप्तान सोआइब अली हुन् । साउदीका अधिकांश खेलाडी पाकिस्तानी मूलका छन् । 

कतार :  कतारले एसिसी कपमा सहभागिता मात्रै जनाउने पक्का छ । एकदिवसीय खेल तथा टी–२० प्रतियोगितामा कतारको प्रदर्शन त्यति राम्रो छैन । कतारले एसिसीको पछिल्ला पाँचमध्ये तीन खेलमा जित निकालेको छ । इटालीविरुद्ध पछिल्लो खेलमा तीन विकेटको जित निकालेको थियो । कतार आइसिसीको टी–२० वरीयताको २३औँ स्थानमा छ । कतारले सन् २०१७ बाट मात्रै आइसिसीको सदस्यता प्राप्त ग¥यो । कतारको टोलीमा अधिकांश पाकिस्तानी मूलकै छन् । कतारले पहिलो खेल मूलपानीमा ओमानविरुद्ध खेल्नेछ । 

हङकङ :  एसिसी प्रिमियर कपको उपाधि दाबेदार हङकङ पनि हो । आइसिसीको टी–२० वरीयतामा २१औँ स्थानमा रहेको हङकङले एकदिवसीय मान्यता पाएको छैन । हङकङको प्रदर्शन औसत रहँदै आएको छ । हङकङले पछिल्ला पाँचमध्ये तीन खेलमा जित निकालेको छ । अन्तिमपटक हङकङले कुवेतलाई पाँच रनले पराजित गरेको थियो । अन्सी रथ, बाबर हायत, जिसान अलीजस्ता खेलाडीले हङकङको भाग्य निर्धारण हुने गर्छ । हङकङले मूलपानीमा सिंगापुरको सामना गर्नेछ । 

सिंगापुर :  आइसिसी टी–२० वरीयताको ३०औँ स्थानमा रहेको सिंगापुरले प्रतियोगितामा बलिया राष्ट्रहरूलाई चुनौती दिन सक्छ । सिंगापुरले पहिलो खेल मूलपानीमा हङकङसँग खेल्नेछ । सिंगापुरले पछिल्लो पाँचमध्ये तीन खेलमा जित निकालेको छ । पछिल्लो खेलमा हङकङले अमेरिकालाई ५ विकेटले हराएको थियो । 

कुवेत : प्रतियोगितामा सहभागीमध्ये कुवेत समूह ‘बी’मा छ । आइसिसीको सदस्यता कुवेतले सन् २००५ मा पाएको थियो । कुवेतको आइसिसी टी–२० वरीयता २६औँ स्थानमा छ । कुवेतले पछिल्लो पाँच खेलमा दुई जित निकालेको छ । हङकङसँगको अन्तिम खेलमा कुवेत पाँच रनले पराजित भएको थियो । 

बहराइन :  एसिसी प्रिमियर कपमा बहराइन ठूलो प्रतिस्पर्धी होइन । प्रतियोगिताको अभ्यास खेलमा बहराइन कुवेतसँग एक विकेटले पराजित भएको थियो । बहराइनले पहिलो खेलमा सिंगापुरसँग खेल्दै सुरुवात गर्नेछ । बहराइनको आइसिसी टी–२० वरीयतामा २९औँ स्थानमा छ । बहराइनले पछिल्लो पाँचमध्ये तीन खेलमा जित निकालेको छ । 
 

सुझावित समाचार